Comments Add Comment

भन्सारमा कति विकृति छ ? रसुवागढीको ४ महिने तथ्यांक बन्यो प्रमाण

२४ मंसिर, काठमाडौं । कमाउ अड्डा बनेको भन्सारमा विकृतिको कत्रो पोको छ ? राजस्व अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाइमा सर्वसाधारणले अनुमान लगाउने भन्दा धेरै  नै बढी ।

सोमबारमात्रै राजस्व अनुसन्धान विभागले २ सरकारी कर्मचारीसहित ६ जनाविरुद्ध ७५ करोड राजस्व छलेको अभियागमा मुद्दा दायर गरेको छ । गत साउनमा भन्सारबाट छुटिसकेको गाडी विभागले नियन्त्रणमा लिएर खानतलासी गर्दा भन्सार अधिकृतकै मिलेमतोमा एजेन्ट, समान पैठारीकर्ता, गाडी धनी र चालक पनि मिलेर ७ करोड ५९ लाख  राजस्व छलेको भेटिएको थियो ।

रसुवागढी भन्सारले जाँचपास गरेको कागजातमा बेबी भेष्ट र कट्टु भनिएकोमा सामान भने अरु नै भेटियो । त्यो पनि एडीडासजस्तो लोकपि्रय ब्राण्डकै सामानमा ।

भन्सार छल्न यसरी हुने जालसाजीले राज्यलाई कति घाटा लगाइरहेको छ भन्ने दृष्टन्त यो वर्ष रसुवागढीले नै दिएको छ । राज्यको अनुसन्धान र नियमन गर्ने संयन्त्र कमजोर हुँदा भ्रष्टाचार अनियमितताको जालो कसरी फैलन्छ र त्यसले राज्यलाई कसरी घाटामा पुर्‍याउने भन्ने प्रमाण पनि रसुवागढीको राजस्वको तथ्यांकले पुष्टि गर्छ ।

यो वर्ष अनुसन्धान विभागहरुलाई बलियो बनाउने भन्दै राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइयो । विभागमा कर्मचारी मात्रै फेरिएनन्, अनुगमन संयनत्र र विधिहरु फेरिए । जसको सकारात्मक प्रभाव अहिले भन्सार राजस्वको असुलीमा पनि देखिन थालेको छ ।

यो वर्षबाट राजस्व अनुसन्धान विभागले राजस्व छलिएका सामान बरामद गरेर चालकदेखि अधिकृतसम्मलाई नियन्त्रणमा लिएर अनुसनधान गर्न सुरु गर्‍यो । एकैपटक सबै तानिने भएपछि भन्सारहरुमा विभागको त्रास सञ्चार भएको छ । त्यसको सकारात्मक प्रभाव अब आर्थिक वर्षको अन्तसम्म भन्सार राजस्वमा पनि पर्ने दाबी विभागको छ ।
यो पनि पढ्नुहोस रसुवागढीका भन्सार अधिकृतसहित ६ जनाविरुद्ध ७५ करोडको राजश्व छली मुद्दा
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार रसुवागढी भन्सारमा यो वर्ष राजस्व असुलीमा ‘चमत्कार’ नै भएको छ । भन्सार विभागले पनि भन्सार जाँचपास गरेको कडाइले पनि यसमा भूमिका खेलेको छ ।

अर्थमन्त्री आफैं पनि ‘मूल नै संग्ल्याउने’ अभियानमा लागेपछि त्यसको प्रभाव राजस्वको उठ्तीमा पर्न सुरु गरेको भन्सार अधिकारीहरु स्वीकार्छन् ।

चीनसँगको एक मात्रै ब्यापारिक नाका रसुवागढी भन्सारले साउनदेखि कात्तिकसम्म गत वर्षको तुलनामा ४ सय गुणा बढी राजस्व उठाएको छ । साउनमै भन्सार अधिकृत विभागको अनुसन्धानमा तानिएपछि रसुवागढीमा हुने गडबडी न्युनीकरण भयो, भन्सार विभागले पनि निगरानी र अनुगमन कसिलो बनायो ।  जसका कारण भन्सारको असुलीदर ह्वात्तै माथि गयो ।

गत वर्ष आर्थिक वर्षको पहिलो ४ महिनामा रसुवागढी भन्सारबाट जम्मा ८५ करोड राजस्व संकलन भएको थियो ।

अझ रोचक कुरा के छ भने यो अवधिमा रसुवागढीबाट छुटेका कन्टेनरकको संख्या यो वर्ष ४३ प्रतिशतले कम छ । यो वर्ष साउनबाट कात्तिकसम्म ५ हजार ४४३ गाडीको समान जाँचपास भएका छन् ।  तर, गत वर्ष यही अवधिमा ७ हजार ८२८ गाडी पास भएका थिए ।

यो पनि पढ्नुहोस राजस्व अनुसन्धान विभागको पुर्नसंरचना, घट्ला त करछली ?

‘हामी पनि अच्चम्मित नै छौं । यति धेरै कम गाडी छुट्दा पनि राजस्व यति उच्च दरमा बढ्नुले केही कुराको संकेत पक्कै गरेको छ,’ मैनालीले भने, ‘हामी राजस्व अनुसन्धानलाई जति विश्वसनीयता र पारदर्शी तथा कडा बनाउँदैछौं, त्यसको असर भन्सार राजस्वमा पर्न सुरु गरेको छ ।’

उनले पछिल्लो समयमा मिलेमतोमा राजस्व छल्ने कसैलाई पनि नछाड्ने नीतिका साथ विभाग अघि बढेको छ । सोमबार दर्ता भएको मुद्दामा चालकलाई पनि ७ करोड ५९ लाखकै बिगो मागदाबी गरिएको  छ ।

‘हामी यो वर्षमात्रै राजस्व छलीमा सघाउ पुर्‍याउने १० राष्ट्रसेबकविरुद्ध अदालतमा मुद्दा लिएर गएका छौं,’ उनले भने,’राजस्व छलीमा संलग्न जोसुकै विरुद्ध पनि हामी कठोर भएका छौं । यसले पक्कै पनि बदमासीलाई केही हदसम्म निरुत्साहित गर्नेछ ।’

यसवर्षबाट प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको राजस्व अनुसन्धान विभागले साउन महिना यता राजस्व चुहावट गर्ने ४२ फर्म विरुद्ध मुद्दा दर्ता गरिसकेको छ । यसमा संलग्न ७७ जनालाई ५ अर्ब ७७ करोड १७ लाख रुपैयाँ विगो तथा जरिवना भराउन माग विभाग गर्दै जिल्ला अदालतमा गएको हो ।

यो पनि पढ्नुहोस भन्सारमा कडाइः लाइभ मनिटरिङ र नयाँ सूचना मूल्यसूचीको ‘अस्त्र’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment