Comments Add Comment

पाल्पाको बाकामलाङमा पहिलोपटक बस पुग्यो, खुसीयालीमा झाँकी प्रदर्शन

२१ मंसिर, पाल्पा । जिल्लाको पूर्वी क्षेत्रस्थित विकट निस्दी गाउँपालिका–१ बाकामलाङमा पहिलो पटक  पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

रामपुर यातायात व्यवसायी समितिमार्फत लु ५अ ५७९९ नंको बस पहिलो पटक गाउँमा पुगेको हो । गाउँमा बस पुगेपछि यहाँका बासिन्दाले बस चालक र यातायात व्यवसायी समितिका पदाधिकारीलाई स्वागत गर्नाका साथै स्थानीय आमा समूहले खुशीयालीमा झाँकीसमेत देखाएका थिए ।

गाउँमा पहिलो पटक बस भित्रिँदा निकै रमाइलो लागेको स्थानीयवासी तुकबहादुर सोतीले बताए । पाल्पाको रामपुर बजारदेखि साना जिप सञ्चालनमा आए पनि सडक समस्याका कारण ठूला गाडी गाउँमा पुग्न सकेका थिएनन् ।

अब नियमित रूपमा रामपुरदेखि लेखमलाङसम्म बस सेवा सञ्चालन गर्ने तयारी रहेको रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले बताए ।

निस्दी गाउँपालिकाले गत वर्ष रु ५५ लाख खर्च गरेर सहलकोट आनन्दीभन्ज्याङदेखि लेखमलाङ हुँदै डमराको भोटाहासम्म सडकको ट्र्याक खोले पनि वर्षाका कारण पहिरोले सडक अवरुद्ध बनेको थियो ।

अहिले स्थानीयवासीको सक्रियतामा सडक मर्मत गरेपछि बस गाउँमा पुर्याउन सफल भएको सडक उपभोक्ता समितिका अध्यक्ष मिनबहादुर पुलामीले बताए ।

स्थानीयवासीले गाउँमा रामपुरदेखि नियमित बस सेवा सञ्चालन गराउन रामपुर यातायात व्यवसायी समितिलाई आग्रह पनि गरेका थिए ।

साना जिपमा यात्रुको चाप बढी हुँदा जोखिमपूर्वक यात्रा गर्न बाध्य भएकामा नियमितरूपमा बस सेवा सञ्चालनमा भए गाउँमा उत्पादित कृषिजन्य सामग्री रामपुर बजारसम्म पुर्याउन सहज हुने र सजिलोसँग यात्रा गर्न पाइने स्थानीयवासीले आशा गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment