Comments Add Comment

सन्दीप लामिछाने मेलबर्नमा हुने नेपाली परेडमा सहभागी हुने

मेलबर्न / चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछाने सोमबार भिक्टोरिया आइपुगेका छन् । डिसेम्बर १९ देखि अस्ट्रेलियामा सुरु हुने बिग बास लिग खेल्न आएका सन्दीप लामिछाने मेलबर्नमा आगामी शनिबार १५ डिसेम्बरमा हुने नेपाल फेस्टिवलको परेडमा सहभागी हुने आयोजकहरुले बताएका छन् ।

भिक्टोरियामा नेपाली क्रिकेट खेललाई प्रबर्दनसमेत गरिरहेका युबा तारा गैरे लगायतको टिमले सोमबार उनलाई मेलबर्न बिमानस्थलमा स्वागत् गरेको हो ।

बिगतको भन्दा अझै सिजनशील ढंगबाट तयारी भैरहेको मेलबर्न नेपाल फेस्टिवलको  सन्दीप लामिछाने एक आकर्षण हुनेछन । नेपाल फेस्टिबल मेलबर्नका सह-संयोजक तारा गैरेले अनलाइनखबरसंग भने – अस्ट्रेलियाबाट अन्तर्रास्ट्रिय छबी बनाएका नेपालका क्रिकेटर सन्दीप लामिछानेलार्इ स्वागत गर्न पाउँदा हामी निकै खुशी छौ ।

सांस्कृतिक परेडको संयोजनको मुख्य जिम्मेवारीसमेत पाएका गैरेले शनिबार बिहान हुने परेड नेपालका धेरै भेषभुषाको हुने र हजारौ सहभागी हुने बताए ।

अघिल्लो हप्ता देखिनै नेपाल फेस्टिवलको तयारी तथा प्रचार प्रसार भिक्टोरियामा व्यापकरुपमा भएको छ । मेलबर्नका प्रतिष्ठित नेपाली ब्यक्तित्वोहरु , स्थापित ब्यवसायीहरु, विभिन्न सामाजिक सस्थाहरु र सर्बसाधारण सबै प्रचारमा खटेका छन् ।

क्रिकेटमा अगाडि बढ्दै गएको मेलबर्नको नेपाली समाजले नेपाल फेस्टिबलको दिन १५ डिसेम्बर बिहान एउटा महत्वोपूर्ण खेल पनि खेल्दैछ । यहाँ जारी मेलबर्न स्टार्स वुमन लिगको फाइनल नेपाल र श्रीलंका बीच हुँदैछ ।

फाइनल खेलेर केही नेपाली महिला खेलाडी नेपाल फेस्टिवलमा सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् । उता डिसेम्बर १६ मा सन्दीप लामिछाने अनुबन्धित मेलबर्न स्टार्सले फेमिली डे मनाउँदै छ, जहाँ नेपाली समुदायबाट दुर्इवटा सांस्स्कृतिक प्रस्तुति गर्ने योजना रहेको नेपलिज असोसिअसन अफ भिक्टोरियाका अध्यक्षसमेत रहेका तारा गैरेले बताए ।

उनले भने – सन्दीप लामिछानेलार्इ तपाई समाजमा वा खेल मैदानमा जहाँ भए पनि हामी नेपाली  संगै छौ भन्नका लागि हामी मेलबर्न स्टारको पारिवारिक जमघटमा पनि सहभागी हुँदै छौ ।

सन्दीपको समय मिलेमा मेलबर्नमा भएका नेपाली क्रिकेट प्रेमीहरु, महिला क्रिकेट टिम र बालबालिकाहरु संग एउटा कार्यशाला राख्ने सोचाइ रहेको गैरेले बताए ।

नेपाल फेस्टिबलमा सन्दीप लामिछानेको सहभागिता संगै उनको सहभागिता हुने खेल मैदानमा उनलाई हौसला दिन नेपाली क्रिकेट प्रेमीहरुको पनि ठलो सहभागिता हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment