Comments Add Comment

भारतीय आयात घटाउन गोरखामा जडिवुटी खेती

२० मंसिर, गोरखा । जिल्लालाई जडिबुटीमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गोरखामा अर्गानिक हर्बल फार्म संचालन गरिएको छ ।

गोरखा नगरपालिका-१४ गोर्बुङमा संचालित उक्त फार्ममा बिभिन्न जातका जडिवुटीहरु खेती गरिएको छ । करिब एक सय रोपनी जग्गा किनेर खेती सुरु गरिएको संचालक वनस्पति बिज्ञ डा. खेमराज भट्टराइले बताए ।

‘यहाँ हामीले करिब ८५ प्रजातिका जडिबुटी पहिचान गर्‍यौ,’ उनले भने, ‘अहिले ६० जातका जडिबुटीको वेर्ना ल्याएर रोपेका छौ ।’ व्यवसायिक रुपमा जडिवुटी खेती गर्ने योजनाका साथ काम सुरु गरिएको उनले बताए ।

अमला, अशोक, मोरिङ्गा, दालचिनी, तेजपत्ता, कोइराला, निम्स, कालमेग लगायतका जडिवुटी खेति गरिएको उनको भनाइ छ । ‘अमलाका लागी हावापानी ठिक छ, त्यसैले सबैभन्दा बढी ठूलो जातको अमला लगाएका छौ,’ उनले भने । करिब ४० रोपनी क्षेत्रफलमा अमला खेति गरिएको उनले बताए ।

फार्ममा गि्रन हाउस र सोलार डायर निर्माण गरिएको छ । जडिवुटी खेतिका लागि आवश्यक पानी ठूलो खोलाबाट लिफ्ट गरेर ल्याइएको छ ।
फार्ममा अहिले चार जना कामदार छन् । पुष महिना पछि दुर्इ जना कर्मचारी थप गरिने भट्टराइले बताए । फार्मबाट उत्पादित जडिवुटी जिल्लामा रहेको आयुर्वेदिक कम्पनीलाइ बिक्री गरिने उनले जानकारी दिए ।

०४० सालमा स्थापना भएको गोरखा आयुर्वेदिक कम्पनी प्रालि जिल्लाको एक मात्र आयुर्वेदिक कम्पनी हो । ‘यो कम्पनीलाइ आवश्यक पर्ने अधिकांश जडिवुटी भारतबाट आयात हुन्छ, ती जडिवुटी यही उत्पादन गरेर भारतीय आयात घटाउन फार्म संचालन गरेका हौ,’ उनले भने । उत्पादित जडिवुटी गोरखा सँगै अन्य जिल्लामा पनि निर्यात गर्ने योजना रहेको उनको भनाइ छ ।

एक सय रोपनी क्षेत्रफलमा फार्म संचालन गरेका उनले बैशाख सम्म ५०० रोपनी क्षेत्रफलमा जडिवुटी खेति गर्ने योजना बनाएका छन् । ‘पालुङटार नगरपालिकाको धुवाकोटमा पनि एक सय रोपनी जग्गा भाडामा लिइसकेको छौ, अव त्यहा पनि खेति शुरु गर्छाै,’ उनले भने ।

लेकमा सिमित जडिवुटी हुने तर गर्मी ठाउँमा बढी पाइने भएकाले खेतीका लागि उक्त ठाउँ छनौट गरिएको उनले बताए ।

आगामी दिनमा बिभिन्न ठाउँमा फार्म खोल्ने र व्यवसायिक जडिवुटी खेती गर्ने योजना रहेको उनको भनाइ छ ।

करिब चार करोडको लगानीमा २०७४ साल बैशाखबाट सुरु गरिएको उक्त फार्मबाट जडिबुटी बिक्री पनि हुन थालेको छ ।

फार्म पूर्णरुपमा संचालनमा आएपछि वार्षिक एक करोड आम्दानी हुने उनले अपेक्षा गरेका छन् । वन मन्त्रालयको सहसचिव पदबाट राजीनामा दिएर क्यानडा पुगेका भट्टराई स्वदेश र्फकेर जडिवुटी उत्पादनमा लागेका हुन् ।

फार्म संचालनका लागि उनलाई मणिध्वज जोशी, भगवतीकुमारी मैनाली उप्रेती र रामहरी सुवेदीले साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment