Comments Add Comment

कोरियामा एकनाथको भाषणः नेपालमा सबैले जिससको छोरी स्वीकारे

२४ मंसिर, काठमाडौं । यूनिभर्सल पिस फेडेरेसन (यूपीएफ) का नेपाल प्रमुख एकनाथ ढकालले हालै काठमाडौंमा आयोजित एसिया प्यासिफिक समिट सफल भएको भन्दै कोरिया पुगेर भाषण गरेका छन् । कथित सच्चा माता हाक जा हान मुन समेत उपस्थितिे कार्यक्रममा उनले सम्मेलनबारे ब्रिफिङ गरेका थिए ।

विश्वभ्रमण अन्तरगत नेपालको सम्मेलनमा भाग लिएर मदर मुन गत ४ डिसेम्बरमा कोरिया फर्केकी थिइन् । एकनाथ पनि उनीसँगै कोरिया पुगेका थिए । कोरिया पुगेर मुनले विश्व भ्रमणमार्फत संसारभर स्वर्गीय राज्य स्थापना गर्न आफू सफल भएको भन्दै ‘भगवान’ प्रति कृतज्ञता अर्पण गरिन् ।

गत डिसेम्बर ६ मा मदर मुनकै अध्यक्षतामा भिक्ट्री सेलिब्रेसन (विजय उत्सव) को आयोजना गरिएको थियो । उक्त विजयोत्सवमा यूपीएफका ३ हजार पाँच सय जना अन्तर्राष्ट्रिय लिडर र शान्तिदूतहरु उपस्थित थिए । कार्यक्रममा तीन क्षेत्रीय अध्यक्ष, महासचिवहरुले विश्व भ्रमणका बारेमा रिपोर्ट प्रस्तुत गरे ।

हेभेन्ली एसियाका क्षेत्रीय अध्यक्ष योङ चुङ सिकले मदर मुनको नेपाल भ्रमणले ६ हजार वर्ष पुरानो दुख र सन्तापको अन्त्य भएको तथा ‘क्षतिपूर्ति’ को प्रक्रिया पूरा भएको बताए । उनले भने, ‘अन्ततः हामी चन् इल गुक (स्वर्गिय सत्ता) स्थापना गर्नेछौं र सच्चा मातापिताको सपना साकार पार्नेछौं ।’

त्यसपछि हेभन्ली अपि|mकाका अध्यक्षले बोले । उनले सच्चा माताले नर्कलाई पनि स्वर्ग बनाउन सक्ने दाबी गरे ।

अब पालो आयो एकनाथ ढकालको । यूपीएफ-एसियाका अध्यक्ष एवं पूर्वमन्त्री समेत रहेका ढकालले भने, ‘माताले नेपाल भ्रमण गर्नुभयो र नेपालमा उहाँले थुप्रै राज्य र सरकारहरुका अगाडि ईश्वरीय एसिया प्यासिफिक, ईश्वरीय नेपाल र ईश्वरीय हिमालयको घोषणा गर्नुभयो ।’

उनले थपे, ‘त्यहाँ माताले आफूलाई अन्ली बिगटन डटर (जिससकी एक मात्र छोरी) घोषणा गर्नुभयो । कसैले पनि विरोध गरेन । सबैले स्वीकार गरे । यसबाट सच्चा मातालाई जिससकी एक मात्र छोरीको वैधानिकता प्राप्त भएको छ । त्यसैले मातालाई बधाई छ ।’

एकनाथले यसो भन्दा माताले खुशी भएर ताली बजाउँछिन् । अन्त्यमा उनले भाषण गरिन् । बाइबलको लाइन उद्वृत गर्दै मुनले भनिन्, ‘पहिलो अन्तिम हुनेछ र अन्तिम पहिलो हुनेछ । अहिले विश्वको नेतृत्व गरिरहेका विकसित राष्ट्रहरुको तुलनामा मैले भ्रमण गरेका जिम्बाबे, साउथ अपि|mका र नेपाल पिँधमा छन् । तर, जब हामी उनीहरुलाई स्वर्गिय राज्यबाट हेर्छौं, यी राष्ट्रहरु माथि छन् । हामीले नेपालजस्ता राष्ट्रलाई सहयोग गर्नुपर्छ ।’

यूपीएफको टेलिभिजन च्यानल पिस टिभीले नेपाल सम्मेलनमा केन्दि्रत भएर करिब १० मिनेटको भिडियो रिपोर्ट बनाएको छ । त्यसमा पनि नेपालमा ईश्वरीय राज्य स्थापना भएको बताइएको छ । रिपोर्टको सार यस्तो छ :

‘१.३ अर्ब जनसंख्या रहेको कम्युनिष्ट देश चीन र १.२ अर्ब जनसंख्या रहेको प्रजातान्त्रिक देश भारतको बीचमा रहेको नेपालमा १३ वर्ष अगाडि सच्चा मातापिताले पहिलोपटक भ्रमण गर्नुभएको थियो । नेपालको संसदले त्यस दिनलाई नेसनल डे अफ पीस (राष्ट्रिय शान्ति दिवस) घोषणा गरेको थियो ।

पछि हाम्रो परिवार दलका सभासद एकनाथ ढकाल मन्त्री बन्नुभयो र सरकारसँग सहज सम्पर्कको ढोका खुल्यो । नोभेम्बर २९ मा सच्चा माता नेपाल पुग्नुभयो । उहाँको त्यहाँ भव्य स्वागत भए । उच्च राष्ट्रिय सुरक्षाका साथ उहाँको सवारी हुँदा पाँच हजार मानिसहरुले काठमाडौंमा जयजयकार गरेका थिए । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सच्चा मातालाई राष्ट्रपति भ्रमणमा निम्ता गर्नुभयो ।

सम्मेलनको आयोजना यूपीएफ र नेपालको केन्द्रिय सरकारले संयुक्तरुपमा गरेका थिए । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, १२ पूर्व राष्ट्रपति र प्रधानमन्त्रीहरु, १७ मन्त्री, ७ संसद अध्यक्ष, उपाध्यक्ष, ३०० विधायक र ५० धार्मिक नेतासहित ४ हजार ५ सयको उपस्थिति थियो । नेपालका प्रधानमन्त्री ओलीले सिंगै विश्व एक परिवार भएको बताउनुभयो ।

यसैगरी, ७ सय मेयर र उनका पति/पत्नीहरु र २ हजार एक सय शान्ति दूत जोडीहरुले माताबाट ब्लेसिङ लिनु भयो जून अत्यन्तै ठुलो ब्रेक थ्रु हो । माताले प्रधानमन्त्री ओलीलाई नेतृत्व तथा सुशासन अवार्ड प्रदान गर्नुभयो । सात सय जना मेयरहरुले अन्तर्राष्ट्रिय मेयर एसोसिएसन गठन गर्ने प्रतिज्ञा गरे ।

नेपालको राष्ट्रिय टेलिभिजनसहित १० वटा मिडियाले सम्मेलनका सबै गतिविधिहरु कभर गरे । १० लाख मानिसहरुले टेलिभिजन लाइभमा कार्यक्रम लाइभ हेरे ।’
यति बजाइसकेपछि रिपोर्टमा एक मेयरको बाइट प्रस्तुत गरिएको छ । तर, उनले नेपालीमा बोलेको कुरा अंग्रेजीमा उल्था गर्दा बिगारिएको छ ।

नेपालमा तीव्र विवादित बनेको सम्मेलनले यूपीएफको हेडक्वार्टरमा भने उच्च प्रशंसा पाइरहेको छ । सम्मेलनको सफलतालाई लिएर एकनाथ हाईहाई बनेका छन् । उनले सम्भवतः मदर मुनबाट केही रिवार्ड प्राप्त गर्नेछन् । यता नेपालमा भने उनले आफू असुरक्षित बनेको भन्दै सुरक्षाका लागि गृह मन्त्रालयमा निवेदन दिएका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment