Comments Add Comment

६ छोरीका पिता एकनाथलाई ‘प्रधानमन्त्री’ बनाउने प्रार्थना

२१ मंसिर, काठमाडौं । के कुनै पावरमा नरहेको एक व्यक्तिले सिंगो राज्यसत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने क्षमता राख्छ ? राख्दोरहेछ । नेपालमा अहिले यस्तै भएको छ ।

राष्ट्रिय पार्टीको मान्यतासमेत नपाएको परिवार दलका अध्यक्ष तथा युनिभर्सल पिस फेडरेसन (युपीएफ) नामक एनजीओका नेपाल प्रमुख एकनाथ ढकालले विगतदेखि नै राज्यसत्तालाई परिचालन गरेर आफ्नो अभिष्ट पूरा गर्दै आएका छन् । ‘एसिया प्याफिक समिट’ का नाममा उनले हालै गरेको कार्यक्रम यसको पछिल्लो कडी हो ।

एसिया प्यासिफिक समिटको ‘अपार सफलता’ पछि अब एकनाथ ढकाललाई नेपालको प्रधानमन्त्री या राष्ट्रपति बनाउने प्रार्थना कोरिया र जापानमा युनिफिकेसन चर्चका अनुयायीहरुले सुरु गरेका छन् ।

नेपालमा आलोचना, ‘हेडक्वार्टर’मा हाईहाई

नेपालमा जति विवादित भए पनि यो कार्यक्रपछि यूपीएफको हेर्डक्वाटरमा एकनाथको हाईहाई भएको छ । उनले गत ३ डिसेम्बरमा भिक्ट्री डे (विजय दिवस) समेत मनाइसकेका छन् । सम्भवतः उनले ‘सच्चा माता’ बाट चाँडै गतिलो रिवार्ड (पुरस्कार) पाउनेछन् ।

४५ देशका प्रतिनिधिका अगाडि आफूलाई ‘जिससकी छोरी’ भन्दै स्वघोषणा गरेकी कोरियन माता हाक जा हान मुन एकनाथप्रति कृतज्ञ बनेर फर्केको स्रोतले बतायो । खासगरी नेपालका प्रधानमन्त्रीलाई कार्यक्रममा उभ्याउन सफल भएकोमा एकनाथले विशेष बधाइ पाएका छन् ।

‘यूनिफिकेसन मुभमेन्टमा तीव्र गतिले माथि उक्लिरहेका ढकाललाई यो सम्मेलनले ठूलो ‘माइलेज’ प्राप्त भएको छ,’ यूपीएफनिकट स्रोतले भन्यो ।

एकनाथले पनि आफू पूर्ण सफल भएको भन्दै अब अर्को योजनामा जुट्ने संस्थाका फलोअर्सहरुलाई बताइरहेका छन् । ‘मिडियाहरुले लेख्दैमा केही नाप्दैन, हामी हाम्रो मिसनमा अगाडि बढिरहेका छौं,’ उनको भनाइ उद्वृत गर्दै यूपीएफनिकट स्रोतले भन्यो ।

त्यसो त कोरियन माता र यूपीएफका विश्व नेताहरुले एकनाथलाई नेपालको भावी प्रधानमन्त्री वा राष्ट्रपतिका रुपमा हेर्न चाहेका छन् ।

‘कोरिया र जापानका केही अनुयायीहरुले एकनाथ नेपालको प्रधानमन्त्री बनुन् भन्ने कामनालाई आफ्नो दैनिक प्रार्थनामै समावेश गर्न थालेको खबर आएको छ,’ यूपीएफनिकट स्रोत भन्छ ।

एकनाथ स्वयम्ले पनि सच्चा मातासहित यूपीएफका नेताहरुसँग आफू प्रधानमन्त्री बन्ने बाटोमा अग्रसर रहेको आश्वासन दिइरहेका छन् । त्यसो त नेपालको शान्ति प्रक्रियामा आफ्नो महत्वपूर्ण हात रहेको भनेर एकनाथले दिने गफलाई पनि यूपीएफका लिडरहरुले पत्याउँदै आएका छन् ।

एकनाथ प्रधानमन्त्री बन्ने सपना यूपीएफका अनुयायीले ०६९ सालबाटै देख्न थालेका हुन् । त्यतिबेला नेपालमा चुनावी सरकार कसको नेतृत्वमा बन्ने भन्नेमा बहस भइरहेको बेला तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले चौथो विकल्पका रुपमा एकनाथको नाम लिएको चर्चा बाहिर आएको थियो । बाबुराम भट्टराई, महन्त ठाकुर र खिलराज रेग्मीपछि चौंथो नम्बरमा एकनाथको प्रस्ताव गरेको त्यतिबेला प्रकाशित केही समाचारमा अहिले पनि पढ्न सकिन्छ । तर, पछि रेग्मी मन्त्रिपरिषदका अध्यक्ष बनाइए ।

ढकाल अहिले यूपीएफका अन्तर्राष्ट्रिय नेताका रुपमा चिनिन्छन् । उनी यूपीएफको विश्व वरियतामा पाचौं नम्बरमा छन् । यूपीएफ अन्तरगतको इन्टरएसोसिएसन अफ पार्लियामेन्टरियन्स फर पिस (आईएपीपी) को एसिया प्रमुख हुन् उनी । साथै यूपीएफको नेपाल च्याप्टरको समग्र नेतृत्व पनि उनकै हातमा छ । उनले ‘नेसनल लिडर’ भने सन्तोष पौडेललाई बनाएका छन् ।

फोटोसँग ब्लेसिङ, फिलिपिन्समा ससुराली

गोर्खाको बुर्लाङमा सामान्य परिवारमा जन्मेका (जन्ममिति १९ असार २०३१) मा ढकाल सानैदेखि चतुर मात्र होइन, छट्टु थिए । ‘यसले कागको फुल चोर्न सक्छ’ भन्ने गर्थे उनलाई नजिकबाट चिन्नेहरु ।

उनका पिता इन्डियन आर्मी थिए । एकनाथले एसएलसी परीक्षा दिँदै गर्दा उनका पिताको मृत्यु भएको थियो । हालै एउटा अन्तरवार्तामा उनले आफ्ना पूर्खा दरबारको पुरेत भएको बताएका छन् । तर, उनको त्यो अपुष्ट गफ हो ।

एसएलसीपछि कलेज पढ्न एकनाथ पोखरा आए । उनले पोखराको पृथ्वीनारायण क्याम्पसबाट राजनीतिशास्त्रमा बीए उत्तीर्ण गरे ।

पृथ्वीनारायण क्याम्पसमा पढ्ने क्रममा नै उनी यूनिफिकेसन मुभमेन्टमा आवद्ध हुन पुगेका थिए । त्यतिबेला यूनिफिकेसन चर्चले नेपालमा कार्प (सिद्धान्त अनुसन्धान महाविद्यालय संघ) नामको संस्था खोलेर गतिविधि गरिरहेको थियो । सामाजिक संस्थाको खोल ओढेर विवादास्पद कोरियन धर्मगुरु सन म्योङ मूनको सिद्धान्त प्रचार गरिन्थ्यो । जोडीहरुलाई ब्लेसिङ दिने काम पनि हुन्थ्यो ।

चतुर र मिहिनेती स्वभावका एकनाथलाई यो संस्थामा राइज हुन समय लागेन । १९९७ मा कार्पमा आवद्ध भएका उनले २००५ मा यूपीएफ नेपाल स्थापना गरेर त्यसको हर्ताकर्ता बने । यद्यपि, संस्थाको पहिलो अध्यक्ष भने उनले काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई बनाएका थिए । पछि आफैं अध्यक्ष बने ।

संस्था ज्वाइन गरेलगत्तै १९९८ मा एकनाथले ब्लेसिङको लागि निवेदन दिए । त्यतिबेला उनी २३ वर्षका थिए । फिलिपिनो युवती ब्लेसी गाडनसँग उनको म्याचिङ भयो । नेपालमै आयोजित एक कार्यक्रममा उनले ब्लेसीको तस्वीरसँग ब्लेसिङ लिए ।

त्यसको अर्को वर्ष नै उनले एउटा ३ महिनाका लागि फिलिपिन्स जाने मौका पाए । त्यहीँ आफ्नी हुनेवाली पत्नीसँग उनको भेट भयो । ब्लेसीका परिवार क्याथोलिक क्रिस्चियन थिए । छोरीले आफूखुशी यूपीएफमा लागेर विवाहका लागि म्याचिङसमेत भइसकेको थाहा पाएपछि उनीहरु सुरुमा रुष्ट बनेका थिए । तर, एकनाथले ब्लेसीको परिवारलाई फकाए । परिवारकै आग्रहमा उनले एउटा चर्चमा क्याथोलिक संस्कारअनुसार बिहे गरे । त्यसपछि पत्नीलाई लिएर नेपाल फर्किए । नेपालमा फेरि उनीहरुले सँगै होली वाइन पिउँदै ब्लेसिङ लिए ।

छोराको प्रतिक्षामा ६ छोरी

छोराको प्रतिक्षामा एकनाथका बाबुआमाले लगातार ८ वटी छोरी जन्माएका थिए । नवौं सन्तानको रुपमा एकनाथ जन्मिँदा परिवारमा हर्षोल्लास छाएको थियो । उनीपछाडि थप एक छोरा जन्मिए ।

आफ्नो बाबुको सिको गर्दै एकनाथले पत्नी ब्लेसीलाई सन्तान उत्पादन गर्ने कारखाना नै बनाएका छन् । बिहेको दुई वर्षपछि ब्लेसीले बच्चा जन्माउने क्रम सुरु भयो । अहिलेसम्म उनीहरुका ६ वटी छोरी भइसकेका छन् ।

त्यसो त एकनाथले यूनिफिकेसन चर्चको सिद्धान्तअनुसार आफूले परिवार नियोजन नगरेको बताउने गरेका छन् ।

‘सन्तान प्रकृतिका देन हुन्, अप्राकृतिक तवरले यिनीहरुलाई रोक्नुहुँदैन,’ उनी भन्ने गर्छन् ।

फादर मुनले श्रीमान–श्रीमतीबीच यौन सम्वन्ध राख्दा परिवारनियोजनको साधन प्रयोग नगर्न आदेश दिएका थिए । तर, यो नीतिलाई संस्थामा कसैले अनुशरण गरेको पाइँदैन । नेपालमा पनि एकनाथ बाहेक अरुले यसरी बग्रेल्ती बच्चा जन्माएका छैनन् । उनले आफ्नो बचाउका लागि मात्रै ‘सिद्धान्त’ को खोल ओढेको देखिन्छ । खासमा उनले आफ्ना बाबुआमाले जस्तै छोराको आशमा लगातार सन्तान जन्माइरहेको निकटवर्तीहरु बताउँछन् ।

छैटौंपटक छोरी जन्मिँदा अस्पतालमा पुगेकी यूपीएफकी एक सदस्यले नाम नखोल्ने शर्तमा अनलाइनखबरलाई सुनाइन्, ‘डाक्टरले छोरी भइन् भन्नासाथ उहाँ दुवै हात टाउकोमा राखेर ‘उफ’ भन्दै थचक्क भूँईंमा बस्नुभएको थियो ।’

एकनाथले सिद्धान्तका कारण ७ सन्तान पाएका होइनन् भन्ने पुष्टि यसबाट पनि हुन्छ कि कान्छी छोरी जन्मिएपछि उनीहरु रोकिएका छन् ।

एकनाथले छोरीहरुको नाम बडो समावेशी किसिमले राखेका छन् । आफू नेपाली, श्रीमती फिलिपिनो र गुरु कोरियन भएकाले तीनथरी नाम राखेको उनको भनाइ छ । जेठी छोरीको नाम इस्थर इन ढकाल हो भने माइलीको काही गाडन ढकाल, साइलीको सिम हा ढकाल, काइलीको एकता ढकाल, कान्छीको ऐश्वर्य ढकाल नामाकरण गरिएको छ । अन्तरी छोरीको नाम थाहा हुन सकेन ।

माधव नेपालको साथ लिएर शक्ति आर्जन

०६४ सालसम्म एकनाथलाई नेपालमा कमैले चिन्थे । संविधानसभाको पहिलो चुनावअगाडि परिवार दल गठन गरेपछि उनी चर्चामा आएका हुन् । जब कि उनको ठूला नेताहरुसित पहुँच भने पहिल्यैदेखि थियो ।

उनको सबैभन्दा राम्रो सम्वन्ध रहेका नेता निसन्देह माधवकुमार नेपाल हुन् । यस्तै कांग्रेस नेतृ चित्रलेखा यादव पनि यो संस्थामा पहिल्यैदेखि जोडिएकी छिन् । कांग्रेस नेता विश्वप्रकाश शर्मासँग भने अहिले उनको सम्वन्ध बिग्रेको छ ।

एकनाथ विभिन्न बहानामा नेताहरुलाई विदेश घुमाउने र पिस एम्बेसडर अवार्ड दिने गर्छन् । कोरिया लगेका नेताहरुलाई मुनको आलीसान दरबार पुर्‍याउँछन् । संस्थाको सम्पूर्ण तडक–भडक देखेपछि नेताहरु पनि एकनाथको पछि लाग्छन् ।

पीस एम्बेसडर अवार्ड लिनेमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्व उपराष्ट्रपति परमानन्द झा र हालकी राष्ट्रपति विद्यादेवी भण्डारीसमेत छन् । झालाई त उपराष्ट्रपति पदमा रहँदै एकनाथले प्रयोग गरेका थिए । उनलाई एकपटक संस्थाको कार्यक्रममा कोरिया नै लगे ।साथै आफू मन्त्री भएका बखत याक एन्ड यति होटलमा ‘गरीबी निवारणसम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ को उद्घाटन उपराष्ट्रपति झाबाट गराउन सफल भए ।

सो कार्यक्रम पनि यूपीएफको आयोजनामा भएको थियो जसमा उपराष्ट्रपतिको बाहुलीबाट फादर मुनको जीवनी विमोचन गरिएको थियो । सो कार्यक्रममा हिन्दूवादी नेता कमल थापा पनि अतिथिको रुपमा उपस्थित थिए ।

एकनाथले नेपालका एक हजारभन्दा बढीलाई पीस एम्बेसडर अवार्ड बाँडिसकेका छन् । यसैगरी पूर्वप्रधानमन्त्रीद्वय कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुरेशराज शर्मालाई गुड गभर्नेन्स अवार्ड दिलाएका थिए । कोइरालाले छोरी सुजाता कोइरालाको दबावमा यो अवार्ड लिएका थिए ।

कसरी पड्काए मन्त्री ?

०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा एकनाथको पार्टीले २३ हजार ५ सय १२ भोट ल्याएर एक सिट जितेको थियो । यसका लागि ढकालले करिब ५ करोड रुपैयाँ खर्च गरेको त्यतिबेला उनी निकट रहेकाहरु बताउँछन् ।

सुरुमा बढी भोट आउने जिल्लाको लिडरलाई संविधानसभामा पठाउने भनेर पार्टीको वैठकमा माइन्युटिङ गरिएको थियो । तर, एक सिट जितेपछि एकनाथ आफैं सभासद भएर गए । त्यही कार्यकालमा उनले मन्त्री पड्काए ।

पैसा र पहुँचका भरमा एकसिटे सभासदले मन्त्री पाएको भनेर त्यतिबेला मिडियामा चर्चा भएको थियो । उनलाई मन्त्री बनाउन माधव नेपालले निकै दौडधुप गरेको स्रोतहरु बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पहिलोपटक गठन भएको सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी उनलाई दिएका थिए ।

दोस्रोपटकको संविधानसभा चुनावमा उनको पार्टीले दुई सिट जित्यो । उनले आफूसँगै मिलन राजवंशी नामकी युवतीलाई संविधानसभामा पुर्‍याए । ०७२ सालमा एकनाथ दोस्रोपटक मन्त्री भए, जतिबेला प्रधानमन्त्री थिए केपी शर्मा ओली । ओलीको क्याबिनेटमा एकनाथलाई शान्ति तथा पुननिर्माण मन्त्रालयको जिम्मेवारी दिइयो ।

नेताहरुसँगै उच्च सरकारी अधिकारी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुसँग पनि उनी निकट छन् । विभिन्न संसदीय समितिहरुमा रहँदा पत्रकारका प्रमुख सूचना स्रोत ढकाल नै हुन्थे । नेपालमा मात्र नभएर अन्य देशका केही चर्चित नेताहरुसँग पनि उनको हिमचिम छ ।

हिन्दू संस्कारअनुसार किरिया यूपीएफको धार्मिक आस्थालाई ‘यूनिफिकेसनिज्म’ नाम दिने गरिएको छ । क्रिश्चियन धर्मलाई अप्रभंस गरेर नै मुनले यो सिद्दान्त आविष्कार गरेका हुन् । तर, यसभित्र हुने सबै गतिविधि क्रिस्चियानिटीसँग मेल खान्छन् ।

नेपालमा यूपीएफलाई एकनाथले धार्मिक नभएर सामाजिक संस्थाको खोल ओढाइदिएका छन् । उल्लेखनीय के छ भने उनले यस संस्थामा लाग्नेहरुलाई हिन्दू धर्म त्याग्नुपर्ने अनिवार्यता गरेका छैनन् । उनी स्वयम् पनि हिन्दू धर्मसँग सम्वन्धित चाडपर्वहरु मनाउँछन् । दशैंमा टीका लगाउँछन्, जनै पूर्णिमामा जनै भिर्छन् ।

दुई वर्ष अगाडि आमा टंककुमारीको मृत्यू हुँदा उनले हिन्दू विधानअनुसार १३ दिने किरिया गरेका थिए । किरियापुत्री बस्दाखेरि नै उनले परिवार दलको बैठक बसालेर अर्को चर्चा बटुलेका थिए । उनी आमाबुवाको वार्षिक श्राद्ध भने गर्दैनन् ।

यसरी हेर्दा आफूले अपनाएको धर्ममा एकनाथको कट्टरता नभएको महसुस गर्न सकिन्छ ।

‘उनले आस्थाका कारण नभएर पैसा र पावरका लागि यो संस्था चलाएका हुन्,’ स्रोतको दाबी छ । नेपालमा यो संस्थामा लाग्नेहरुले क्रिस्चियानिटी त अपनाउँछन्, तर हिन्दू धर्म पनि छाड्दैनन् । उनीहरु समानान्तररुपमा दुई धर्म पालना गरिरहेका छन् । सदस्यहरुलाई हिन्दू संस्कारबाट बिहे गर्न पनि एकनाथले रोकटोक लगाएका छैनन् । तर, उनीहरुले ब्लेसिङ भने अनिवार्य लिनुपर्छ । संस्थाका कतिपयले गाईको मासु खान्छन् भने कतिले खाँदैनन् । यसमा पनि कुनै कडाई छैन ।

‘होली वाइन’ पटक–पटक पिए पनि एकनाथले अन्य रक्सी पिउँदैनन् । रक्सी–चुरोट पिउन संस्थामा अरुलाई पनि कडाइ छ । कपालमा जेल लगाएर टिपटप भएर हिँड्ने एकनाथको लाइफस्टाइल रवाफिलो र विलासी छ । उनी महिनैपिच्छे विदेश भ्रमणमा हिँडिरहेका हुन्छन् । महंगो गाडी चढ्छन् ।

आर्थिक स्थिति अपारदर्शी

यूपीएफमा लागेर एकनाथले आफ्नो आर्थिक स्थिति कति उकासे त ? यसको यथार्थ पत्ता लगाउन भने कठिन छ ।

उनको चितवन र काठमाडौंमा घर छ । काठमाडौंको महाराजगञ्जमा करिब पाँचआना क्षेत्रफलमा रहेको ३ तल्ले घर उनले २ करोडमा किनेका थिए । चितवनको घर दुई तल्ले छ । त्यहाँ अहिले उनका भाइका परिवारजन बस्छन् । कहिलेकाहीँ आफू पनि गएर बस्छन् ।

सन् २०१६ मा मन्त्री हुँदा पेश गरेको सम्पत्ति विवरणमा एकनाथले विभिन्न कम्पनीमा आफ्नो ८० लाख लगानी रहेको उल्लेख गरेका थिए । पाँच हजार डलर नगद र ५ लाख ४० हजार रुपैयाँ बैंक खातामा रहेको देखाएका थिए । काठमाडौं, गोर्खा र चितवनमा तीन रोपनी जग्गा दुई किलो चाँदी र एघार किलो सुन रहेको उनको सम्पत्ति विवरणमा थियो ।

तर, उनको सम्पत्ति यति मात्र होला भनी पत्याउन गाह्रो पर्छ । एउटा चर्चित राष्ट्रिय दैनिक पत्रिकामा उनको सेयर रहेको अपुष्टरुपमा सुनिएको छ ।

एकनाथले अहिलेसम्म आफ्नो संस्थाको सम्पत्ति हिनामिना गरेको वा कुनै अनियमितता गरेको आरोपमा मुछिएका छैनन् । खासमा उनी हरेक काम आफू जोगिएर गर्छन् । यूपीएफको हेडक्वार्टरबाट आउने डोनेसन प्राय बैंकिङ प्रणालीबाट नआएर नगद नै आउने स्रोतको भनाइ छ ।

‘उहाँ आफैं हेडक्वार्टर गएर क्यास लिएर आउनुहुन्थ्यो,’ संस्थामा पहिले संलग्न रहेका र केही समयअघि बाहिरिएका एक लिडरले भने । साथै नेपालमा विभिन्न सम्मेलनहरु सफलतापूर्वक आयोजना गर्दा उनले नगद पुरस्कार पाउने गरेका छन् । तर, कति पाउँछन् भन्ने कुरा उनलाई मात्रै थाहा हुन्छ ।

यूपीएफको नक्सालमा चार तल्ले भवन रहेको छ । करिब डेढ रोपनी क्षेत्रफलमा फैलिएको यो कार्यालय भवन सन् २००३ तिरै स्थापना गरिएको हो । त्यतिबेला दुई करोडमा यो भवन किनिएको थियो । स्रोतका अनुसार यो भवन सन मुन कन्स्ट्रक्सन कम्पनीको नाममा छ ।

यो कम्पनीमा एकनाथ ढकाल, नारायण गजुरेल, किशोरराज राजभण्डारी, ब्रिटिश नागरिक जोन निकोल्स, र कोरियन नागरिक चङ सियोङको सेयर रहेको छ । यद्यपि, उनीहरुले कसैले पनि पैसा हालेका भने होइनन् ।

यूनिफिकेसन चर्चले दिएको पैसाले कन्स्ट्रक्सन कम्पनीको नाममा भवन किनिएको हो । यो कम्पनी ०५९ सालको वैशाख ३० गते कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएको थियो ।

संस्थाभित्र तानाशाही नेतृत्व

यूपीएफ नेपाल च्याप्टरमा एकनाथको तानाशाही नेतृत्व छ । उनको दबदबा सहन नसकेर धेरै उच्च तहका लिडरले संस्था छाडिसकेका छन् ।

यहाँभित्र आर्मीमा भन्दा कडा चेन अफ कमान्डको अभ्यास हुन्छ । प्रत्येक तहका कार्यकर्ताले आफूभन्दा माथिल्लो स्तरका लिडरको सतप्रतिशत आज्ञा पालन गर्नुपर्छ । एकनाथको कुरा काट्ने हिम्मत कसैले गर्दैनन् । सबै उनीसँग थुरथुर हुन्छन् । ‘कसैले उहाँसँग ठूलो स्वरले कुरा गर्न सक्दैन,’ स्रोत भन्छ ।

आफ्ना आसपासकालाई एकनाथले विभिन्न अवसर दिन्छन् । विभिन्न कार्यक्रममा विदेश पठाउँछन् । मन नपरेकालाई पेल्छन् । उनले भलाद्मी छविका सन्तोष पौडेललाई सेकेन्ड म्यानका रुपमा नेसनल लिडर बनाएका छन् । पौडेलले एकनाथको कुनै कुरा काट्दैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment