Comments Add Comment

बालुवाटारमा कागभन्दा कोइली चंख !

२३ मंसिर, काठमाडौं । शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारबाट सचिवालय बैठक बहिस्कार गरेर हिँडेका नेकपाका चार शीर्षनेताहरुले आइतबार दिउँसो १ बजे स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेका थिए । तर, ओली पक्षको चतुर्‍याइँका कारण आज बस्ने भनिएको विद्रोही नेताहरुको स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो ३ बजे बालुवाटारमा नेकपाको सचिवालय बैठक बोलाएका थिए । बैठकमा भाग लिन पुगेका चार शीर्ष नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सवा ३ बजेपछि बैठक बहिस्कार गरेर बाहिरिएका थिए ।

सचिवालय बैठक बहिस्कार गरेर हिँडेका नेताहरुले आइतबार दिउँसो १ बजे राजधानीमा स्थायी कमिटीको बैठक बस्ने भन्दै जिल्लातिर रहेका आफ्नो गुटका नेतालाई तत्काल राजधानी आउन भनेका थिए । कतिपय नेताहरु शनिबार नै हस्याङ-फस्याङ गर्दै काठमाडौं आए । तर, केपी ओली समूह ‘कागभन्दा कोइली चंख’ जस्तै भइदिएपछि विद्रोही पक्षको स्थायी कमिटी बैठक बीचैमा तुहियो ।

युवराज ज्ञवालीलगायत पूर्वएमाले समूहका असन्तुष्ट नेताले तत्कालै स्थायी कमिटी बैठक बोलाउन हस्ताक्षर अभियान चलाउने तयारी गरेका थिए

नेकपाको ९ सदस्यीय सचिवालय कमिटीमा रहेका ४ नेताले बैठक बहिस्कार गरेपछि शनिबार बैठकै बस्दैन भन्ने विद्रोही नेताहरुको अनुमान थियो । तर, ओली पक्षमा ५ सदस्यहरु रहेपछि बहुमतका आधारमा सचिवालयको बैठक बस्यो र आगामी मंसिर २९ गते स्थायी कमिटीको बैठक आयोजना गर्ने सचिवालयले निर्णय गर्‍यो ।

कुल ९ सदस्यमध्ये शनिबार पाँचजना नेता बहुमतका आधारमा बैठकमा सहभागी भए भने चारजना नेताले बैठक बहिस्कार गरे । ओलीको पक्षमा प्रचण्ड, बादल, विष्णु पौडेल र ईश्वर पोखरेल छन् भने विद्रोही पक्षमा झलनाथ, माधव, वामदेव र नारायणकाजी छन् ।नेकपाको ९ सदस्यीय सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र विष्णु पौडेल छन् ।

नेकपाका एक नेताले अनलाइनखबरसँग भने- ‘प्रधानमन्त्रीले चतुर्‍याइँपूर्वक शनिबार बहुमतका आधारमा बैठक राखेर २९ गतेका लागि स्थायी कमिटीको बैठक नबोलाएको भए आज विद्रोही पक्षको स्थायी कमिटी बैठक बस्नेवाला थियो, तर टर्‍यो ।

ओली पक्षलाई अल्पमतमा पार्ने प्रयास

झलनाथ, माधव र वामदेव गौतम लगायतका नेताहरुले स्थायी कमिटी बैठक बोलाउन लागेको जानकारी पाएपछि प्रचण्ड, ओली लगायतका नेताहरुले शनिबारै सचिवालयको बैठक बसेर २९ गतेका लागि स्थायी कमिटीको बैठक डाकेको स्रोतले बतायो ।कुल ४५ जना सदस्य रहेको स्थायी कमिटीमा केपी ओली पक्ष अल्पमतमा पर्न सक्ने झलनाथ र वामदेव पक्षको दाबी छ । ९ सदस्यीय सचिवालयमा पनि रामबहादुर थापा बादल आफ्नो पक्षमा आउन सक्ने चार नेताको अनुमान थियो । तर, बादल शनिबारको बैठकमा सहभागी भएसँगै ओली पक्षमा बहुमत पुगेको छ ।

पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालयमा बहुमतका आधारमा बैठक सञ्चालन गरेपछि अब स्थायी कमिटीमा पनि बहुमतका आधारमा निर्णय लिन सकिने नजिर स्थापित भएको विद्रोही पक्षका नेताहरुको दाबी छ ।

आफूहरुले बालुवाटारमा शनिबार बैठक बहिस्कार गरेकै प्रतिफलस्वरुप मंसिर २९ को बैठक तोकिएको नेकपा नेता झलनाथ खनालले बताए । उनले भने- ‘हिजोको बहिस्कारको बाई प्रोडक्ट स्वरुप स्थायी कमिटीको बैठक बोलाइएको हो । स्थायी कमिटीमा हाम्रा साथीहरु अर्गनाइज्ड हुनुभएको छ ।’

शनिबार ४ नेताले बालुवाटार छाडे लगत्तै  पूर्वएमाले समूहका असन्तुष्ट नेताले हस्ताक्षर अभियान चलाउने तयारी गरेका थिए । उनीहरुले माओवादी पक्षका नेताहरुसँग पनि यसबारेमा छलफल गरे । तर, माओवादी पक्षधर नेताहरुले हस्ताक्षर अभियानले गलत सन्देश जाने भन्दै गुट पक्षधरता नदेखाई केही नेताको समूह बनाएर अध्यक्षलाई भेटेर बैठक माग गर्नु राम्रो हुने सुझाव पूर्वएमालेका नेताहरुलाई दिएको स्रोतले बतायो ।

पूर्वमाओवादीहरुको त्यही सुझावपछि हस्ताक्षर अभियान चलाउने नेताहरुले पार्टी कार्यालयमै सबै स्थायी कमिटी सदस्यहरुलाई बोलाउने र त्यहीँ छलफल गर्ने बताएका थिए । पछि त्यसैलाई स्थायी कमिटी बैठकको नाम दिने तयारी माधव नेपाल पक्षको रहेको खुलेपछि प्रचण्ड पक्षधर नेताहरु भस्किएको स्रोतले जनाएको छ ।

झलनाथले उठाए सरकार पुनर्गठनको कुरा

आफूहरुले बालुवाटार बैठक बहिस्कार गरेपछि पार्टीभित्र तहल्का मच्चिएको खनालको दाबी छ । सरकारले राम्रो काम नगरे नेकपा पनि डुब्ने खतरा रखेको औंल्याउँदै यस्तै अवस्था रहेमा सरकारको पुनर्गठन गरेर अघि जान सक्नुपर्ने औंल्याएका छन् ।

सरकारले राम्रसँग काम गर्न नसकिरहेको विश्लेषण गर्दै खनालले भने-‘सरकार डुब्यो भने नेकपा पनि डुब्छ । सरकार राम्रोसँग अगाडि बढेन भने कसरी पुनर्गठन गर्ने ? पुनर्गठन गरेर अगाडि जान सक्नुपर्छ ।’

सरकारले राम्रो काम नगरे नेकपा पनि डुब्ने खतरा औंल्याउँदै  सरकार पुनर्गठन गरेर अघि जान सक्नुपर्ने झलनाथले औंल्याएका छन्

पूर्वप्रधानमन्त्री खनालले आइतबार घनश्याम भुसालको नेतृत्वमा रहेको नेपाल अध्ययन केन्द्रले आयोजना गरेको एक गोष्ठीमा मन्तव्य राख्दै भने- ‘ हिजो हाम्रो बैठक रोगीका कारणले सर्‍यो रे । एउटा रोगी आएछन् । कहिलेकाहीँ ३ बजे बोलाइन्छ, ६ बजे बैठक सुरु हुन्छ । हिजो पनि त्यस्तै हुने हो कि भनेर हामी हिँड्यौं, तहल्का मच्चियो ।’

अब बस्ने स्थायी कमिटी बैठकमा सरकारको समीक्षासमेत हुने खनालले बताएका छन् । आफूहरुले बैठकको माग गरिरहेका कारण बैठकको मिति तय हुनु राम्रै भएको बताउँदै खनाल भन्छन्- ‘संघर्ष गर्दै आएका छौं, अझै गरिन्छ ।’

प्रचण्डको ‘मध्यपन्थी’ लाइन

पूर्वएमालेमा केपी ओली र माधव नेपाल पक्ष प्रष्टरुपमा विभाजित भइसक्दा पनि पूर्वमाओवादी नेताहरुमा भने एक प्रकारको अन्योल कायम छ । शनिवार र आइतवार पूर्वमाओवादी समूहका केही स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डलाई भेटेर ‘अब हाम्रो लाइन के हुने हो’ ? भन्ने प्रश्न गरेका छन् ।

प्रचण्डलाई भेटेर फर्किएका एक स्थायी कमिटी सदस्यका अनुसार अहिले प्रचण्ड केपी ओलीविरुद्ध माधव नेपाललाई प्रयोग गर्ने पक्षमा छैनन् । ओलीको कार्यशैलीसँग सहमत नहुँदा नहुँदै पनि प्रचण्डले अहिले ओलीसँगै मिलेर काम गर्ने हो भनेर आफूलाई भेट्न पुगेका नेताहरुलाई फर्काएका छन् ।

प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले अनलाइनखबरसँग भने- ‘ओलीको कार्यशैलीसँग म पनि पूरै सहमत छैन । तर, पनि म र ओली मिलेर जानुको विकल्प छैन । ओली र म फरक तरिकाबाट जानेवित्तिकै अहिलेसम्मको सबै प्रक्रिया भताभुङ्ग हुन्छ र अन्ततः यसले पार्टी र आन्दोलनलाई क्षति पुग्छ । त्यसैले अहिले हामी मिलेरै जाने हो ।’

स्रोतका अनुसार पूर्वमाओवादीका अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रचण्डको लाइन पर्खिएका छन् । नारायणकाजी श्रेष्ठ भने माधव नेपालसँग मिल्न जाने सम्भावना प्रचण्डनिकट नेताहरुले देखेका छन् । तर, बादल पक्ष पनि तत्काल प्रचण्डसँगै आफ्नो हिस्सा खोज्ने तर मूलभूत मुद्दामा प्रचण्ड-ओलीलाई छाड्ने पक्षमा देखिन्न ।

 

यो पनि पढ्नुहोस झलनाथले भने- टुप्पीमा बसेका नेताको ‘उद्गार’ सुुनियो, आन्दोलनमा चुनौती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment