Comments Add Comment

मन्त्रीले पत्रकारलाई सोधे- सक्कली अपराधी कहाँ छन् ? देखाइदिनुपर्‍यो !

२४ मंसिर, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटा कुनै पनि कार्यक्रममा पुगे भने पत्रकारलाई आलोचना गर्न थालिहाल्छन् । मन्त्री बास्कोटाले सोमबार पनि पत्रकारलाई राम्रैसँग सम्झाए । उनले यो पनि भने- लडाइँ त बाँकी छ यो देशमा !

कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्याराको खोजी प्रकरणमा प्रहरीले समातेका व्यक्तिलाई मिडियाले ‘नक्कली अपराधी समातियो’ भनेको गुनासो गर्दै मन्त्री बास्कोटाले आक्रोश पोखे । उनले निर्मला पन्तको नाम त लिएनन्, तर संकेतचाहिँ सोही प्रकरणतर्फ गरेको बुझ्न गाह्रो थिएन ।

‘यहाँ त कस्तो अप्ठ्यारो भयो भने मान्छे समात्यो, यो पनि नक्कली हो भन्छन् । छानविनै गर्नै हुँदैन,’ मन्त्री बास्कोटाले भने, ‘सक्कलीचाहिँ को हो त उसोभए ? देखाइदिनुपर्‍यो नि त थाहा हुनेले !’

नक्कली अपराधी समातेको भनेर लेख्नेले सक्कली अपराधी देखाइदिनुपर्ने मन्त्री बास्कोटाले बताए । उनले थपे – ‘त्यसोभए सक्कली अपराधी कहाँ छन् ? त्यो लेखिदिनुपर्‍यो नि । कि सक्कली को हो भनेर उसैलाई समाउन त मिलेन होला । उसलाई लाग्यो लेखिदियो ।’

प्रेस काउन्सिल नेपालले काठमाडौंको गैरीधारामा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले भने- ‘जब सरकारले छानविन गर्दैछ, अनुसन्धान गर्दैछ, पत्ता लगाउने संकल्प छ भने मान्छे समात्दा फेरि अर्को नक्कली समात्यो भन्छ । हामी कुन मनोविज्ञान सिर्जना गर्दैछौं त भन्दा सरकारले जे गर्छ, त्यो सबै नक्कली हो, अरुले जे गर्छन्, त्यो मात्रै सक्कली हो ।’

मिडियामा आउने समाचारप्रति थप खनिँदै मन्त्री बास्कोटाले भने-‘भ्रष्टाचारीलाई समात्यो भने भ्रष्टाचार बढ्यो भन्नुहुन्छ, भ्रष्टाचारीलाई नसमातेर भित्रभित्रै भ्रष्टाचार भइरह्यो भने चाहिँ के त भ्रष्टाचार सामसुम भो ?’

प्रहरीले गर्ने काम पत्रकारले गर्न थालेको आरोप लगाउँदै उनले अगाडि भने- ‘पत्रकारहरु यहाँ त छापा हान्न पनि आफैं गइदिन्छन् । छापा हान्ने काम पत्रकारको होइन, लेख्ने काम हो । छापा हान्ने त पुलिसको काम होला नि त । सूचना दिनू, भएन भने फेरि लेख्नू, फेरि लेख्नू ।’

सरकारको कमजोरी छ भने देखाइदिए हुन्छ भन्दै मन्त्री बास्कोटाले अगाडि थपे- ‘सरकार इतिहासकै पहिलोपल्ट स्थिर बनेको छ, सके राम्रो गर्ने हो, नसके पनि नराम्रो नगर्ने हो ।’

केपी ओलीले घोषणा गरेको तुइन विस्थापन सम्बन्धी विषयको समाचारमा पनि मन्त्री बास्बोटाको गुनासो रहेछ, मिडियासँग । उनले भने- ‘तुईन कतिवटा विस्थापित भए ? ६ वटा जति राख्नै सकिएन । किन विस्थापन गरेन ६ वटा भनेर समाचार आउँछ । पोलिटिकल नेतृत्वलाई टेक्निकल कुरा थाहा हुँदैन । तर, बनाउने भनेको ६ वटा किन बनेन भनेर आँखा टट्टाउने गरी मिसनका रुपमा त्यही देखाइयो । यसमा मात्रै हाम्रो गुनासो हो ।’

लडाइँ त बाँकी छ यो देशमा !

पत्रकारले लेख्ने समाचारका विषयवस्तुमाथि आक्रोश पोखिसकेपछि मन्त्री बास्कोटा पत्रकारको पारिश्रमिक र मिडिया हाउसले पाउने सरकारी विज्ञापनतर्फ लागे ।

सरकारले पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजारबाट २५ हजार पुर्‍याएको बताउँदै मन्त्री बास्कोटाले भने- ‘पत्रकार महासंघसँग पनि मेरो गुनासो छ, पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशत बढाउने निर्णय त सरकारले गर्‍यो नि । उहाँहरु पुगेन भनेर चाहिँ वक्तव्य निकाल्नुहुन्छ, लागू गराउन साथ सहयोग छैन ।’

सञ्चार मन्त्रालयले काम गरिरहेको बताउँदै बास्कोटाले अब समानुपातिक विज्ञापनसम्बन्धी नीति आगामी संसदबाट लागू हुने बताए । निजी क्षेत्रको विज्ञापनमा जसको शक्ति, उसको भक्ति हुने भए पनि सरकारी विज्ञापन समानुपातिक रुपमा वितरण गरिने उनले प्रतिवद्धता जनाए ।

मन्त्री बास्कोटाले मिडिया हाउसका सञ्चालकलाई संकेत गर्दै भने- ‘पत्रकारको न्यूनतम पारिश्रमिक २४ हजार खाजा भत्ता, ट्याक्सी भाडा के के जोडेर हैन, सीधा २४ हजार तलब दिनुपर्‍यो, त्यसपछि ट्याक्सी भाडा के हो, त्यसमा जानुपर्‍यो ।’

सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक लागू हुनैपर्ने जिकिर गर्दै मन्त्री बास्कोटाले भने, ‘यो घोषणाको निम्ति घोषणा गरिएको हैन, यो कार्यान्वयनमा जान्छ । अब लडाइँ बाँकी छ भन्नुहुन्छ, लडाइँ त बाँकी छ यो देशमा ! न्यूनतम पारिश्रमिक लागू गर्न मान्दिनँ भन्नु भो नि केही साथीहरुले । योचाहिँ कानूनको उल्लंघन हो कि हैन ?’

तर, पत्रकारको तलब बढ्दा पनि आलोचना खेप्नुपरेको गुनासो गर्दै उनले अगाडि भने- ‘पत्रकार साथीहरुको तलब तीन वर्षदेखि बढेको थिएन । बढाउँदाखेरि मान्दिनँ भन्नुहुन्छ । अनि कार्यान्वयन भएन भनेर पनि फेरि आलोचना गर्नुहुन्छ ।’

जनताले आलोचना गर्दा रिसाउने गरेको बरिष्ठ पत्रकार भैरब रिसालको गुनासोतर्फ इंगित गर्दै मन्त्री बास्कोटाले भने, ‘सरकार रिसाएको हैन, सत्य सम्झाएको मात्रै हो ।’

मन्त्री बास्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको दाबी समेत गर्न छुटाएनन् । उनले भने- ‘हामी प्रेस स्वतन्त्रताका लागि लडेका छौं । आज मानवअधिकार दिवस पनि हो । हामी प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छौं ।’

मन्त्री बास्कोटा सोमबार अपरान्ह नेपाल प्रेस काउन्सिल नेपालले आयोजना गरेको प्रेस काउन्सिल-सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment