Comments Add Comment

डोटीमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको ५६ प्रतिशत रकम सडकमा

२३ मंसिर, डोटी । अर्थमन्त्री डा. युवराज खतिबडाले वजेट भाषणमार्फत व्यवस्था गरेको स्थानीय पूर्वाधार विकास कार्यक्रमको डोटीमा ५६.२५ प्रतिशत रकम सडकमा बिनियोजन गरिएको छ ।

प्रत्येक निर्वाचन क्षेत्रमा चार करोड रुपैयाँ बिनियोजन गरिएको उक्त कार्यक्रम अन्तरगत बिभिन्न १० सडक निर्माण गर्नका लागि दुई करोड २५ लाख रुपैयाँ अर्थात कुल वजेटको ५६.२५ प्रतिशत रकम बिनियोजन गरिएको छ ।

बिनियोजित रकमअनुसार जोरायल गाउँपालिका-६ को खसरे-वगेडा-निरौली सडक निर्माणमा ५० लाख र जोरायल-२ को रुपसकाँडा-छहरा-बाँजिलेख-सम्मेनी सडक निर्माणका लागि ५० लाख बिनियोजन गरिएको छ ।

यस्तै, जोरायल-३ को गोगनीगाड पावर हाउसदेखि नौकुना सडकमा १० लाख, बोगटान गाउँपालिका-२ को छिडिखान-लयाडुम्री-झ्यामतोला-केदारमाण्डौं-धारी सडकमा २० लाख र बोगटान गापा-५ को सातफरी-घटानीखोला-दुवातल-जोराघाट सडक १० लाख बिनियोजन गरिएको छ ।

जोरायल-४ को सिलङ्गीबाग-बिनौडा-गाँजरी-खैगाड सडक २० लाख, पूर्वीचौकी-५ को चौखुट्टे-रानढुङ्गा सडक २५ लाख, शिखर नपा-११ को पिड-किमडा सडक १० लाख, सायल गापा-६ को मेल्लेख-बिरलकाँडा सडकमा १० लाख र दिपायल सिलगढी नपा-६ को सिलगढी साँफे सडकदेखि सजना-पाकरी सडकमा २० लाख बिनियोजन गरिएको छ ।

सडक निर्माणको सामान्य मापदण्ड समेत पूरा नगरी सडक निर्माण गरेको भन्दै स्थानीय तहहरुले आलोचना खेपिरहेका बेला स्थानीय पूर्वाधार विकास कार्यक्रमको वजेटसमेत सडकमै खर्च हुने भएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३७.५ प्रतिशत रकम जोरायल गाउँपालिकामा मात्र बिनियोजन भएको छ ।

यस गाउँपालिकामा उक्त वजेटबाट चार सडक, एक जलबिद्युत आयोजना र एक बिद्यालयको पूर्वाधार निर्माणका योजना परेका छन् ।

कार्यक्रममा सवैभन्दा कम वजेट सायल गाउँपालिकामा परेको छ । उक्त गाउँपालिका-६ को मेल्लख-बिरलकाँडा सडक निर्माणका लागि १० लाख रुपैयाँ बिनियोजन भएको छ ।

कुल २४ योजनाहरुमा सडकतर्फ दुई करोड २५ लाख, पदमार्गमा २० लाख, सहकारी संस्थाको क्षमता विकासमा ३१ लाख, बिद्युतमा २० लाख, सिंचाईमा ३७ लाख, मन्दिरमा १० लाख, तटबन्धनमा ११ लाख र बिद्यालयतर्फ ४२ लाख छुट्याईएको छ । कुल बजेटको एक प्रतिशत रकम जिल्ला समन्वय समिति कन्टेन्जेन्सीका लागि छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment