Comments Add Comment

भो महिलालाई तर्साउन छोड्नुस् !

कञ्चनपुरको घटनापछि बलात्कारका घटना हुनासाथ मिडिया, सामाजिक सञ्जाल सबैतिर छ्याप्छ्याप्ती फैलिन थालेको छ । बलात्कारका घटनामा चाँडै सत्यतथ्य पत्ता नलाग्दा चासो बढ्नु सामान्य नै हो । तर, अहिले यो चासो महिलालाई तर्साउने माध्यममा परिणत भएको छ । प्रत्यक्ष, अप्रत्यक्ष रुपमा होस् वा सामाजिक सञ्जाल खासगरि फेसबुकमा महिलालाई त्यस्तो घटनाबाट जोगिन विभिन्न सुझावसहितका विचारहरु पोष्टिइरहेका देखिन्छन् । भनौं, महिलालाई अप्रत्यक्ष रुपमा ‘यी-यी उपाय अपनाएर सुरक्षित होउ, नत्र…’ भन्दै तर्साउने काम भइरहेको छ, जसले अन्ततः फेरि महिला नै पीडित हुन पुगेका छन् ।

यस्ता पोष्टमा एक्लै नहिँड्न, फोन नं नदिन, अपरिचितसँग नबोल्न/नभेट्न, फोटो नदिन आदि सुझाइएको देखिन्छ । यो भनेको महिलाले गर्दै आएका कामकारवाही, दैनिक व्यवहार सहि नभएको जिकिर हो । सामाजिक सञ्जाल चलाउन जान्ने महिलाले यति सामान्य कुरा ख्याल नर्गलान् भन्न सकिन्छ र ? विशेषगरि पुरुषहरुले महिला साथीलाई लक्षित गरेर यस्ता सुझावहरु ‘सेयर’ गर्ने देखिएको छ, त्यसमा धेरै महिलाले राम्रो भनी प्रशंसा पनि गरेका छन् । तर, त्यहाँ नभेटिएको कुरा चाँहि, महिला को-को सँग/कहाँ-कहाँ सुरक्षित छिन् ?, कसरी हिँड्दा सुरक्षित हुने हो ? के-के गर्नुपर्ने हो ? सुरक्षाचाँहि कोबाट गर्ने हो ? अनि कतिञ्जेल ?

दिनदिनैजसो घटित बलात्कारका कारण महिलालाई सुरक्षित हुन सिकाउनु वा सम्झाउनु पक्कै पनि नराम्रो होइन तर, प्रश्न आखिर कहिलेसम्म महिला नै पिडित बन्ने अनि महिलाले नै अनेक उपाय अपनाएर बलात्कारीदेखि बच्नुपर्ने ? यस्तो सम्झाइ बुझाइले महिलालाई मर्यादामा रहन सिकाउँछन्  (जुन तोडिएको छ) ।

मानौं, यसअघि चाँहि महिलाकै कारण बलात्कार भएको थियो वा उनले सुरक्षा नअपनाएर त्यस्तो भएको थियो । भन्नुको अर्थ, आखिर यो सम्झाउने प्रकरणले महिलालाई झन् सबै पुरुषसँग डराउने बनाइदिएको छ । सबैसँग त्रसित हुनुपर्ने अवस्था आएको छ ।

यस्तै डरको खेती गर्दै कतिपय स्थानमा महिलालाई पुरुषसँग लड्न तम्तम्यार बनाइएको छ । आत्मरक्षाको तालिम लिनु असाध्यै राम्रो कुरा हो, तर पुरुष विरुद्धको यस्तो तालिमले पुरुषप्रति घृणा जगाउन अरु मद्दत गर्छ । यस्ता तालिमले त शारीरिक र मानसिक रुपले प्रतिवाद गर्न तयार बनाउने हो । तर, यहाँ त सिधै पुरुषलाई कसरी पछार्ने अनि, कसरी आत्मरक्षा गर्ने भन्ने एकोहोरो पाठ पढाइएको देखिन्छ । यहाँनिर सबैले बुझ्नैपर्ने कुरो, यो लडाँइ पुरुषसँग होइन, पितृसत्तासँग हो र त्यही पितृसत्ताले ओतप्रेत राज्यसँग हो । भनिन्छ नि, बलभन्दा बुद्धी ठूलो हुन्छ । कतै कतै चाँहि बल नै देखाउनुपर्ने अवस्था पनि आउने गर्छ । तर, मनदेखि नै डर हटेन भने शारीरिक बलको के काम ?

बलात्कार जघन्य अपराध हो । यस्तो दुष्र्कम गर्नेलाई खोजीखोजी कानुनी फन्दामा पार्नु असल नागरिकको दायित्व हो । अपराधीलाई कारवाही गर्ने मात्र होइन, यस्ता अपराध हुन नदिन खासगरी पुरुषहरुबीच यो विषयमा अत्याधिक वहस हुनु अनिवार्य छ । किनकि, महिला सधैं पीडित भइरहने अनि पुरुषले त्यसमा अनभिज्ञता देखाइरहन कदापि मिल्दैन ।

भन्ने नै हो भने, अपरिचित मानिसभन्दा चिनेजानेकै मानिस खतरनाक साबित भएका छन् । अँध्यारा गल्लीहरु भन्दा खचाखच मानिस भएका स्थान असुरक्षित भएका छन् । भीडभाड, सार्वजनिक यातायातमा महिलालाई छुन सल्बलाइरहने हातहरु जहिले पनि भेटिन्छन् । पिकनिक, चाडबाड वा उत्सवहरुमा भेला भएका मानिस, हुल बाँधेर हिँडेका सुरक्षाकर्मी, जमघटमा रमाइरहेका युवा, बसका यात्रु, खाजा खान भेला भएका मजदुर देख्दा मन ढक्क फुल्छ । खोला, धारा, मन्दिर, पार्क, शौचालय, स्कुल, कलेज, अस्पताल, प्रहरी चौकी, रेष्टुरेन्ट, बस स्टप, निर्माण स्थल लगायत स्थानका नाम सुनेर सातो जान थालेको छ । अरु त अरु, एकान्तमा आफ्नै घरले तर्साउन थालेको छ ।

यो व्यापक डर पुरुषकै कारण भइरहेको छ किनकि, सबैतिर पुरुष यस्ता, उस्ता भनेर पुरुषदेखि नै घृणा लाग्ने बनाइएको छ । सज्जन पुरुषले समेत लज्जित हुनुपर्ने अवस्था आएको छ । यसमाथि अपराध जहाँ पनि हुन सक्छन्, बलात्कारी जो पनि हुनसक्छ भन्ने कुराहरुले महिलालाई पारेको मानसिक प्रताडनाको लेखाजोखा नै हुन सक्दैन । यसले आफ्नै बाबु, दाजुभाई-साथी, श्रीमान्, कार्यालयका साथी-सहयोगी, सहकर्मी, आफन्त, छिमेकी, शुभेच्छुक सबै पुरुषप्रति अविश्वास बढाएको छ । अहिले यस्तो वातावरण सिर्जना गरिएको छ कि, एकान्तमा पुरुष देख्नेबित्तिकै सातो जाने अवस्था आएको छ । हुँदाहुँदा जवान महिलाले साना बालकहरुसँग डराउनुपर्ने अवस्था आएको छ ।

महिला लुकीलुकी हिँड्नुपर्ने, उता बलात्कारी चाँही सज्जनको आवरणमा जोगिने । के अब त्यस्ता उपाय नअपनाउने महिलालाई शिकार बनाउने ? देख्यौ त महिला, एक्लै हिँड्दा (पुरुषलाई साथ नलिई हिँड्दा), रातमा काम गर्दा/हिँड्दा वा अरु के-के गरेर हिँड्दा महिलाको के हालत भयो? अब पनि त्यसरी हिँड्छौ? अब त्यसरी नहिँड, पुरुषहरुले जहाँपनि, जहिले पनि आक्रमण गर्न सक्छन् -अनि त्यसरी आक्रमण भए राज्यले समेत तिमीलाई हेर्नेछैन) यस्तो लाग्छ, यी घटनाहरु महिलाका असावधानीका कारण भएका हुन् । अर्थात्, दोषी महिला नै हुन्, त्यसैले त उनीहरु सावधान हुनैपर्छ ।

सबैभन्दा डर लाग्दा कुरा, हिजो, महिलालाई घर बाहिर गए छाडा हुन्छन्, बिग्रन्छन् भन्ने समाजमा यस्ता त्रास देखाउँदै फेरि चारघेरामै सिमित पार्ने सम्भावनालाई बढाएको छ । अनि, न्यायको भन्दा अपराधको चर्चा गर्दा अपराधीको मनोबल बढाएको छ ।

यो सबै कुरा भनिराख्दा त्यस्ता सुझावलाई राम्रो, मननीय, धन्य ! भनेर उत्तर फर्काउने महिलाको चेतनास्तर देखेर म छक्क भने पर्दिन । किनकी, पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिलाले जान्ने बुझ्ने बेलादेखि नै पुरुषलाई हिंस्रक, पीडक, कठोर, शोषक वा अत्याचारीको रुपमा पाएका छन् र स्वाभावैले आफ्नो न्यायको लागि बोल्दा उनीहरुलाई खुशी लाग्नु स्वाभाविक नै हो । तर, मेरो प्रश्न ती सज्जन वृन्दहरुलाई, के तपाइँले कहिले पनि महिलालाई यौनजन्य दुव्र्यवहार गर्नुभएको छैन ? भीडभाडमा, सार्वजनिक यातायातमा वा कुनै निहुँ बनाएर जानीजानी महिलालाई छुनु/धकेल्नु भएको छैन ? साथीभाइसँग कुनै महिलाको रुप, हाउभाउ, उसले लगाएको पहिरन वा उनको शरिरबारे ठट्टा गर्नु भएको छैन ?
यहाँ लेखिएका र लेख्न नमिलेका कतिपय हर्कत यदि गर्नुभएको छैन भने तपाइँ आफ्नो ठाउँमा ठीक हुनुहुन्छ । तर यदि, तपाइँले नियतवस, योजना बनाएर यस्ता हर्कत गर्नुभएको छ भने, होसियार ! अब डराउने पालो तपाईको हो । महिलालाई तर्साउन छोड्नुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment