Comments Add Comment

आईएसआईको सुपारी लिएर दुई भारतीयको हत्या !

२१ मंसिर, काठमाडौं । पाकिस्तानी खुफिया एजेन्सी आईएसआईसँग जोडिएको एउटा हत्याकाण्डका अभियुक्त झण्डै दुई वर्षपछि पक्राउ परेका छन् ।

बाराको करैया–८ स्थित सहजनाथ सामुदायिक वनमा मारिएका भारतीय नागरिक २७ वर्षीय अरुण राम र १९ वर्षीय दिपक रामको हत्यामा संलग्न भएको अभियोगमा बाराका लड्डुु भनिने राजकिशोर गिरी पक्राउ परेका हुन् । उनलाई बाराको महानगढीमाई–१, सिमरा तलगछिया टोलबाट पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईले पुष्टि गरे ।

दुई वर्षअघि आईएसआईको योजनामा नेपालसँग सीमा जोडिएको भारतको रक्सौल नजिक घोडासहन रेल्वे स्टेशन र आदापुर नकरदेही रेल्वे स्टेशनमा बम विष्फोटको गराउने प्रयास भएको थियो । तर, बम विस्फोट हुनु अघि नै प्रहरीले सूचना पायो र डिस्पोज गर्‍यो ।

‘दिएको काम पूरा नगरेपछि त्यसमा संलग्न अरुण र दिपकलाई हत्या गर्ने योजना बनाएको देखिन्छ’, घटनाको अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘त्यसका लागि अर्को समूहलाई सुपारी दिएर नेपाली भूमिमा हत्या गराइएको खुलेको छ ।’

भारतीय नागरिकद्वयको छुराले घाँटी रेटेर १० पुस ०७३ हत्या गरिएको थियो । घटनाको भिडियो रेकर्ड गरेर आईएसआई एजेन्टलाई पठाएको अनुसन्धानमा खुलेको छ ।

घटनामा संलग्न मोजाहिर अन्सारी, गिरी बाबा भनिने बृजकिशोर गिरी, आशिष सिंह, उमेश कुमार कुर्मी सुमभत, धिरज पाल, समसुल होदा यसअघि पक्राउ परिसकेका छन् ।

घटनामा संलग्न एक जना अझै फरार रहेको बाराका एसपी भट्टराई बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘घटनामा संलग्न राजकिशोर गिरीलाई समातेका छौं । थप एक जना अझै फरार छन् । उनको पनि खोजी जारी छ ।’

उनका अनुसार घटनामा संलग्न उमेशकुमार कुर्मी यसअघि नै १० हजार धरौटीमा छुटिसकेका छन् । उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाइएको थियो ।

यस्तो थियो घटना

नेपालमा रहँदा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न समसुल होदाको वैदेशिक रोजगारीका क्रममा दूबई गएका थिए । त्यहाँ उनको अन्तर्राष्ट्रिय आतंकवादी समूहका सदस्य पाकिस्तानी नागरिक सफीसँग चिनजान हुन्छ । जसरी भए पनि बलियो आर्थिक स्थिति बनाउने आकांक्षा बोकेका होदा सजिलै सफीको योजनामा फस्छन् ।

सफीको सहयोगमा आईएसआईका लागि उनले पनि काम गर्न थाल्छन् । त्यसक्रममा भारतको नक्सौल नजिक घोडासहन रेल्वे स्टेशन र आदापुर नकरदेहीस्थित रेल्वे स्टेशनमा शक्तिशाली बम बिष्फोट गराउने योजना बनेको पाइएको छ । त्यसवापत राम्रो रकम उनलाई उपलब्ध गराउने आश्वसन दिइन्छ, केही रकम पेश्की दिइन्छ । त्यसका लागि नेपालमा रहेका गिरी बाबा भनेर पनि चिनिने वृजकिशोर गिरीलाई होदाले प्रयोग गर्छन् ।

मोटरसाइकलमा हात बाधेर छुराले घाँट रेटेर हत्या गएको प्रहरीले हात पारेको भिडियो फुटेजमा देखिन्छ, जुन भिडियो एजेन्टलाई पठाइएको थियो

गिरीले भारतीय नागरिक राजु भनिने उमाशंकार पटेलको सहयोग माग्छन् । पटेलले घटनालाई पूर्ण रुप लिन भारतीय नागरिक अरुण राम र दिपक रामलाई प्रयोग गर्छन् । उनीहरुलाई विभिन्न मितिमा गरी ८ लाख रुपैयाँ दिइन्छ ।

यद्यपि, ‘कन्ट्रयाक’ को पूरा रकम भने त्यति मात्र होइन । उनीहरुले विष्फोटको योजनालाई पूर्ण रुप लिन बम समेत राख्छन् । तर, एक ठाउँमा राखेको बम प्रहरीले डिस्पोज गर्छ भने अर्को स्थानको बम विष्फोट भए पनि कुनै क्षति हुँदैन ।

‘उनीहरुलाई दिइएको कन्ट्रयाक्ट अनुसार काम पुरा नभएपछि फेरि बम राख्न आग्रह गरिएको थियो’, अनुसन्धान अधिकारी भन्छन्, ‘तर, उनीहरुले काम गर्न रुची देखाएनन् ।’

त्यसपछि घटनालाई पूर्ण रुप दिन अर्कै व्यक्तिलाई प्रयोग गर्ने निर्णय हुन्छ । होदाले आफ्नै साला लड्डु भनिने राजकिशोर गिरी र उनीमार्फत चिनजान भएका बारा कलैया–१० का मोजाहिर अन्सारीसँग कुरा गर्छन् । यदि त्यो काम सफल बनाउन सके २ देखि ३ करोड रुपैयाँ हात पर्ने आश्वस होदाले दिएका थिए ।

योजना अनुरुप यो समूहमा धिरजकुमार पाल, आशिष सिंह लगायत पनि जोडिन्छन् । उनीहरुले विष्फोट गराउनका लागि चाहिने सामग्री लिन रक्सौलमा रहेका राजु भनिने व्यक्तिलाई भेट्छन् । तर, उनले अग्रिम लिएको रकम समेत खर्च भइसकेको बताउँदै तत्काल बम पनि नभएको बताउँछन् । पैसा पनि फिर्ता नदिने भन्दै उल्टै धम्क्याएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यो कुरा यूएईमा रहेका होदालाई पनि जानकारी गराइन्छ । त्यसपछि उनले पुनः पैसा पठाइदिन्छन् । तर, काम गर्ने दुई व्यक्तिको घाँटी रेटेर हत्या गर्न लगाउँछन् । त्यसबारे पत्रपत्रिकामा छापिएका समाचार पनि पठाउन उनले लगाउँछन् ।

त्यसअघि सुरुमा विष्फोट गराउने जिम्मा लिएका अरुण र दिपकलाई पैसा दिने बहानामा उनीहरुले बोलाउँछन् । १० पुस ०७३ मा उनीहरु बीआर ०५ क्यू ४७७९ नम्बरको मोटरसाइकलमा नेपाल–भारतको सीमा क्षेत्रमा आइपुग्छन् ।

उनीहरुलाई मदिरा खुवाएर लठ्ठ पारिन्छ । साँझ ६ बजेतिर मोटरसाइकलमा सहजनाथ सामुदायिक वनभित्र लगेर लड्डु भनिने व्यक्तिले अरुण रामलाई एकातिर लान्छन् भने धिरज र गिरीबाबाले दिपकलाई भुइँमा लडाउँछन् । मोटरसाइकलमा हात बाधेर छुराले घाँटी रेटेर हत्या गएको प्रहरीले हात पारेको भिडियो फुटेजमा देखिन्छ, जुन भिडियो एजेन्टलाई पठाइएको थियो ।

घटनापछि राजकिशोरले श्रीमतीको स्यामसुङ ट्वाबबाट यूएईमा रहेका होदालाई त्यो दृश्य र भिडियो पठाएका थिए तर, घटना भएको केही दिनमा नै प्रहरी पाँच जनालाई पक्राउ गर्न सफल भएको थियो । दुई वर्षपछि अर्का एक पक्राउ परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment