Comments Add Comment

८५ वर्षीया बिष्नाको कथनः महिलाहरु पृथ्वी हुन

२१ मंसिर, डोटी । दिपायल सिलगढी नगरपालिका-१ सिरखोली सैनकी बिष्नादेवी साउँद उमेरले ८५ वर्षकी भइन् । तर, उनी अहिले पनि सामाजिक क्रियाकलापमा सक्रिय छिन् ।

महिलाहरुलाई सफा सुग्घर हुने गर्ने, घर आँगन सफा राख्नु पर्ने, बारीमा तरकारी लगाउनु पर्ने चेतनामुलक सन्देशहरु उनी घरघरमा गएर दिन्छिन् । ‘छोराछोरीलाई विद्यालय पठाउ, समाजमा झै-झगडा नगर, एकले अर्कोलाई सहयोग गर भन्छु, तिनिहरु मान्दैनन्  बिष्ना भन्छिन्, ‘पहिले भन्दा त अहिले धेरै सुधार भएको छ तर पनि अझैं धेरै सुधार गर्न बाँकी छ ।’

सामाजिक परिवर्तनका लागि सक्रिय बिष्ना महिलामाथि हुने हिंसाका थोरै घटना मात्रै बाहिर आउने गरेको बताउँछिन् । महिलाहरुमा भएको सहनशीलताका कारण नै अधिकांश घटनाहरु घरभित्रै रहने उनको भनाइ छ । ‘महिलाहरु कमजोर भएर वा थाह नभएर घटनाको उजुरी नगर्ने होईनन्, अहिलेका महिलाहरुले धेरै कुरा बुझेका छन् र उजुरी गर्ने हिम्मत पनि राख्छन्,’ बिष्ना भन्छिन्, ‘तर महिलाहरु सहनशील छन् र उनीहरुलाई परिवार र समाजप्रतिको माया छ, त्यसैले बरु सहन्छन्, प्रतिवाद गर्दैनन् ।’

पृथ्वीमा हलो चलाइन्छ, ठूलठूला संरचनाहरु बनाइन्छ, सुरुङ्ग बनाइन्छ तर पनि पृथ्वीले हामी सबैलाई बाँच्ने आधार दिन्छ । महिलाहरु पनि त्यस्तै हुन, महिलाहरुमाथि जति हिंसा गरेपनि उनीहरुसंग सहनशीलता छ, माया छ, त्यसैले हत्तै प्रतिवाद गर्दिनन्

९ वर्ष अघि श्रीमान् दलुवा साउँदको निधन भएपछि एक्लै बनेकी बिष्नाले ५९ वर्षसम्म दाम्पात्य जीवन बिताइन । ‘झगडा त हामी दुईबीच पनि धेरै पटक भयो तर उनले मलाई कहिल्लै कुट्न् भएन, एकपटक भनाभन हुन्थ्यो फेरि एकछिनमै मिलचाल हुन्थ्यो,’ १७ वर्षको उमेरमा एक अपरिचित पुरुषसंग बिवाह गरेकी बिष्ना महिलामाथि घरेलु हिंसा हुनुमा महिलाहरु स्वयंको पनि दोष देख्छन्,’ उनी थप्छन् , ‘एउटै अगेनोमा लाएका दाउरा त ठोसठास भइहाल्छ नि !’ केही महिलाहरुले आफ्नो श्रीमान्संग अनावश्यक कचकच गर्ने, संका गर्ने गरेका कारण पनि हिंसाका घटना हुने गरेका बताउँछिन् ।

पछिल्लो समय बढिरहेका सम्वन्ध बिच्छेद्का घटनाहरुप्रति बिष्ना निकै चिन्तित् छन् । ‘सानो कुरामा बिवाद सुरु हुँदै सम्वन्ध बिच्छेद्को तहसम्म पुग्न थालेको छ’ महिला हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा दिपायल सिलगढी नगरपालिकाले सिरखोली सैनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भेटिएकी बिष्ना भन्छिन्, ‘सम्बन्ध बिच्छेद् गरेका महिला पुरुषले त अर्को बिहे गर्लान् तर तिनीहरुका सन्तानको अवस्था के हुने ? यसले परिवारमा कस्तो प्रभाव पर्छ भन्ने ख्याल गर्दैनन् ।’ उनी अचेल महिलाहरुले आफ्नो सहनशीलता गुमाएको आरोप लगाउँछिन् ।

महिलाहरुमाथि हुने हिंसाका अधिकांश घटनाहरुको जरिया मदिरा हुने गरेको उनी बताउँछन्, भन्छिन् ‘श्रीमान् रक्सी खाएर घर आउँछ, दिनदिनै रक्सी खाएर आउने भन्दै श्रीमतीले कचकच गर्छन् अनि हिंसा सुरु हुन्छ ।’ उनी रक्सी बन्द गर्नु पर्ने बताउँछिन् । उनी थप्छिन् ‘रक्सी वन्द गर्नका लागि मैले धेरै पटक प्रयास गरेँ, केही समय बन्द पनि भयो तर फेरि सुरु भइहाल्यो ।’

पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोगले पनि महिला हिंसाका घटनाहरुमा बृद्धि भएको उनको बुझाइ छ । ‘उमेर नपुगेका बालबालिकाहरु भागेर बिहे गर्न थाले, कसै कसैले त बहु बिहे पनि गर्न थाले’ बिष्ना भन्छिन्, ‘फोनबाटै कुरा गर्छन्, कुरा गर्दागर्दै प्रेम बस्छ अनि एक-अर्काको देखभेटै नभई भागेर जान्छन्, उता जाँदा त थाह हुन्छ केटाले पहिले नै बिहे गरिसकेको रहेछ ।’

त्यसपछि महिलामाथि हिंसाको सुरुअात हुने गरेको बिष्नाको बुझाइ छ । उनी थप्छिन् ‘मोवाइलको दुरुपयोग रोक्नका लागि बालबालिकाहरुलाई यस बारेमा ज्ञान दिनु जरुरी छ ।’ पछिल्लो समयमा अधिकांश घटनाहरु मोवाईलको माध्यमबाट हुने गरेको बिष्नाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment