Comments Add Comment

विद्यार्थीको भविष्यसँग त्रिविको खेलबाड, फन्ड बोर्ड खारेजीपछि ७ सय आयोजना अलपत्र

२५ मंसिर, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले औपचारिक समाचारसँगै खोजमूलक सामग्रीलाई पनि प्राथमिकताका साथ समेटेका छन् ।

विभिन्न सरकारी अड्डाहरुको सेवाप्रवाहबारे स्थलतगत रिपोर्टिङ गर्दै आएको अन्नपूर्णले आज त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको  बेथितिबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार,  यो कार्यालयको सेवाप्रवाह  निकै कमजोर छ । यहाँका कर्मचारीले विभिन्न बहाना बनाएर विद्यार्थीलाई दुःख दिने मात्रै होइन, विद्यार्थीको भविष्यसँग पनि उत्तिकै खेलबाड गर्ने गरेको अन्नपूर्णको समाचार सार छ ।

बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन ३ पत्नीसँग सम्बन्धविच्छेद गरेको अर्को रोचक खबर पनि अन्नपूर्णमा छ ।

अन्नपूर्ण लेख्छ– देशभरि महिला हिंसाविरुद्धको १६ दिने अभियान चलेकै दिन ९ मंसिरमा खाँले तीन पत्नीलाई तलाक दिएका हुन् ।

दुई पत्नी हुँदाहुँदै अर्को विवाह गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बहुविवाह उजुरीमा थुनिएका खाँले थुनामुक्त हुनासाथ तीनै पत्नीसँग सम्बन्धविच्छेद गरेको समाचारमा उल्लेख छ ।

कान्तिपुरको आँखा ऐतिहासिक तिलौराकोटमाथि परेको छ ।

तिलौराकोट सिद्धार्थ गौतमले २९ वर्ष बिताएको स्थान हो । कान्तिपुरका अनुसार, ऐतिहासिक थलो भए पनि तिलौराकोटको संरक्षणमा सरोकारवालाको ध्यान पुगेको छैन । दरबारको भग्नावशेष झाडीले छोपिएको छ ।

समस्या सुल्झाउन अन्तरप्रदेश पपिरषद् बैठकले कार्यदल गठन गरेको समाचारलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा नै समेटेको छ । कर छली अभियोगमा ४२ फर्ममाथि मुद्दा दायर भएकोलाई पनि कान्तिपुरले छापेको छ ।

निर्मला पन्त हत्या र प्रहरीको वयानमाथि नयाँ पत्रिका दैनिक केन्द्रित भएको छ । पछिल्लोपटक प्रहरीले २ जना पक्राउ गरे पनि उसले यसमाथि संशय व्यक्त गरेको छ ।

अपराध अनुसन्धान परिणामुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झनै जेलिँदै गएको नयाँ पत्रिका समाचारको सार छ ।

नयाँ पत्रिका लेख्छ– वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । पछिल्लोपटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाइमा पनि धेरैको अविश्वास छ ।

करिब १ वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएको अर्को समाचार पनि नयाँ पत्रिकामा छ ।

समाचार अनुसार दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु नेपाल फर्केका छन् । केही अझै हाइटीमा अलपत्र छन् ।

नागरिक दैनिकको पहिलो पृष्ठमा खासै नयाँ समाचार छैन । सांसदहरुले आईजीपीको आलोचना गरेको, प्रदेश सरकारले मिडियालाई अंकुश लगाएको लगायत समाचारले यसको पहिलो पृष्ठ भरिएको छ ।

राजधानीले कर्मचारी समायोजन प्रक्रिया सुरु भएको लेखेको छ । समाचार अनुसार १ लाखको विवरण सार्वजनिक गरिँदै छ ।

‘गाउँको सिंहरबारमा कुचिकार नेता’ शीर्षक दिएर राजधानीले बाजुराको बडिमालिका नगरपालिका–७ का वडाध्यक्षबारे समाचार लेखेको छ ।  समाचार अनुसार, कर्मचारी अभावमा वडाध्यक्ष धर्मराज पाध्यायले आफैं कार्यालय सफा गर्ने गरेका छन् ।

गोरखापत्रमा जुम्ला जान १ सय ५० विशेषज्ञ चिकित्सकले निवेदन दिएको खबर छ । कारोबारले फन्ड बोर्ड खारेजीपछि ७ सय आयोजना अलपत्र परेको लेखेको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड) खारेज गरेर विकल्प नदिँदा निर्माणाधीन ७ सय खानेपानी तथा सरसफाइ आयोजना अलपत्र परेको हो ।

मुख्यमन्त्रीका आक्रोस साम्य भएको खबर पनि कारोबारमा छ । सोमबार सम्पन्न पहिलो अन्तरप्रदेश परिषद् बैठकपछि संघीय सरकारविरुद्ध तिक्ततापूर्ण अभिव्यक्ति दिँदै आएका मुख्यमन्त्रीको आक्रोस साम्य भएको कारोबारको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment