Comments Add Comment

रोल्पाका एक मात्र पाइलटः जसको सपना तरकारी खेतीले पूरा भयो

२५ मङ्सिर, रोल्पा । घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अब्बल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे ।

साथीभाइ कोही डाक्टर, कोही इञ्जिनीयर, कोही वकिल, कोही शिक्षक बन्ने कुरा गर्थे तर उनी भने पाइलट बन्ने सपना बुनें । कतिपय साथीले उनको कुरा सुनेर खिल्ली उडाउँथे । जसले जस्तो व्यवहार गरे पनि उनी विचलित भएनन् । निरन्तर आफ्नो लक्ष्य चुम्न कडा मेहेनत गरिरहें ।

उनी हुन्, शिव डाँगी । रोल्पाकै पहिलो पाइलट । रोल्पा नगरपालिका–२ थलिवाङमा बुबा प्रेमबहादुर डाँगी र आमा शोभा डाँगीबाट २७ वर्षअघि जन्मिएका शिव डाँगी अचेल बुद्ध एयरको पाइलट बनेर नेपाली र भारतीय आकाशमा दिनहुँ जहाज उडाइरहन्छन् ।

कक्षा १० सम्म रोल्पाको तुलसी आवासीय माविमा अध्ययन गरेका उनले उच्च माविस्तरको पढाइ भने काठमाडौबाट पूरा गरे ।

फिलिपिन्सको मनिलामा सन् २०११ देखि फास्ट एडिएसन एकेडेमीमा पाइलट कोर्ष सुरु गरेका उनले त्यसअघि पनि सोही स्थानमा रहेको एक विद्यालयमा अध्ययन आरम्भ गरेका थिए ।

झण्डै ३२ लाख खर्च गरेका उनले सो विद्यालय नै बन्द भएपछि केही समय पढाइ रोक्न बाध्य भए । लक्ष्य चुम्ने धोकोका कारण उनी फेरि पाइलट पढाउने अर्को कलेजको खोजी गर्दै जाँदा फास्ट एडिएसन एकेडेमीमा पुगे जहाँबाट उनले पाइलट कोर्ष पूरा गरे ।

फिलिपिन्समा लगातार आठ वर्ष अध्ययन गरेका उनले पढाइ सकेर त्यही जहाज चलाउन शुरु गरे । मातृभूमिको सेवा गर्ने सोचले गत कात्तिकमा नेपाल आएका उनले त्यसयता बुद्ध एयरको जहाज चलाइरहेका छन् ।

नेपाल तथा भारतका विभिन्न भागमा जहाज चलाउने गरेका उनले लक्ष्य लिएर अगाडि बढे असफल भइँदैन भन्ने पाठ सिकेको बताए ।

नेपाली सेनाबाट निवृत्त बुबा प्रेमबहादुर डाँगीको पेन्सनबाट प्राप्त हुने मासिक १६ हजारले घर खर्च ठिक्क हुन्थ्यो । कक्षा १२ सम्मको अध्ययन छात्रवृत्तिमा गरे पनि फिलिपिन्सको पढाइमा धेरै खर्च लागेको उनको परिवारले जनाएको छ ।

आमाले रातदिन पसिना बगाएर तरकारी बिक्री गर्थिन् । ‘मासिक ५० हजार बढी तरकारीबाट आम्दानी हुन्थ्यो । छोरा पढाउने आधार नै तरकारी खेती हो,’  शिवको आमा शोभाले भनिन् ।

‘छोरो पढाइमा निकै तेज थियो । कुनै कक्षामा पनि दोस्रो भएन,’ शोभाले अघि भनिन्, ‘सुरु सुरुमा छिमेकीले छोरा पाइलट बन्ने कुरामा खिसीट्युउरी गर्थे । तरकारी बिक्री गरेको पैसाका साथै जग्गासमेत बिक्री गरेर छोरालाई पाइलट बनाएरै छाडें ।’

बैंकबाट ऋण लिएको बाँकी पैसा अहिले छोराले तिरिसकेको उनले बताइन् । पुरै कोर्ष पूरा गर्दा  एक करोड जति खर्च लागेको शोभाको भनाइ छ ।

कान्छो छोरा कृष्ण डाँगीले समेत काठमाडाैंमा इञ्जिनीयर पढिरहेका छन् । एक छोरा पाइलट र अर्को छोरा इञ्जिनीयर पढाउने मुख्य आधार तरकारी खेती भएको शोभाको भनाइ छ । तरकारी खेतीबाटै छोरालाई पाइलट, इञ्जिनियर बनाउन सकेकोमा गर्व लागेको शोभाले बताइन् ।

रोल्पा जस्तो दुर्गम जिल्लामा अध्ययन गरेका शिव अहिले रोल्पाकै पहिलो पाइलट बनेर आकाशमा उडिरहेका छन् । मध्यमवर्गीय परिवारमा जन्मेका शिवको सानैदेखि लिएको अविचलित लक्ष्यका कारण सफल भएका छन् ।

आम्दानीको कुनै भरपर्दो स्रोत नभएको उनको परिवारले तरकारी खेतीबाट आएको आम्दानीबाटै उनलाई पाइलट बनाउन सफल भयो । अहिले शिव डाँगी रोल्पाका एक मात्र पाइलट भनेर हाइहाई भएका छन् । उनलाई पढाउने विद्यालय तुलसी आवासीय माविलेसमेत शिव डाँगीको नाम बारम्वार लिने गर्दछ ।

दश वर्षे सशस्त्र युद्धबाट देशमै सबभन्दा बढी प्रभावित रोल्पाका अधिकांश युवा पढ्दापढ्दै रोजगारीका लागि खाडी मुलुक जान बाध्य छन् । पढेर देशमै स्वरोजगार बन्ने थोरै युवाको पङ्क्तिमा उभिन सफल भएका छन् शिव डाँगी ।

जिल्लामा झण्डै ४५ हजार युवा खाडी मुलुकमा रहेको बताइन्छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार दैनिक १६ जना युवाले विदेश जान राहादानी लिने गर्दछन् । दुई लाख २४ हजार ५०६ जनसङ्ख्या रहेको रोल्पामा जनजातिको बाहुल्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment