Comments Add Comment

सरकारले सस्ताे मूल्यमा किन्न खाेज्दा निजी क्षेत्रलाई धान बेच्दै किसान

२४ मंसिर, वीरगंज । सङ्घीय सरकारले धान खरीदको न्यूनतम समर्थन मूल्य तोकेपछि पर्सा जिल्लाका धान उत्पादन गर्ने अधिकांश किसान नेपाल खाद्य संस्थानमा धान नबेचेर निजी क्षेत्रका गल्ला व्यापारीलाई महङ्गोमा धान बेच्ने गरेका छन् ।

सङ्घीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार संस्थानले सोना मन्सुली धानप्रति क्विन्टल रु दुई हजार ४६० मा खरीद गर्दै आइरहेको छ । निजी क्षेत्रका गल्ला व्यापारी तथा चामल मिलले त्यही धान प्रति क्विन्टल दुई हजार ७०० सम्ममा किन्ने गरेकोले निजी क्षेत्रलाई धान बेच्ने गरेको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान शेषमन पण्डितको भनाइ छ ।

नेपाल खाध संस्थानभन्दा स्थानीय व्यापारीले प्रति क्विन्टल रु २०० देखि रु ३०० बढीमा धान खरीद गर्ने भएकोले निजी क्षेत्रलाई धान बेच्ने गरेको अर्का किसान विजय पण्डितको भनाइ छ ।

अघिल्लो वर्ष संस्थानले सोना मन्सुली धानप्रति क्विन्टल रु दुई हजार ५२५ तथा जिरा मसिनो धान प्रति क्विन्टल तीन हजार २०० का दरले खरीद गरेको थियो । तर, यसवर्ष सङ्घीय सरकारले धान खरीदको समर्थन मूल्य कम राखेकाले किसान निजी क्षेत्रका व्यापारीलाई धान बेच्ने गरेको नेपाल खाध संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख अम्बिका घिमिरेले बताए ।

संस्थानले चालु आर्थिक वर्ष २०७५/७६ मा १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ५३ क्विन्टल मात्र धान खरीद गर्न सकेको छ । संस्थानले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा रु आठ करोड २५ लाख मूल्य बराबरको तीन हजार मेट्रिक टन सोना मन्सुली र जिरा मसिनो धान खरीद गरेको थियो ।

अमेरिकी सरकारले एक हजार मेट्रिक टन क्षमताको एउटा गोदाम बनाएपछि संस्थानसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । संस्थानसँग अहिले अघिल्लो वर्षको सोना, जिरा र जापानी चामल गरी १२ हजार ८०० क्विन्टल चामल मौज्दात अवस्थामा रहेको छ ।

संस्थानले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालञ्ज, सुर्खेत, भैरहवा डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ ।

स्ांस्थानले गत वर्ष आएको बाढीबाट प्रभावितका लागि राहतस्वरूप विराटनगरमा दुई हजार १०० क्वीन्टल चामल पठाएको थियो । त्यसैगरी संस्थानले गतवर्ष जिल्ला कारागार वीरगञ्जलाई ३६८ मेट्रिक टन, भीमफेदी कारगारलाई २०९ मेट्रिक टन तथा गौर कारगारलाई ४५ मेट्रिक टन मन्सुली चामल पठएको शाखा प्रमुख घिमिरेले बताए ।

प्रमुख घिमिरेले निजी क्षेत्रको व्यापारीसँग प्रतिस्पर्धा गर्न नसके पनि सङ्घीय सरकारले १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य भने पूरा हुने विश्वास व्यक्त गरे । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानले पर्सा बाराका केही किसानबाट धान खरीद गर्ने गरेको छ । पर्सा जिल्लामा यसवर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरी दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment