Comments Add Comment

विवादित जग्गामा उपमहानगरको हस्तक्षेपः नगरप्रहरी लगाएर भत्काइए डेढदर्जन टहरा

२० मंसिर, बुटवल । अदालतमा मुद्दा बिचाराधीन रहेकै बेला बुटवल उपमहानगरपालिकाका नगर प्रहरीको सहयोगमा बुटवल-१७ रानीगन्जका डेढ दर्जन घर टहरा भत्काएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १७ रानिगञ्जमा रहेको बिवादित जग्गामा बनेका घरहरुमा एक्कासी टेक्टर लगाएर बिहीबार दिउँसो घरहरु भत्काइएको हो । विना सूचना नगरपालिकाबाट गएको नगर प्रहरी र भूमाफियाहरुको टोलीले आफूहरुका घर भत्काई दिएको पीडितहरुले गुनासो गरेका छन् ।

अर्काको जग्गा किर्ते गरी भूमाफियाहरुले आफ्नो दाबी गरेको भन्दै जिल्ला अदालत रुपन्देहीमा किर्ते जालसाजि मुद्दा चलिरहेको छ । अदालतमा मुद्दा चलिरहेको जानकारी हुँदाहुँदै उपमहानगरले वडा समितिको सिफारिसमा प्रहरी लगाएर हस्तक्षेप गरी आफुहरुमाथि अत्याचार गरेको कृष्ण पौडेलको आरोप छ ।

साविक मोतिपूर १ हाल बुटवल उपमहानगरपालिका-१७ की नवमी थारुको बाबु घुराही थारुले मोहियानी हक बापत पाएको जग्गामा नवमी थारुसँग जग्गा भाडामा लिई घर बनाएर बसेकाहरुका १५ वटा घरहरु भत्काइदिएको पौडेलले जानकारी दिए ।

घर भत्काउन आएका केही व्यक्तिले घरेलु हतियार दाउ समेत लिएर आएका र काटिदिने धम्की दिएको चन्दा अर्यालले बताइन् । वस्तीमा माया पाण्डे, गोपाल पन्थी, कृष्णप्रसाद पौडेल, मनबहादुर रानाभाट,चेतनारायण अधिकारी, मानबहादुर बराई, कमलबहादुर गुरुङ्ग, करन घर्ती, चन्दा अर्याल, बिशाल पौडेल, सुर्य तिवारी, अर्जुन गिरी लगायतका घरहरु थिए ।

घर भत्काउन वडा नं १७ का वअध्यक्ष सन्तबहादुर राना, हरिलाल न्यौपाने, उनका छोरा दीपक न्यौपाने लगायतका व्यक्तिहरुको अप्रत्यक्ष संलग्नता रहेको स्थानीयको आरोप छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने मुद्दा लडिरहेको एउटा पक्षले नै घरहरु भत्काएको र घर भत्काउने कार्यमा नगर प्रहरीको संलग्नता नरहेको दाबी गरे । उनले एउटाको जग्गामा अर्काले घर बनाएर बसेकोले जग्गा खाली गर्न वडा समितिबाट सिफारिस भएको र त्यसलाई बुझेर आवश्यक कारबाही गर्न आफुले निर्देशन दिएकाले सुरक्षाका लागि नगर प्रहरी खटिएको बताए ।

२००४ सालदेखिका जोताहा किसान स्वर्गीय घुराही थारुले तत्कालिन स्थानीय जमिन्दार बिक्रम शाहबाट मोहियानी हक बापत प्राप्त गरेको ३ बिगाहा ८ कठ्ठा जग्गाको मोहियानी हकको प्रमाणपत्र उनकी छोरी नवमी थारुसंग अहिले पनि छ । तर, स्थानीय हरिलाल न्यौपाने, चिन्तामणी पाण्डे लगाएतका ब्यक्तिहरुले प्लटिङ्ग गरेर केही जग्गा विक्री गरेका र बाँकी रहेको जग्गा भाडामा दिएपछि घरहरु बनेका थिए । बाँकी जग्गा पनि विक्री भएको चाल पाएपछि नवमीले गत बैशाखमा अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
पिता घुराही थारुको हकभोग र स्वामित्वमा रहेको जग्गा लामो समयदेखि भोगचलन गर्दै आएकी नवमी दाजुभाइ नभएका कारण विवाहपश्चात पनि माइतीमै बस्दै आएकी छन् । आˆनो बाबुको जग्गा फिर्ता पाउँ भनी नवमीले जिल्ला अदालतमा स्थानीय पुष्पा मल्ल, ढुण्डीराज भण्डारी, पद्मादेवी शर्मा लगायतका विरुद्धमा रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको बताइन् ।
साविक मोतिपुर-१ को कि.नं ३६ र ३७ अन्तर्गतको उक्त जग्गाकोे कित्ता परिवर्तन गरी कित्ताकाट समेत गरेर बिक्री वितरण गरेकोविरुद्ध मुद्दा दायर गरेको थारुले बताइन् ।
आˆनो बाबुको जग्गामा बस्न अवरोध गरेको, रातारात घरगोठ जलाएर भगाउने कोशिस गरेको, मानसिक यातना दिने गरेको भन्दै उनले स्थानीय ढुण्डीराज भण्डारी, शशि श्रेष्ठ, र्फसुराम पाण्डे लगायतको नाममा पनि अर्को मुद्धा दायर गरेकी छन् । स्थानीय जग्गा कारोबारी हरिलाल न्यौपाने, लेखनाथ पाण्डे लगायतका मान्छेले आफूलाई धपाएर जग्गा हडप्न प्रयास गरेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment