Comments Add Comment

गाउँपालिका अध्यक्षले ठेक्का लिएको सडक : म्याद सकिने बेलामा आधामात्रै काम

२५ मंसिर, मोरङ । जनप्रतिनिधिको निर्माण कम्पनीले सडक निर्माणमा ढिलाइ गर्दा म्याद सकिने बेलामा आधामात्रै काम भएको छ ।

सुनसरीको कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारीको कम्पनीले ठेक्का लिएको विराटनगर–देवानगञ्ज सडक निर्माणमा ढिलासुस्ती भएको हो ।

विराटनगरस्थित सडक डिभिजन कार्यालयले १० करोड ८७ लाख रुपैयाँमा १३ किलोमिर सडक कालोपत्रेका लागि डाँफे–पुष्पाञ्जली जेभीले ठेक्का दिएको थियो । ठेकेदार कम्पनी पुष्पाञ्जलीका सञ्चालक कोशी गाउपालिका अध्यक्ष अन्सारी हुन् ।

२०७२–०७३ मा निर्माण सुरु भएको उक्त सडकको निर्माण अवधी शनिबार सकिदैछ । ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको ठेकेदारले निर्माण अवधी सकिनै लाग्दा ७ किलोमिटर मात्र सडक कालोपत्रे गरेको छ । अझै ६ किलोमिटर सडक निर्माणको काम बाँकी छ ।

सरकारले समयमा नै बजेट उपलब्ध नगराउदा काम सम्पन्न गर्न नसकेको अन्सारी बताउँछन् । ‘सात किलोमिटर कालोपत्रे गरेका छौं’ उनले भने ‘बाँकी क्षेत्रमा पनि काम भएको छ ।’ कालोपत्रे गर्न बाँकी रहेको सडकमा बेस मिलाउने काम गरिएको उनको भनाइ छ ।

६ महिना समय थप गरी सरकारले बजेट उपलब्ध गराए सबै काम सक्ने अन्सारीले बताए । ५ दशमलव ५ मिटर चौडाइ र ४० एमएम मोटाइको कालोपत्रे सडक निर्माणको ठेक्का दिए पनि काम गरेको रकम समयमा नै भुक्तानी नगरेको अन्सारीको गुनासो छ ।

सडक कार्यालय प्रमुख भन्छन् : बजेट आएन

सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख भूमराज न्यौपानेले चालु आर्थिक बर्षमा उक्त सडक निर्माणका लागि पर्याप्त बजेट नै नआएको बताए । चालु आर्थिक बर्षमा ६ करोड रुपैयाँ बजेट आवश्यक रहेको बताउदै उनले सरकारले १ करोडमात्रै दिएको जानकारी दिए ।

सडक निर्माणमा निर्माण कम्पनीले मात्र नभइ सरकारले पनि ढिलो गरेको उनको भनाई छ । मंसिरमा ठेक्का सम्झौताको समय सकिने बताउदै उनले ठेकेदारले बुझाउने प्रतिवेदनका आधारमा समय थप गर्ने वा नगर्ने निर्णय गरिने बताए । ठेकेदार कम्पनीलाई करिब ४ करोड रुपैयाँ भुक्तानी गरिसकेको न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment