Comments Add Comment

दिपावलीमा जलेकी चन्द्रकलाको उपचारमा खर्च अभाव

२१ मंसिर, काठमाडौं । दीपावलीको झिलिमिली थियो । देउसी भैली खेल्नेहरुले गाउँमा रौनक थपेका थिए । साथीसंगीहरुसँग देउसीमा रमाइरहेकी थिइन् झापाकी चन्द्रकला तिवारी पनि । तर, नसोचेको घटना भयो ।

साथीको घरमा देउसी खेल्न गएको बेला ढोकामा बालेको दियो उनको सारीमा सल्कियो । २२ वर्षीया चन्द्रकलालाई आगोले क्षणभरमै लपेट्यो । देउसीको रमाइलो एक्कासी रुवावासीमा बदलियो । उनलाई हतार-हतार अस्पताल पुर्‍याइयो ।

चन्द्रकला बाँच्न त बाँचिन् तर आर्थिक अभावका कारण उनको घाउको अझै राम्रो उपचार हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रकी बासिन्दा हुन् उनी ।

प्रधानमन्त्री ओलीको सचिवालय सदस्यसम्म कुरा पुर्‍याए गाउँलेले । सकारात्मक आश्वासन पाएका छन् । तर, औषधि उपचार गर्न आश्वासन नभइ नगद चाहिन्छ, जसको अभावले समस्यामा रुमल्लिइरहेको छ चन्द्रकलाको परिवार ।

चन्द्रकलाको ढाडदेखि कुर्कुच्चासम्म जलेको छ । आगोमा जल्दाबित्तिकै सुरुमा घर नजिकैको लाइफलाइन अस्पताल लगियो । त्यहाँ प्राथमिक उपचारपछि लाइफलाइनले बिर्तामोडस्थित बीएन्डसीमा अस्पताल रिफर गर्‍यो । त्यहाँ तीन दिन राखेर उपचार गरियो ।

तर निजी अस्पतालमा उपचार महंगो हुने भएपछि उनीहरु सरकारी अस्पताल खोज्न थाले । आफन्तहरुले काठमाडौंको कीर्तिपुर अस्पतालमा लैजान सुझाव दिए । आफ्नो साढे दुई वर्षको छोरोलाई घरमै छाडेर भूपेन्द्र श्रीमतीलाई लिएर कीर्तिपुर आए ।

कीर्तिपुर अस्पतालको प्लास्टिक सर्जरी वार्डको १३ नम्बर बेडमा छिन् चन्द्रकला । उपचारमा संलग्न डाक्टरहरुका अनुसार उनको शरिरको २५ प्रतिशत भाग जलेको छ । चन्द्रकलाको स्वास्थ्य सुधारको ग्राफभन्दा उपचार खर्चको ग्राफ बढी हुँदा भूपेन्द्र चिन्तित छन् । ‘सुरुदेखि अहिलेसम्म चार-पाँच लाख खर्च भइसक्यो । अझै त्यति नै खर्च होलाजस्तो छ,’ चिन्तित हुँदै भूपेन्द्रले भने, ‘अस्ति एउटा अपरेशन गर्दा औषधिको मात्रै ५० हजार रुपैयाँ लाग्यो ।’

चन्द्रकलालाई नाकबाट पाइप घुसाएर झोलिलो खानेकुरा मात्र खान दिइएको छ । तर, पोषणयुक्त खाना नपुग्दा स्वास्थ्यमा छिटो सुधार भइरहेको छैन । शरिर सुन्निएको छ । घाउको इन्फेक्सन रोकिएको छैन । शरिरको एकातिरको छाला निकालेर जलेको भागमा प्रत्यारोपण गर्न खोज्दा पनि सफल हुन सकिरहेका छैनन् चिकित्सक । तर, चिकित्सकहरुले अथक प्रयास जारी राखेका छन् ।

‘दैनिक १२-१५ हजारले पनि नपुग्ने स्थिति छ । आफूसँग भएको पैसा सकियो, आफन्तहरुले पनि सक्ने सहयोग गरिसके अब उपाय छैन,’ उपचारमा सहयोग गर्दै आएका आफन्त धनपति तिवारीले भने, ‘डाक्टरले डाइट पुगेन भन्छन् । औषधि किन्ने पैसा छैन, माछामासु कसरी खुवाउनु ?’

झन्डै डिस्चार्ज

खर्च बढ्दै गएपछि श्रीमतीको थप उपचार गर्न नसक्ने निष्कर्षमा पुगे भूपेन्द्र । यो खबर अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङसम्म पुग्यो ।

‘यस्तो अवस्थाबारे मैले ढिला मात्र थाहा पाएँ । अस्पताल पुग्दा त डिस्चार्जको अन्तिम तयारी भइसकेको रहेछ,’ रञ्जितले भने, ‘उहाँहरु अब उपचार गर्न सकिँदैन भन्नेमा पुगिसक्नु भएको रहेछ, तर मैले उहाँहरुलाई रोकें र सहयोगको पहल गरिरहेको छु । सहयोग जुट्ने आशा छ ।’

डिस्चार्ज रोकेर डाक्टरहरुले चन्द्रकलाको उपचार जारी राखेका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष तामाङ, काका धनपति तिवारीलगायतले प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीसमक्ष कुरा पुर्‍याए । भण्डारीले पनि सहयोगको सकारात्मक जवाफ दिएका छन् । भूपेन्द्रकी आफन्त भिमा घिमिरेले भनिन्, ‘ईन्द्र सरले निवेदन दिनुस्, सहयोग गर्छु भन्नु भएको छ ।’

रञ्जितका अनुसार अहिले सहयोगीहरुबाट रकम संकलन गर्दै चन्द्रकलाको उपचार जारी राखिएको छ । रकम संकलनको लागि चन्द्रकलाको श्रीमान् भूपेन्द्र प्रसाद तिवारीको नाममा कीर्तिपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ । भूपेन्द्रको खाता नम्बर ११७००२९०५५१० हो ।

सहयोगी हात जुट्नेमा आशावादी त देखिन्छन् भूपेन्द्र, तर जीवनसंगीनीको अवस्था देख्दा भने मन कुँडिन्छ । पाँच वर्ष अगाडि चन्द्रकला र भूपेन्द्रको फेसबुकमा चिनजान भएर मायाप्रेम बसेको थियो । त्यही मायाप्रेमलाई बिहेमा बदलेका थिए उनीहरुले । सानै उमेरमा बिहे भएपछि पारिवारिक जिम्मेवारीले थिच्दै गयो । घरको आर्थिक अवस्था राम्रो नभएकाले झापाको गुहावारी छाडेर विदेश हानिए भूपेन्द्र ।

विदेशमा कमाएको रकम अहिले श्रीमतीको उपचार गर्दागर्दै सकियो । सापटी लिएर पनि कति दिनसम्म चल्थ्यो र । चन्द्रकलाको माइती पक्षको आर्थिक अवस्था पनि कमजोर छ । चन्द्रकलाकी आमा तुलसा प्यारालाइसिसले ओछ्यान परेको एक दशकभन्दा बढी भइसकेको छ ।

पारिवारिक अवस्था कमजोर भएको जानकारी पाएपछि कीर्तिपुर अस्पतालले सामाजिक सेवा युनिटमार्फत चन्द्रकलाको औषधि उपचारमा सहुलियत दिँदै आएको छ । काका धनपतिले भने, ‘१५-२० प्रतिशत छुट त पाइन्छ, तर उपचार नै महंगो हुने भएपछि थेग्न गाह्रो भइरहेको छ । त्यही भएर आज सहयोग माग्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिन जाँदैछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment