Comments Add Comment

मायालु मनले मामाघर

२४ मंसिर, काठमाडौं । अर्पण पराजुली, हेटौंडाबासीका मात्रै हैन, चिन्ने-जान्ने सबैका ‘मामा’ । उनको पहिचान- हेटौंडालाई ‘सडक बालबालिका नभएको क्षेत्र’ बनाउने अभियन्ता ।

सडकमा जीवन गुजार्ने बालबलिकाका ‘मामा’ भएकाले नै उनी सबैका प्रिय । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलदेखि सबै वडा सदस्यका पनि ‘मामा’ । उनी मामा शब्दको पर्यायबाची भएका छन्, अर्पण अर्थात् मामा ।

८ वर्षअघिको समयमा फर्कौं, हेटौंडामा प्रशस्तै सडक बालबालिका भेटिन्थे । अनेकन कारणले घर छाड्न बाध्य बालबालिका सडकमै माग्थे, खान्थे, खेल्थे र सुत्थे । सडक नै उनीहरुको घर, आकाश नै छानो । अहिले हेटौंडामा सडकमा जीवन गुजार्ने बालबालिका छैनन् । कोही सडकमा आएको खबर पाउनासाथ उद्धारका लागि पुगिहाल्छ, मामाघर । खबर गर्न मामाघरमै पुग्छन्, स्थानीयबासी ।

सडकमा जीवन बिताउने बालबालिकाका लागि अहिले अर्पण पथप्रदर्शक हुन् । अर्पणको पहलमा खुलेको ‘मामाघर’ नै सडक बालबालिकाको आफ्नो घर ।

‘मामाघर’ खुल्नुअघि हेटौंडामा सडक बालबालिका व्यवस्थापनका लागि प्रयास नभएका होइनन् । नगरपालिका, जिल्ला विकास समिति र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले ठूलै रकम खर्चिरहेका थिए । तर, परिणाम-शून्य । बालबालिका सडकबाट न घरमा फर्किन सक्थे न कुनै संस्थामा दिगो रुपमा बस्न । उद्धार गर्‍यो, दुई दिनमा फेरि सडकमै ।

त्यतिबेला सबैतिरबाट अवहेलनाको शिकार थिए, सडक बालबालिका । उनीहरुको बानी व्यवहार पनि कसैको नियन्त्रणमा थिएन, जे पनि गरिदिने, जे पनि बोलिदिने ।
२०६७ सालतिरको कुरा हो, केही सडक बालबालिकाले पैसा लुटनका लागि एक व्यक्तिलाई ढुंगाले किचेर हत्या गरे । त्यसपछि त सडक बालबालिका हेटौंडाका लागि ठूलो चुनौतीका रुपमा देखिए । उनीहरुप्रति सबैको ब्यवहार कठोर बन्यो । सडक बालबालिका पनि बाँच्नकै लागि गलत मार्गतर्फ नै अग्रसर बन्न बाध्य भइरहे ।

यही हो, मामाघर

त्यो दिन !

त्यतिबेलासम्म अर्पणलाई यसबारे खासै चासो थिएन । उनी हेटौंडा क्याम्पसमा अध्यापन गर्थे । पीएचडीको तयारीका लागि काठमाडौं लागेका उनी एक साँझ हेटौंडा बसपार्कमा साथीलाई भेट्न पुगेका थिए ।

त्यहाँ नियमित गतिविधि चलिरहेको थियो । सडक बालबालिकामध्ये कोही बटुवाहरुलाई मःम किनिदिन भनिरहेका थिए, कोही चुरोट तान्दै अपशब्द बोल्दै थिए । कोही दूधका प्याकेटमा डेन्टड्राइन्ट (सुपर ग्लु) हालेर सुँघ्दै छन् । कोही बटुवा महिलाको सल तानेर, खुट्टा ढोगेर पैसा माग्दैछन् । यतिसम्म त अर्पणलाई नौलो लागेको थिएन, तर हेर्दाहेर्दै यस्तो दृश्य देखे, जसले उनको हृदयलाई हल्लाई दियो ।

केही बालबालिका मःमः खानेहरुले फालेको टपरामा बचेको अचार चाट्दै थिए । कोही डस्टविनबाट हड्डीका टुक्राहरु निकालेर त्यसमा बाँकी रहेका मासु खाइरहेका थिए । अर्पण न गह्रौ बनाएर फर्किए ।

भोलिपल्ट बिहानै उनीहरुलाई भेट्न बसपार्क पुगे । उनको उद्देश्य थियो- उनीहरुलाई एक छाक तातो भात खुवाउने !

नजिक गएर उनले बोलाए, ‘भाइहरु, यता आउ त !

कोही आएनन् । बरु अर्पणलाई यस्तो नजरले हेरे मानौं उनी बाघ हुन् र उनीहरु चाँही भाग्न तयार हरिण ।

उनले सोचे- मःमः किनेपछि कसो नआउलान् !

अर्पणले एक प्लेट मःम मागेर होटेल बाहिरै खाँदै नजिकै रहेका सानो बालकलाई बोलाए । उनी सुस्तरी नजिक आए । अर्पणले अरु पनि मःम अर्डर गरेर बालकलाई अरु साथीलाई पनि बोलाउन हौस्याए ।

एकैछिनमा सडक बालबालिका झुम्मिए । तातो-तातो मःम आइरह्यो, उनीहरु खाइरहे । अर्पणले मगाइरहे ।

उनलाई जिन्दगीकै सबैभन्दा सुखद् अनुभुति त्यतिबेला भयो, जब बालबालिकाहरु टन्न मःम खाएर शान्त भए । उनीरुका लागि त अच्चमै भयो !

हिँड्ने बेलामा एक बालकले अर्पणलाई बिस्तारै सोधेका थिए- ‘भोलि पनि आउने हो अंकाल ?’

अर्पणको आँखा भरिन र गला रोकिन खोज्यो । यति भने, ‘आइहाल्छु नि !

त्यो राति उनी निदाउन सकेनन् । एक अठोट गरे- यिनीहरुका लागि केही त गर्नैर्पर्ने भयो ।

अर्को दिन मःम खान हिजोको भन्दा धेरै आए । हिजो ७ जना थिए, आज २२ जना । चौथो दिन मःमः खाने हो भने जनिकैको पारिजात पार्कमा सबै गोलो घेरा बनाएर बस्नुपर्ने र आफूसँग परिचय गर्नुपर्ने शर्त राखे ।

सबै तयार भए । ‘परिचय भनेको आफ्नो बारेमा भन्ने हो, म अर्पण पराजुली, म तिमीहरुलाई मःमः खुआउन आएको,’ उनले भने ।

सबै गललल हाँसे । अर्पणले बुझेनन् ।

पराजुली : डनका मामा

त्यतिबेला हेटौंडामा सडक बालबालिकाकको तीन वटा ‘ग्याङ’ रहेछ- कोभ्रा, भ्यान्टे र बिच्छु । बिच्छु ग्याङको भागमा स्कुल रोड क्षेत्र, भ्ान्टे ग्याङको भागमा बसपार्क क्षेत्र, कोभ्रा ग्याङलाई पल्पसा हल क्षेत्र रहेछ ।

एउटाले अर्को ग्याङको क्षेत्रमा माग्न, चोर्न, कवाडी टिप्न वा केही गर्न नपाउने नियम रहेछ । नियम मिचे जरिवाना तिर्नुपथ्र्यो । सडक बालबालिकाको भाषामा त्यसलाई ‘बच्छी तिर्ने’ भनिन्थ्यो ।

गर्मी याममा उनीहरु छुट्टाछुट्टै बस्थे । जाडो महिनामा चाहीँ सुत्नलाई एकै ठाउँमा भेला हुन्थे । एकै ठाउँमा बस्ने समयमा एउटा विशेष नियम थियो- खुला ठाउँमा सबै भेला भएर जुध्ने । त्यहाँ जसले सबैलाई कुट्न सक्छ, अर्को पटक जुध्ने बेलासम्म त्यो सबैको नाइके । उनीहरुको भाषामा ‘डन’ ।

त्यतिबेला प्रशान्त ढकाल डन रहेछन् । अर्पणलाई यो कुरा के थाहा !

प्रशान्तले आफ्नो ग्याँङलाई पराजुली मेरो मामा हो भनेका रहेछन् । अनि अर्पणले आफू पराजुली भएको बताउँदा उनीहरु गललल हाँसेका रहेछन् ।

त्यो बुझेपछि अर्पणले प्रशान्तलाई सोधेछन्, ‘उसो भए मलाई मामा भन्छौ त ?’

त्यो सुन्ने बित्तिकै प्रशान्त जुरुक्क उठे, चोर औंला ठड्याएर सबैलाई आदेश दिए, ‘अब सबले मामा भन्ने, बुझिस् ।’

त्यसैदिनबाट अर्पण पराजुली सबै सडक बालबालिकाको मामा भए । कसैले नमानी सुख पनि थिएन, ‘डन’को आदेश थियो ।

३ महिना सडकमै

त्यसपछि अर्पणलेे सडक बालबालिकाकै विषयमा पीएचडी गर्ने निश्चय गरे । भोलिपल्टै हेटौंडा नगरपालिकाको कार्यालय गएर भने, ‘म सडक बालबालिकाबारे एउटा अनुसन्धान गर्दैछु, अनुमति दिनुस् ।’

नगरपालिका पछि जिल्ला प्रशासन, जिल्ला प्रहरी र महिला तथा बालबालिका कार्यालय पुगे । सबैतिरबाट ‘ग्रीन सिग्नल’ पाएपछि बालबालिका किन सडकमा आउँछन्, कसरी आउँछन्, कति जना छन्, कुन उमेर समूहका छन्, सडकमा उनीहरु के गरेर बस्छन्, उनीहरुको भविष्यको लक्ष्य के छ ? लगायत ४२ वटा प्रश्न बनाए ।

उत्तर निकाल्न कसैलाई अन्तरवार्ता लिए जस्तो सजिलो थिएन । अब केही दिन सडक बालबालिकासँगै हिँड्ने, खेल्ने, खाने, सुत्ने भए । त्यो योजना सुनेपछि त्यतिबेलाका सीडीओले सम्झाएका थिए, ‘एक वर्ष अघिमात्रै मान्छे मारेका छन्, विचार गर्नुस् है !

अर्पणले शालिकराम ढकाल, देवराज लामिछाने लगायत साथीलाई आफूले गर्न लागेको कामबारे सुनाएर रातको समयमा सकेसम्म अली छेउछाउ रहिदिन भने । अनि सुरु भयो, उनको अनुसन्धान ।

उनी ५२ रात सडक बालबालिकासँग सुते । रमाइलो वातावरण तयार गर्ने क्रममा अनेक खेल खेलाए, कथा सुनाए, गीत गाए, गाउन लगाए । त्यसमध्येको सबभन्दा रोचक थियो- जुम्रा गन्ने प्रतियोगिता । कपडा बिछ्याएर सबैले आफ्नो कपाल एक मिनेटसम्म हल्लाउनुपर्ने । जसको बढी जुम्रा र्झछ उही विजेता । एक जनाको ९६ वटा जुम्रा झर्‍यो, उनी विजयी भएर चकलेट चपाए ।

मामाघरमा जन्मदिन मनाउँदै एक समूह ।

त्यतिबेला अर्पण पनि जुम्रामय भए । उनी सडक बालबालिकासँग यसरी भिजे कि जे भन्यो मान्ने वातावरण बनाए । अनि पुरै झुण्डलाई नुहाउन लाइन लगाएर राप्तीमा लैजान थाले । ‘मामा’ले जे भने पनि मान्ने भएपछि बालबालिकामा जुम्राको राज कम भयो ।

त्यसरी रिसर्च सकेर तुलनात्मक रिपोर्ट बनाउन काठमाडौं गए, अर्पण । ठमेलस्थित सञ्चयकोष भवनअघि जम्मा हुने सडक बालबालिकाबारे अध्ययन गर्न ८ दिन त्यहाँ बसे । त्यसपछि भरतपुर, बुटवल, भैरहवा र धरान पुगेर सडकमा करिब ३ महिना बिताए । सडक बालबालिकाको ‘ग्याङ सिस्टम’ काठमाडौंमा सबैभन्दा बलियो पाए ।
अनुसन्धानले देखाएको बाटो

२३ पेजको रिसर्च रिपोर्ट तयार भयो । नगरपालिकाको हलमा जिल्ला प्रशासन, जिल्ला विकास समिति, नगरपालिका, जिल्ला प्रहरी, महिला बालबालिका कार्यालय लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुलाई बोलाएर ‘मकवानपुरमा सडक बालबालिकाकको वास्तविक अवस्था’ सार्वजनिक गरे । त्यसमा कहिल्यै नभेटिएका तथ्यदेखि पुनर्स्थापनासम्बन्धी व्यवहारिक सुझावहरु थिए ।

अर्पणको प्रतिवेदन सुनेपछि छलफलले ‘मामाघर परियोजना’ को सोच बनायो तर, निर्णय लिएन ।

भोलिपल्टै अर्पणलाई नगरपालिकाका प्रमुख कार्यकारी अधिकृतले बोलाए । उनी पुग्दा सीडीओ पनि त्यही रहेछन् । सीडीओले भने, ‘सडक बालबालिकाको व्यवस्थापन अरुले सक्दैनन्, तपाईँले गर्नुपर्‍यो । हामीले पुलिस लगाएर सय पटक घरमा छोडेर आइसक्यौं, हामी आइपुग्दा नपुग्दै उनीहरु पनि बजार आइसक्छन् ।’

लगत्तै प्रमुख कार्यकारी अधिकृतको प्रस्ताव आयो, ‘घर भाडा नगरपालिकाले वेहोर्ने व्यवस्था मिलाउँला ।’

‘यो परियोजनाको नाम चाँही मामाघर नै राख्नुपर्छ’, आवश्यक अरु सहयोग जुटाउने बचन दिँदै सीडीओले भने, ‘किनभने, तपाईलाई बच्चाहरुले मामा भन्दा रहेछन् । फेरि बच्चाका लागि आफ्नो घर पछिको सबैभन्दा प्यारो मामा घर नै हो ।’

अनि मामाघर खोजियो । मामाले नै सडक बालबालिकालाई घरमा बोलाए । विस्तारै घरमा बस्ने बानी बसाइयो । २०६८ साल कात्तिकदेखि हालसम्म १६२ बालबालिका हेटौंडाका सडकबाट मामाघरमा आए ।

डान्सर र खेलाडी बने सडक बालक

सम्भव भएसम्मका बालबालिकालाई परामर्श गरेर परिवारमा पुनर्स्थापना गरियो । यसरी फेरि घरमा फर्किने बालबालिकाको संख्या ११८ छ । उनीहरु मध्ये ३० जनाले घरजम गरिसके । कतिपय व्यवसाय गरेर बसेका छन्, कोही गाडी चलाउँछन्, कोही फ्रिज र एअरकण्डिसनर मर्मत काम गर्छन् । अर्पण भन्छन्, ‘मामाघरका ३ जना हक्कीका यू-१९ खेलाडी हुन् ।’

मामाघरमा अहिले २१ बालबालिका बस्छन् । उनीहरु हेटौंडाको भुटनदेवी उच्च माविमा पढ्छन् । स्कुलले सबैलाई निःशुल्क पढाइ दिएको छ । उनीहरुलाई चाहिने ब्याग, ड्रेस, कपी कलम, कितावको लागि मामाघरप्रति सद्भाव राख्नेहरुको सहयोगले पुगेको छ ।

मामाघरमा बर्थ-डे, म्यारिज एनिभर्सरी, मनाउन आउने र सहयोग गरेर जानेको कमी छैन । उनीहरुले उपहार दिने सर-सामान र खाद्यान्नबाट मामाघर सहज रुपमा चलिहरेको छ । घर भाडा नगरपालिकाले तिर्दैछ ।

मकवानपुरमा मामाघरको ‘डान्स’ लोकप्रिय छ । प्रतियोगिताहरुमा उनीहरु अब्बल सावित भएर पुरस्कृत भएका छन् । उनीहरु हेटौंडामा सबैको प्यारा छन् । आखिर सडकबाट उठेर जीवनरेखा बदलेकाहरुलाई हेरेर दंग नपर्ने को हुन्छ र !

अहिले मामाघर बालबालिकालाई सडकमा आउनै नदिने अभियानमा पनि छ । नगरपालिका, वडा कार्यालय, आमा समूह, बाल क्लब लगायतसँग मिलेर ‘जिम्मेवार अभिभाकत्व’बारे चेतना फैलाउने काममा सक्रिय छ । सकेसम्म आनाथ बालबालिकालाई नजिकका परिवार र समुदायभित्रै व्यवस्थापन गरेर अभिभावकत्व दिनुपर्छ भन्नेमा यो अभियानले जोड दिन्छ ।

मामाघरले आफ्नो संरक्षणमा रहेका बालबालिकालाई अपौचारिक शिक्षासँगै दिगो सीप सिकाउने नीति लिएको छ । पुनर्स्थापना गरिएका बालबालिकालाई फेरि सडकमा आउनबाट रोक्न परिवारलाई नै आत्निर्भर बनाउने कार्यक्रम पनि चलाइरहेको छ ।

‘यसैमा ठुलो सन्तुष्टि छ’

मामाघर आफ्नै भवन बनाउन जुटेको छ । यसका लागि स्थानीय सिद्धिलाल श्रेष्ठले जग्गा उपलब्ध गराएका छन् । ‘एक व्यक्ति एक इँटा’ अभियान चलाएर एकतलाको घर पनि ठडियो, त्यतिले नपुग्ने भएकाले अर्को तलका लागि सहयोग जुटाउन खोजिँदै थियो । त्यसै क्रममा एउटा स्पेनिस संस्थाले एक करोड ४७ लाख ३३ हजार ६२० रुपैयाँ सहयोग गर्ने भएको छ ।

अर्पणका अनुसार, मामाघरले लिएको यो नै पहिलो विदेशी सहयोग हो । आउँदो चैतसम्ममा २१ कोठा भएको तीन तले बालमैत्री भवनमा सरिसक्ने योजना उनले बताए ।

‘यसलाई काम मानेको भए बोझ हुन्थ्यो होला, तर सेवाका रुपमा लिएकाले सुन्तुष्टि मिलेको छ’ अर्पण भन्छन्, ‘हिजो गोली किन्छु, सबैलाई उडाउँछु भन्ने बालक आज डाक्टर बन्छु भरिहेको छ, यसैमा ठुलो सन्तुष्टि छ ।’

आफ्नो काममा सिंगो हेटौंडाले गर्वबोध गरेकोमा आफूलाई थप खुसी मिलेको बताउँछन् । संस्थामा अर्पण लगायत सबै स्वयम् सेवा गर्छन् । मामाघरको फोन समेत प्रयोग गर्दैनन् । घरव्यवहार चलाउने सबैको आ-आफ्नै कामधन्दा छ । ‘हामीले व्यवस्थापन हेरेका हौैं’, अर्पण भन्छन्, ‘मामाघर चलाएको त हेटौडावासीले हो ।’

उनी अर्पण भविश्यमा मामाघरलाई देशभर फैलाउन र सबैतिरका सडक बालबालिकालाई मामाघर दिलाउन चाहन्छन् । यसका लागि उनलाई मायालु मनहरुको साथ चाहिएको छ ।

(हेटौैंडाबाट फर्किएर)

भिडियोेमा भान्जाहरूको डान्स कला हेर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment