Comments Add Comment

आदित्यनाथको सुरक्षार्थ जनकपुरमा चार हजार सुरक्षाकर्मी खटिने

२४ मंसिर, सप्तरी । रामजानकी विवाह महोत्सवमा सहभागी हुन आउन लागेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी खटिने भएका छन् ।

धेरै संख्यामा सुरक्षाकर्मी खटिने भएका कारण अन्य प्रदेशबाटसमेत सुरक्षाकर्मी ल्याउने तयारी भएको छ । ‘रामजानकी विवाह महोत्सवका लागि चार हजार जति सुरक्षाकर्मी खटिने भएका छन्,’ प्रदेशका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले अनलाइन खबरसँग भने, ‘प्रदेश अन्तर्गतका आठ जिल्लाबाहेक प्रदेश नम्बर १ र ३ बाटसमेत सुरक्षाकर्मी आउने भएका छन् ।’

रामजानकी विवाह महोत्सवका लागि तीन हजारको संख्यामा नेपाल प्रहरी नै खटिनेछन् । यसमध्ये प्रदेश नम्बर २ को प्रत्येक जिल्लाबाट गरी एक हजार नेपाल प्रहरी खटिनेछन् ।

प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार प्रदेशका जिल्लाहरुबाट सय जनासम्म प्रहरीलाई जनकपुर बोलाइएको छ । प्रत्येक जिल्लाका प्रहरी नायव निरीक्षक -डीएसपी)को नेतृत्वमा सयजना प्रहरीलाई बोलाइएको छ ।

‘एक हजार प्रदेशभित्रकै प्रहरी हुनेछन्’ प्रदेश प्रहरी प्रमुख पालले भने, ‘बाँकी दुई हजार प्रदेश १ र ३ बाट बोलाइएको छ । भरतपुर तालिम केन्द्रबाट पनि आउनेछन् ।’ यसबाहेक एक हजारको हाराहारीमा सशस्त्र प्रहरीलाई परिचालन गरिने उनले जानकारी दिए । सादा पोशाकका सुरक्षाकर्मीसमेत परिचालन गरिने डीआईजी पालले बताए ।

प्रदेशभरिका ट्राफिकलाई जनकपुर केन्दि्रत गरिने

रामजानकी विवाह महोत्सवका लागि जनकपुरमा अहिलेदेखि नै व्यक्तिको चाप बढ्न थालेको छ । प्रत्येक वर्ष विवाह पञ्चमीका दिन जनकपुरमा अत्यधिक भीड लाग्ने गर्दछ ।

यसपटक भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आउन थालेपछि अहिलेदेखि नै भारतीय नागरिकहरु जनकपुरमा आउन सुरु गरेका छन् ।

स्वदेशी आन्तरिक पर्यटकदेखि भारतका विभिन्न राज्य र अन्य देशबाट व्यक्ति जनकपुर आउन थालेपछि अहिले नै जनकपुरमा अत्यधिक चाप बढेको छ । ‘चापलाई अहिलेदेखि नै न्यूनिकरण गर्न ट्राफिक प्रहरी परिचालन गरिएको छ,’ डीआईजी पालले भने, ‘विवाह पञ्चमीका दिन प्रदेश ट्राफिक इन्चार्ज एसपीकै नेतृत्वमा ट्राफिक प्रहरी परिचालन गरिनेछ ।’

उनले प्रदेशका सबै जिल्लाका ट्राफिक प्रहरीलाई जनकपुर केन्दि्रत गरी ट्राफिक चाप हटाइने जानकारी दिए ।

यी हुन् सवारीसाधन गुडाउन नपाइने रुट

प्रहरीले विवाह पञ्चमीका दिन जनकपुरका बिभिन्न ठाउँमा साना सवारीसाधनलाई समेत चल्न निषेध गर्ने गरी रुट बनाएको छ । उक्त दिन साइकल र मोटरसाइकलसमेत बजार क्षेत्रभन्दा बाहिरै पार्किङ् गर्नुपर्ने छ ।

जनकपुर विमानस्थलदेखि जानकी मन्दिर, जानकी मन्दिरदेखि मुख्यमन्त्रीको सचिवालय रहेको मधेश भवन, मधेश भवनदेखि बाह्रबिघा मैदान र यो मैदानदेखि विमानस्थलसम्मको रुटमा साना सबारीलाई पनि चल्न नदिइ सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

डीआईजी पालले यी रुटका ठाउँठाउँमा प्रहरी परिचालन गरी सवारीसाधनलाई प्रवेश गर्न नदिइने बताए ।

मुख्यमन्त्री योगी लखनउँबाट सिधै जनकपुर आउने

यसपटकको विवाह पञ्चमीका मुख्य आकर्षणको रुपमा रहेका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लखनउँबाट सिधै जनकपुर आउने भएका छन् ।

उनी आफ्नै विमानबाट सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहको छ । विमानस्थलबाट उनी सिधैं जानकी मन्दिरमा गई पूजापाठ गरेर मुख्य मन्त्रीको सचिवालय भवनमा आयोजना गरिएको दिवा भोजमा सरिक हुनेछन् ।

यसपछि उनी बाह्रबिघा मैदानमा आयोजना हुने स्वयम्बरमा सहभागी भइ विमानस्थल पुगेर लखनउँ फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment