Comments Add Comment

सौराहामा हात्ती महोत्सव हुने

२४ मंसिर, चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा आगामी पुस ११ गतेदेखि १५ गतेसम्म १५ औं हात्ती महोत्सव हुने भएको छ ।

क्षेत्रीय होटल संघले सोमबार सौराहामा पत्रकार सम्मेलन गरी महोत्सवको बृहत् कार्यतालिका सार्वजनिक गरेको हो । महोत्सवमा हात्तीसँगका अनेकौं रोचक गतिविधि तथा खेलहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

आन्तरिक र बाहृय पर्यटन प्रवर्द्धन गर्दै हात्तीहरुको संरक्षण र महत्व बुझाउन गरिने महोत्सवमा हात्तीहरुको वनभोज कार्यक्रम, हात्ती फास्ट वाक प्रतियोगिता, छावाहरुको रोचक फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ, कवि गोष्ठी र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम गरिने आयोजकहरुले जनाएका छन् ।

हात्ती फास्ट वाक प्रतियोगितामा २० हात्ती, हात्ती पोलोमा चार टिम, हात्तीका छावाहरु वीचको रोचक फुटवलमा चार टिम र हात्ती सुन्दरी प्रतियोगिामा ५ वटा हात्ती सहभागी हुने आयोजकले जनाएको छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले हात्ती महोत्सवमा यसपटक कवि गोष्ठी थप गरिएको जानकारी दिए ।

देशका प्रतिष्ठित २५ जना कविहरुलाई सौराहामा ल्याएर ‘चितवन काब्य यात्रा’ पर्यटन र सौराहाका विषयमा उत्प्रेरणा गर्ने गरिने उनले बताए ।

हात्तीको राजधानी मानिने चितवनलाई चिनाउन हात्ती महोत्सव आयोजना गर्दै आएको घिमिरेको भनाइ छ । कम्तीमा पनि वर्षको एकपटक यो मनोरम मौंसममा हात्ती महोत्सव हेर्न आउन अध्यक्ष घिमिरले अपिल गरे ।

महोत्सवको सहआयोजकमा युनाइटेड हात्ती सञ्चालक सहकारी, मृगकुञ्ज उपभोक्ता समिति, बाघमारा मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन, रेष्टुरेन्ट एण्ड बार एशोसिएन सौराहा, सौराहा बचत तथा ऋण सहकारी र साना पर्यटन व्यवसायी संस्था रहेका छन् ।
महोत्सवको ४९ लाख १० हजार वजेट अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment