Comments Add Comment

गसिपले दिक्दार मलिनालाई फिल्म इन्डष्ट्रीसितै बैराग्य

नायिका मलिना जोशीले आधा दर्जन फिल्ममा अभिनय गरिसकिन् । तर, अझै उनलाई पूर्वमिस नेपाल भनेर नै धेरैले चिन्छन् । पढेलेखेकी, राम्री र जिउडाल मिलेकी भएर पनि उनी फिल्म उद्योगमा जम्न सकिरहेकी छैनन् ।

एमबीएको अध्ययन पूरा गरेपछि मलिनालाई परिवारले बैंकमा जागिर खान सल्लाह दिएका थिए । छोरीले एउटा राम्रो जागिर खाएर बिहे गरेर सेटल भएको हेर्न चाहन्थे बाबुआमा । तर, मलिनाले आफ्नो बाल्यकालदेखिको सपनालाई पछ्याइन् ।

‘मिस नेपाल बन्ने मेरो बाल्यकालदेखिकै सपना थियो, त्यसैले बिहे गर्नुअगाडि नै किन आफ्नो सपना पूरा गर्न ट्राई नगर्ने भनेर मिस नेपालमा भाग लिएँ,’ उनी सुनाउँछिन् ।

मलिनाले मिस नेपालको टाइटल नै जितिन् । परिवार पनि यसमा खुसी भए । तर, फेरि पनि उनीहरु चाहन्थे कि मलिनाले राम्रो जागिर खाएर बिहे गरेर सेटल होउन् ।

तर, मिस नेपाल भएसँगै मलिनालाई मनोरञ्जन उद्योगले पछ्याउन थालिहाल्यो । उनलाई मोडलिङदेखि फिल्मसम्मका अफर आए । उनी यसमा तानिँदै गइन् । केही म्युजिक भिडियो, विज्ञापनहरु खेलिन् । र, पहिलोपटक फिल्म ‘ऋतु’मा नायिका बनिन् ।

फिल्म राम्रो हुँदाहुँदै पनि चल्न सकेन । मलिनाले आफ्नोतर्फबाट कुनै कसर छोडेकी थिइनन् । तर, दर्शकहरु हेर्न नआएपछि के लाग्यो । पहिलो फिल्ममा उनले सफलताको स्वाद चाख्न सकिनन् । यद्यपि, उनलाई अफरहरु भने आई नै रहे ।

मलिनाले अहिलेसम्म ६ वटा फिल्ममा अभिनय गरेकी छन् । तर, कुनै पनि फिल्म सोचेजस्तो भएन । खासगरी व्यवसायिकरुपमा । अब भने निकै सोचेर मात्रै फिल्म साइन गर्ने उनी बताउँछिन् । त्यसो त उनलाई फिल्म इन्डष्ट्रीप्रति नै वैराग्य उत्पन्न भइरहेको छ ।

‘फिल्ममा प्रवेश गर्दा मैले जे अपेक्षा गरेकी थिएँ, भित्र त्यस्तो पाइनँ,’ उनले भनिन्, ‘हाम्रो इन्डष्ट्रीमा अझै पनि प्रोफेसनालिज्मको अभाव रहेछ ।’

बाहिर हिरो-हिरोइनलाई महँगो पारिश्रमिक दिइएको भनेर हल्ला चलाउने गरिए पनि यथार्थमा यस्तो नभएको मलिनाले बताइन् ।

‘एक त पारिश्रमिक बाहिर चर्चा भए जति पाइँदैन र अर्को, सम्झौता पारिश्रमिक लिन पनि पटक-पटक ताकेता गर्नुपर्दो रहेछ,’ उनले भनिन्, ‘मलाई त सत्यता चाहिन्छ ।’

आफूले राम्रा फिल्महरु गरेको भए पनि उचित पब्लिसिटी नहुँदा व्यवसायिकरुपमा सफल हुन नसकेको उनको तर्क छ ।

उनी भन्छिन्, ‘अहिले पब्लिसिटीबिना केही पनि चल्दैन । जति राम्रो फिल्म बनाए पनि पब्लिसिटी भएन भने दर्शक हेर्न आउँदैनन् । त्यसैले राम्रो पब्लिसिटी गर्न नसक्नेले फिल्म नै नबनाउँदा हुन्छ, किनकि, यसले कलाकारहरुको करिअर बर्बाद पारिदिन सक्छ ।’

नेपालमा अहिले दुई-चार ब्यानरहरुले मात्रै राम्ररी फिल्मको पब्लिसिटी गर्ने गरेको र उनीहरु नै सफल भएको मलिना बताउँछिन् ।

मलिनाको परिवारले अहिलेसम्म पनि यो फिल्डमा लागेको मन पराइरहेका छैनन् । ‘तर, मैले चाहेर पनि आफूलाई फिल्म इन्डष्ट्रीबाट झिक्न सकिरहेकी छैन ।’

एमबीए पढे पनि कहिल्यै बैंकर वा व्यवसायी बन्नेतिर अग्रसर नभएकी मलिना अहिले भने अलि बेचैन बन्न थालेकी छन् । फिल्ममै अझै प्रयास गर्ने कि फरक बाटो रोज्ने भन्ने दोधार भइरहेको छ उनलाई ।

उनको गुनासो मिडियासँग पनि छ । आफ्नो व्यक्तिगत जीवनका विषयमा मिडियामा आउने ‘अफवाह’हरुले उनलाई पिरोल्ने गरेको रहेछ ।

‘मेरो फलानोसँग सम्बन्ध र ढिस्कानोसँग अफेयर भनेर समाचारहरु आएको देख्दा हाँसो पनि उठ्छ रिस पनि उठ्छ,’ उनले भनिन्, ‘म त मिडियाले बढाइचढाई लेख्छन् भनेर चित्त बुझाउँछु, तर परिवारलाई सम्झाउन गाह्रो पर्छ ।’

मलिनाले अगाडि थपिन्, ‘इन्टरभ्यू लिँदा पनि खाली रिलेसनसिपकै बारेमा सोध्छन्, अरु प्रश्न नै नभए जस्तो । मलाई त आजकाल इन्टरभ्यू दिनै झ्याउ लाग्छ ।’

मलिना केही वर्षपछि बिहे गर्ने मनसायमा छिन् । तर, केटा छान्न बाँकी रहेको बताउँछिन् । लभ म्यारिज गर्नुहुन्छ कि एरेन्ज म्यारिज भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘एरेन्ज म्यारिज गर्ने, तर केटा म आफैं खोज्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment