Comments Add Comment

कृष्ण धराबासीः नदी हो जिन्दगी…

छहरा भएर, खहरे भएर, चट्टानसंग ठोकिदै, पहरामा बज्रिदै, आफ्नै जलराशीमा अलमलिँदै, बटारिँदै, भुमरी पर्दै फेरि बाटो खोज्दै, शान्त सागरमा सुस्ताउँदै बगिरहने नदीलाई ठाउँ ठाउँमा भेटिरहन्छु म । जीवनलाई नदीसँग तुलना गर्ने म नदीका अनेक अवस्थामाथि घोरिइरहन्छु ।

जीवन नदी हो, निरन्तर बगिरहनु पर्छ भनेर मैले धेरैलाई अटोग्राफ दिएको छु । बगिरहेको देखिने नदी कहाँ कहाँ थुनिँदै अलमलिँदै, सुरुंगमा हराउँदै, मैदानमा फैलिँदै बगिरहेको हुन्छ । त्यसको यात्राको निरन्तर सहभागी हुन सक्ने हामीलाई के नदी जीवनजस्तै वा के जीवन नदीजस्तै बन्न सक्ला ?

प्रकृतिका सबै बस्तुहरु हाम्रो जीवनसंग जोडिन आउने हुनाले तिनीहरु कतै न कतैबाट जीवनको बिम्ब बनिरहेका हुन्छन् । हामीले प्राप्त गरेको यही जिन्दगी नै प्रकृतिको अस्तित्वको संवाहक पनि हो । हाम्रो ज्ञानको सीमाले हामीलाई चिनाउन मात्र ती सबै हामीलाई अर्थ प्रदायक छन् । आफ्नै निरपेक्ष वस्तुतामा ती छन् पनि कि छैनन् पनि । कसलाई थाहा ?

जिन्दगी नरोकिने र आफैंमा बिलाउने एक अविराम यात्रा हो । आफैंलाई बिर्सिएर बाँच्ने सिलसिला हो । आँखाभरि उमारेका सपनाहरु विकृत विपनामा समापन हुने गति र नियति हो

हामीले पाएको यस जिन्दगीमा सबै रस पनि प्रकृतिले भरिदिएको हो । उसले हाम्रो शरीरमा जडान गरिदिएका अंगहरु, हर्मोनहरु हामीबाट उसैलाई बुझ्ने माध्यम भएका छन् । हामी जति बौद्धिक बनौं, जति तथ्यपरक बनौं, जति तर्कशील र विषयगत बनौं । तर, हामीभित्र निरन्तर उत्पादन भइरहने भावुकताको संसार वस्तुजगतको कठोर यात्रामा सरलता खोजिरहेको हुन्छ ।

थाहा छ, रुनुको कुनै अर्थ छैन । हाँसोको पनि कुनै अर्थ छैन । आनन्द, खुशी वा दुःख भन्नु पनि व्यक्तिगत अनुभूति मात्र नै हुन् । तर, चेतनाका अनेक आवृत्तिहरुले हामीलाई निरन्तर भावलोकको शयर गराइरहन्छन् । बिर्सिएको खुशी सम्झाइदिन्छन् । पुछेको आँशु फेरि भलभली खसाइदिन्छन् । नाच्दा नाच्दैका खुट्टालाई वियोगका साङ्लीले अल्झाइदिन्छन् ।

जब मैले पोटामेक नदीको किनारमा उभिएर त्यसका छालहरुलाई, छोटा छहराहरुलाई र त्यसले बज्रिनु पर्ने किनारका चट्टानहरुलाई निकैबेरसम्म घोरिएर हेरिरहें, मैले त्यहाँ बगिरहेको पानीमा आफ्नै जीवनका आफैले थाम्न नसक्ने छाल्कोहरुको दवावलाई अनुभव गरिरहें । जीवनको साँगुरो घेरामा उकुसमुकुस हुँदै अन्धकारतिर बाटो खोज्दै बग्नु पर्दाकोे क्षणहरुलाई सम्झिरहें ।

हामी प्रत्येकको जिन्दगी कुनै खोंचमा साँगुरिएर बगिरहन बाध्य सेती नदी झैं नै त हो, जसले बग्दा बग्दा आफैंलाई कहाँ–कहाँ तलतलसम्म भसाइरहेको हुन्छ । जमिनमा निस्कन कहाँसम्म पुग्नुपर्ने हो मैदान खोज्दै ।

ग्रेट फल्स क्षेत्रमा छहरिएर, लहरिएर, साँगुरिदै बगिरहेको पोटामेकलाई जब वासिंटन डीसीमा शहरै निलुँला झैं गरी फैलिएको देखें । लाग्यो, ओहो जीवन सधैँ कहाँ संकोच र कुण्ठा मात्र रहेछ र ?

पानी पानी पानी भएर बगिरहेछ नदी । पानीले बनाएको बाटोमा आफंै पानी भएर नदी हुनुको यात्रा गरिरहेछ नदी । नदी पानी हो कि पानी नदी हो ? नबगी आराम गरिरहँदा कहाँ हराउँछ नदी ? बगिरहेको पानीसँग किन रिसाउँछ पोखरी ? शब्दहरुको जंगलमा अर्थहरुको खेल खेल्दा खेल्दै जिन्दगी कतिबेला लीलामय बनिसकेछ । आफैंले आफू भित्र आफैंलाई भेट्न नसक्ने आपट्टे जंगल हुर्काएर त्यसैभित्र हराएको अमेजन खोजिरहेछौं कि त ।

क्षितिजमा पुगेर आँखा टाँसिएपछि मैले समुन्द्रलाई एउटा ठूलो नीलो तन्दा मात्र देखें, जसमा छटपटाइरहेका थिए प्रेमिल छालहरु । कहिले उठेर बस्थे, कहिले एकअर्कोलाई अंगालोमा बेरेर लट्पटिन्थे । किनारसम्म उछिट्टिएर आइपुगेका तिनीहरु मेरो खुट्टासंग ठोकिएपछि लाजले सर्माउँदै एकले अर्कोलाई आफैंभित्र मिसाउँदै फर्केर जान्थे पल्लो किनारलाई छुने गरी ।

धेरैबेर नियालेर हेरे, छोएर हेरें,चाखेर हेरें । अँहँ, त्यहाँ कतै पनि थिएन पोटामेक, कोशी, गंगा र बागमतीको पानी । त्यहाँ छँदै थिएन फुलमती, बिरिंग र पगला खोलाको रंग । सबैले भन्थे बगिरहने नदी सागरमा पुगेर बिश्राम लिन्छ । तर, खै सागर त मातेको जस्तो छ । उत्ताउलो पो छ । सम्भोगरत देखिन्छ छाल छाल छाल भएर । यो अधीरता, यो उन्माद कहाँ थियो नदीसंग ? माथि पहाडबाट छहराउँदै, लछलाउँदै ओरालै झरिरहँदा । ऊ त यहाँसम्म आइपुग्न कत्ति मीठो पानी भएर, प्रेममय जीवन भएर, गीतका सुन्दर लय भएर छालहरुले छुँदै, मायाले चट्टानहरुलाई बस्दै गर है भनेर बिदा लिंदै हिमालदेखि नै कति कस्टका साथ बग्दै–बग्दै आएको हो ।

त्यो शीतल जलराशीमा प्राण भर्ने मीठो जल छ जसले सधै रातो रगत बनाइरहन्छ । घाँटीदेखि बिस्तारै छातीको बाटो हुँदै पेटभित्र अमृतमय भएर हरेक जीवमा जवानी भर्न सक्षम छ । पोखरी ताल र पर्खालहरुमा छेकिएर प्रदुषित पीडा भोग्न विवस पानी कुण्ठाको बिषाक्त बिम्ब बनेको पनि कति देखियो कति । बगिरहेको सलसली धारा तर जब समुद्रमा मिसिन पुग्यो, ओहो, खै त्यसमा त्यो कलकली किलकिले बजाउँदै निल्न मन लाग्ने स्वाद ? छातीको तातोलाई समन गर्ने शीतलता ?

आँखालाई तानेर आफ्नो नीलोमा मिसाई आफूभित्र समाहित गर्न आकर्षित गर्ने सागरको त्यो पानी जब मुखमा पस्छ, ओहो, सुन्दरता भित्र पनि यति वेस्वाद किन ? यति टर्रो, नुनिलो, कोक्याउँदो, घाँटी नै समाउने किन ? तिम्रो नीलोमा यो नुनिलो यति धेरै किन हँ ?

हाम्रो गाउँको पुछारबाट, हामीलाई हात हल्लाउँदै, हता। हतार बग्दै यतैतिर आइरहेको नदीलाई भेट्न यहाँसम्म आइपुगेको थिएँ म । हे समुद्र , खै कहाँ गयो त्यो हाम्रो अरुणको पानीको स्वाद ? खै लिखुको तरलता ? बग्न बिर्सिएर यो विशालतामा खाँदिन आइपुगेपछि नदी, जब आफैं सागर हुन्छ, त्यसले आफ्नो रंग आफैंले चिन्दैन ।

मैले धेरै त्यस्ता ब्यक्तिहरुलाई जब जुलुसबाट हातमा समातेर पाखा निकाली किनारमा उभ्याएर सोधें, किन पसेको यसरी भिडमा ? यो नारामा के भनिदैछ थाहा छ ? किन लगाएको यति ठूलो स्वरमा नारा ? त्यो जुलुसको अघि अघि झण्डा बोकेर हिंडिरहेकोलाई चिनेका छौ ?उनीहरुले निकैबेरसम्म मेरो अनुहारतिर टोलाएर हेरिरहे र एकछिन् घोरिए । जुलुसमा हराएको ब्यक्ति जस्तै हराएको थियो समुद्रमा नदी, महासागरमा समुद्र, आकाशगंगामा पृथ्वी, ब्रह्माण्डमा आकाशगंगा, झन अर्को, झन अर्को, झन अर्कोमा हराइरहेको थियो ब्रह्माण्ड ।

एकएक थोपो पानीमा जवानी खोज्नेहरु जब जिन्दगीको नदीमा हामफाल्छन् । तिनले आफ्नै टाउकोले बजारेर फोर्न खोजेको चट्टान इतिहासको लेउ बोकेर चिप्लो भइसकेको छ । उभिन खोज्ने खुट्टाहरु पाइताला मुनिका चिप्ला ढुंगाहरुमा लरबरिइरहेछन् । आदर्श र सिद्धान्तका ठेली जो विश्वविद्यालयका पुस्तकालयहरुमा थिए, तिनमा पटक–पटक आगो लगाइएकोे छ । जब नदी समुद्रमा पुग्दा नदीको रंग रहँदैन, महासागरमा मिसिँदा पानीको स्वाद हुँदैन, हाम्रा जिन्दगीसँग जोडिएका विश्वासहरु, आस्थाहरु, मान्यता र सपनाहरु पनि यथार्थमा आकारित हुँदैनन् । त्यहाँ कतै पनि हाम्रा अनुहारहरु प्रस्ट हुँदैनन् ।

हजारौं बर्षदेखि एउटै गीत गाएर बगिरहेको तमोर ताप्लेजङको फेदमा आज पनि त्यसरी नै सुुसाइरहेको छ । चतरासम्म आइपुग्दा खै तमोरको त्यो स्वर, त्यो रंग, त्यो वेग ? तमोरलाई भेट्न त ताप्लेजुङ नै जानु छ, त्यहीं बसिरहनु छ । तमोरको तमोरता तमोरसँगै मात्र छ र त्यो त्यहीँ मात्र छ । हामी किन दौडिएको होला तमोर खोज्दै गंगाको पानीमा हत्केला चोब्न ?

सबै खोला, खहरे, नदी खोल्सा र जंघारहरु आइपुगेर जब मिसिन्छन् कोशी, गण्डकी, कर्णालीमा, तिनीहरु अब आफू रहँदैनन् । नाम र पहिचान फेरिदै फेरिदै अघि बढ्दै बढ्दै पुग्छन् समुद्रमा । ती एकअर्कोमा मिसिदै, हराउँदै, सकिदै सकिन्छन् सकिने यात्रामा ।

जिन्दगी त्यसैले नरोकिने र आफैंमा बिलाउने एक अविराम यात्रा हो । आफैंलाई बिर्सिएर बाँच्ने सिलसिला हो । आँखाभरि उमारेका सपनाहरु विकृत विपनामा समापन हुने गति र नियति हो । विशालतातिरको आकांक्षा आफंैलाई विलयन गराउने यात्राक्रम हो ।

म नदीमै रमाउन चाहन्छु, माथि उद्गमस्थलमै । जान चाहन्न म टाढासम्म । समुद्रसम्म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment