Comments Add Comment

कालो बेलुन फुटाएको त्यो दिन….

‘लेखन पनि युद्धको एउटा महत्वपूर्ण मोर्चा हो र हामी लेखकहरू त्यो मोर्चाका सिपाही हौँँ । कलम हाम्रो हतियार हो । वर्तमान राज्य आतङ्क, भ्रष्टाचार, दुराचार र अकर्मण्यताको उच्छेदनका निमित्त र आमूल परिवर्तनका निमित्त हाम्रो कलमले जनताको आन्दोलनलाई नयाँ उचाइमा उठाउन बल प्रदान गर्नुपर्छ ।’

कृष्ण सेन इच्छुकले साहित्य सन्ध्या पुरस्कार ग्रहण गर्दाका क्षणमा ०५८ साल वैशाख १ गते नेपाल ल क्याम्पसमा व्यक्त विचार हो यो ।

समारोहका प्रमुख अतिथि कवि केवलपुरे किसान थिए । एउटा ठूलो कालो बेलुनलाई कलमले घोचेर फुटाएपछि कार्यक्रमको उद्घाटन भएको थियो । त्यो बेलुनलाई भ्रष्टाचार, दुराचार, अनाचार र पापाचारको प्रतीक मानिएको थियो ।

गणतन्त्र नेपालको आदर्श नमूना बनेर देखिनुपर्ने नायकहरूको मनोदशा आज पनि विलासी जीवन र राजसी चालढालको मोहमा फसिरहेको छ । कुरो घरको, गाडीको र दसैँको टीकाको होइन, नेतृत्वको चिन्तन कतातिर सोझिएर गइरहेको छ भन्ने हो

त्यसको तेह्र महिनापछि जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा इच्छुकको हत्या गरियो । उहाँले सहादत प्राप्त गर्नुभएको सोह्र वर्ष नाघिसकेको छ । स्वयं जाग्दै र दुनियाँ जगाउँदै हिँडेका सशक्त प्रगतिवादी कवि, जनपक्षीय पत्रकार तथा निष्ठावान राजनीतिकर्मी थिए कृष्ण सेन इच्छुक ।

तीसको दशकमा साम्यवादी विचार तथा दर्शनबाट प्रभावित भएका इच्छुकले त्यसै विचारलाई आफ्नो जीवनको आदर्श बनाए । र, विद्यार्थी आन्दोलन हुँदै कम्युनिष्ट पार्टीको सदस्यका रूपमा कम्युनिष्ट आन्दोलनमा क्रियाशील रहे । आफ्नो वैयक्तिक आनन्दलाई कहिल्यै प्राथमिकतामा राखेनन् ।

उनको सोच्ने तरिकै भिन्नै । धन कमाउने र सुखसित बाँच्ने कुरा उनको मनमा चढ्दै चढेन । चढ्यो त केवल जनमुक्तिको कुरा । जनआन्दोलनलाई नयाँ उचाइमा उठाउने कुरा । शोषण र भ्रष्टाचारमा आधारित राज्य व्यवस्थालाई फालेर न्यायिक र सदाचारी राज्यव्यवस्था स्थापना गर्ने कुरा ।

उनले विचारलाई निकै कसिलो पाराले समाए । त्यसलाई जीवन व्यवहारमै लागु गर्न समर्पित रहे । उनको शब्द र कर्ममा घनिभूत एकत्व थियो । त्यसै कारणले उनी ढुक्कसित जीवनपर्यन्त आन्दोलनमा हेलिए । जम्मा ४६ वर्षको जीवनकालमा करिब १० वर्ष जेलमै बिताए । प्रहरी हिरासतमा एक हप्तासम्म निर्मम ढङ्गले लगातार कुटिएर प्राण फुस्किँदासम्म पनि उनी गलेनन् । विचार गलेन । विश्वास गलेन । इमान ढलेन ।

त्याग, वीरता र बलिदानका ज्वलन्त बिम्ब हुन्, कृष्ण सेन इच्छुक । उनी आफ्ना लागि होइन, दबेकाहरूलाई उठाउन बाँचेका थिए । उनी विचार, संगठन र संघर्षका बलले अशक्तहरूलाई सशक्त बनाएर न्यायपूर्ण, शान्त र सुन्दर समाज निर्माण गर्ने ध्ययले बाँचेका थिए । र त्यही ध्ययको रक्षार्थ मरेका थिए ।

जुन समाज निर्माणका निमित्त इच्छुक लडे र मारिए, के त्यो समाज यही हो ? न्याय यही हो ? सुशासन यही हो ? सदाचार यही हो ? त्यो देश यही हो ? ती पार्टीहरू यिनै हुन् ? ती नेताहरू यिनै हुन् ? ती कार्यकताहरू यिनै हुन् ?

भर्खरै ठूलो धोका खाएर छिन्नभिन्न भएका क्रान्तिकारीहरूका मन यी प्रश्नहरूले काँडा बनेर घोचिरहेका होलान् । कति पीडाले चिच्याइरहेका पनि होलान् । कति न्यायको नारा घन्काउँदै अग्रपथमा लम्किरहेका पनि होलान् ।

पृष्ठभूमिमा विशाल जनबल छँदा सानो आवाज पनि दमदार सुनिन्थ्यो । मैदानबाट साथ दिनेहरू पातलिएपछि घाँटी सुकुञ्जेल चिच्याउँदा पनि सुनिँदैन । भोगको भावना निकै अराजक रूपमा भड्किएको आजका सन्दर्भमा कृष्ण सेन इच्छुक स्वयं नसुनिएको आवाज हो । फेरि पनि यी आवाजहरू आँधीमय विचारका अजम्बरी बिउ हुन् ।

गणतन्त्र नेपालको आदर्श नमूना बनेर देखिनुपर्ने नायकहरूको मनोदशा आज पनि विलासी जीवन र राजसी चालढालको मोहमा फसिरहेको छ । कुरो घरको, गाडीको र दसैँको टीकाको होइन, नेतृत्वको चिन्तन कतातिर सोझिएर गइरहेको छ भन्ने हो ।

जनयुद्ध र जनआन्दोलनको बलमा सामन्तवादको गजुर राजतन्त्र ढलेर गणतन्त्र स्थापना भए पनि श्रमजीवी नेपाली जनताको जीविकाको विकराल व्यथा यथावत छ । राजनीतिमा यो वर्गको नेतृत्व स्थापित हुनेगरी जनतन्त्र आएको छैन । राष्ट्रियता घाइते छ, त्यसमाथि चोट थपिरहने काम यथावत छ ।

गुरुत्तर चिन्तनले भरिएका ती आवाजहरूलाई संरक्षण, विकास र विस्तार गरी साहित्य, कला र संस्कृतिका माध्यमबाट राष्ट्रिय–अन्तरराष्ट्रिय रूपमा फैलाउने उद्देश्यले कृष्ण सेन इच्छुकको नाममा ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ स्थापित भई क्रियाशील छ ।
यो पनि पढ्नुहोस इच्छुक सांस्कृतिक प्रतिष्ठानले अहिलेसम्म केके गर्‍यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment