Comments Add Comment

प्याकेजिङमा यसरी ठगिँदै छन् उपभोक्ता

२५ मंसिर, काठमाडौं । बजारमा अरु उत्पादनहरुसँग मिल्ने खालकै एक किलोकै प्याकेट, तर, भित्र समान भने ९५० ग्राम मात्रै, मूल्य भने एक किलो बराबरकै । उपभोक्तालाई भने किलो नै किनेजस्तो तर, ठगिएको पत्तो पाउने कुनै भएन ।

पछिल्लो समयमा यसैगरी ब्यापारी तथा उद्योगीले ठग्नका लागि कानुनभित्रै रहेर यस्तो चलाखी बढाएका छन् । ‘अल्टर’ तौल राखेर बेच्ने र सानो अक्षरमा बास्तवक तौल उल्लेख गरेर उपभोक्तालाई झुक्याउने क्रम बढेको छ ।

यसैकारण सरकारले अब छुट्टैै प्याकेजिङ नियमावली ल्याउने भएको छ । उद्योगी व्यवसायीले प्याकेजिङमा जथाभावी गर्न थालेपछि सरकारले प्याकेजिङलाई पनि नियमभित्र ल्याउन लागेको हो ।

पछिल्लो समयममा उत्पादनहरु प्याकेजिङ गर्दा जथाभावी तवरले गर्ने र मूल्य गोलमटोल गरेर उपभोक्ता ठग्ने क्रम बढेको छ । जस्तै तेलहरु पनि ०.४५ लिटरमा आउन थालेका छन् । तर, उपभोक्ताले भने त्यसलाई ०.५ लिटर (आधा लिटर)कै सम्झेर किनिरहेका छन् ।

ब्यापारीहरुले प्याकेजिङमा बठ्याँइ गरेर उपभोक्ताको मनोविज्ञानसँग खेल्ने गरी ठगी तीव्र बनाएका छन् । यसैलाई नियन्त्रण गर्न भन्दै नापतौल तथा थगुणस्तर विभागले छुट्टै प्याकिङ सम्बन्धी नियमावली ल्याउन लागेको हो ।

‘प्याकेट दुई किलो अट्ने खालको राख्छन्, तर समान १ किलो ९ सय ग्राम मात्रै राखिदिन्छन् । प्याकेटमा १ किलो ९ सय ग्राम तौल नै उल्लेख गर्छन्’ विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले भने,’हेर्दा त ठगेको जस्तो लाग्दैन । तर, मूल्य भने एक किलोकै राखिदिन थाले । यसले गर्दा उपभोक्ताले ठगिए । उनीहरुले थाहा पाएनन्, बजारमा प्रतिस्पर्धा पनि अस्वस्थ तवरले हुन थाल्यो ।’

उनकाअनुसार अब प्याकेजिङका लागि निश्चित मापदण्डहरु तोकिने छन् । उत्पादन हुने समानहरु प्याक गर्दा ‘अल्टर’ तौलमा राख्न नपाइने स्पष्ट नियम बनाइने छ । यस्तै प्याकेजिङ गर्दा हुने बदमासीलाई कारवाहीको दायरामा ल्याउने गरी कानुनी प्रवन्धनहरु गरिनेछ । उपभोक्तालाई झुक्याउने नियतका साथ प्याकेजिङ गर्नेहरु माथि कारवाही गर्ने गरी सजायका व्यवस्था गर्ने योजना छ ।

महानिर्देशक पुडासैनीका अनुसार प्याकेजिङलाई नियमन नगर्ने हो भने उपभोक्ता नराम्रोसँग ठगिने अवस्था आएपछि नै यसका लागि गृहकार्य थालिएको हो । प्याकेजिङ गरिएका समानको गुणस्तर, तौल र मूल्यलाई बजार र उपभोक्ता अनुकुल बनाउने गरी यस्तो नियमावली ल्याउन लागिएको हो ।

पछिल्लो समयममा प्याक गरिएका वस्तुहरुको तौलमा पटक-पटक प्रश्न उठ्ने गरेको छ । जसले गर्दा व्यापारी तथा उद्योगीले सानो अक्षरमा प्याकमा बास्तविक तौल उल्लेख गरिदिने र उपभोक्तालाई भने ठूलो परिमाणको जस्तो मनोविज्ञान सिर्जना गर्ने काम तीव्र रुपमा बढेको छ ।

तौलमा चलाखी गरेर मूल्य पुरनै कायम राख्ने प्रचलनले थाहा नै नपाई उपभोक्ता ठगिने क्रम बढेपछि सरकारले प्याकेजिङलाई पनि मापदण्डभित्र ल्याउन लागेको हो ।

अहिले प्याकेजिङमा तौल, उत्पादन मिति, उत्पादक कम्पनी, म्याद सकिने मिति लगायत उल्लेख गर्नुपर्ने नियम छ । त्यही नियम भित्रै रहेर ब्यापारीले उपभोक्ता ठग्ने गरी चलखेल बढाएपछि प्याकेजिङलाई नै व्यवस्थित गर्ने गरी कानुन ल्याउन लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment