Comments Add Comment

संवैधानिक परिषद तेस्रो पटक स्थगित, प्रधानन्यायाधीश छान्न सकस !

२५ मंसिर, काठमाडौं । संवैधानिक परिषदको मंगलबार साँझ बोलाइएको बैठक पनि स्थगित भएको छ । यससँगै प्रधानन्यायाधीश सिफारिस अझै पर धकेलिएको छ ।

यसअघि मंसिर १७ गते बसेको बैठक अनिर्णित भएपछि २२ गते बोलाइएको थियो । शनिबार परेको भन्दै आज मंगलबार बैठक राखिएको थियो तर, अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

प्रधानन्यायाधीशको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाबीच छलफल हुन बाँकी रहेकाले मंगलबारको संवैधानिक परिषदको बैठक स्थगित भएको स्रोतको भनाइ छ ।

प्रधान न्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नयाँको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेरका कारण पुस १७ गते अवकाश हुँदैछन् ।

संवैधानिक परिषद्को अर्को बैठक पुस ५ गते बोलाइएको छ । नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्रशमसेर जबरा र दीपकराज जोशीको नाम न्याय परिषदले परिषदमा पठाएको छ ।

जोशी यसअघि संसदीय सुनुवाई समितिबाट अस्वीकृत भइसकेकाले चोलेन्द्र प्रधानन्यायधाधीश सिफारिस हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment