Comments Add Comment

सेयर बजार ‘संकट’ : अर्थमन्त्री भन्छन्- दात आउँदा बच्चालाई ज्वरो आएजस्तो

२५ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचकांक लगातार खस्किएपछि यसले संसदीय समितिमा प्रवेश पाएको छ । तर, अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्रलाई ज्वरो आएको भन्दै खासै असर नपर्ने टिप्पणी गरेका छन् ।

पूर्व अर्थमन्त्रीहरुको बाक्लो उपस्थिति रहेको अर्थ समितिले मंगलबार अर्थमन्त्री युवराज खतिवडा, गभर्नर चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की, नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेललाई बोलाएको थियो ।

अर्थतन्त्रलाई ज्वरो आएको छ : खतिवडा

सबैको चासोको विषय भएको सेयर बजारमा अहिले देखिएको समस्या त्यति ठूलो नभएको भन्दै अर्थमन्त्री खतिवडाले आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको बताए ।

अहिले अर्थतन्त्रमा ज्वरो आएको भन्दै तर त्यो ज्वरो ठूलो रोग भने नभएको बताए । उनले भने, ‘हाम्रो अर्थतन्त्रमा थोरै ज्वरो आएको छ, तर यो ज्वरो बच्चाको दात आउने बेला आएको ज्वरो जस्तो हा । यसले नराम्रो होइन राम्रो गर्छ ।’

साथै सेयर बजारलाई लिएर कुनै पनि निर्णय गर्नुपूर्व विज्ञ समूह बनाएर छलफल गर्न सुझाएका छन् । सेयर बजारको विषयले संसदीय समितिमा प्रवेश पाइसकेकाले यस विषयमा गम्भिर र निष्पक्ष छलफल हुनुपर्ने उनको धारणा थियो ।

उनले भने, कुनै निर्णय हुनु पहिले धितोपत्र बजारसम्बन्धी विज्ञहरु राखेर छलफल गरिनु पर्छ ।’

पछिल्लो ३ वर्षको धितोपत्र बजारको समग्र मूल्यांकन गर्नुपर्ने उनको जोड छ । यसअवधिमा अस्वभाविक माथि गएको भए किन गयो र अस्वभाविक तल झरेको भए किन झर्‍यो भन्ने गहन छलफल हुनुपर्ने अर्थमन्त्री खतिवडाले बताए ।

समितिले बनाउने समूहमा रहने विज्ञहरु सबैलाई स्वीकार्य हुने र कुनै स्वार्थ नभएको हुनु पर्ने उनको शर्त छ । उनले यसबाट आएको सुझाव पालना गर्ने बचन पनि दिए ।

अर्थमन्त्री खतिवडाले केही लगानीकर्ता आत्तिएको भन्दै लगानी गर्नु पूर्व अध्ययन गर्न र कति समय रकम होल्ड गर्न सक्छु भन्ने बुझेर मात्रै लगानी गर्न सुझाव दिए ।

सुधार गर्न खोन्दा राजीनामा मागियो :  गभर्नर

बैठकमा गभर्नर डा. चिरञ्जिवी नेपालले सेयर बजारमा सुधार आवश्यक रहेको बताएका छन् । बजार घटवढले राष्ट्र बैंकलाई फरक नपर्ने भन्दै सेयर बजारका विषयमा गम्भिर हुन धितोपत्र बोर्ड र स्टक एक्सचेञ्जलाई आग्रह गरे ।

सेयर बजार ओरालो लाग्नुमा सरोकारवाला समेत जिम्मेवार रहेको भन्दै उनले भने, ‘सेयर बजारकै लगानीकर्ता र ब्रोकरहरुको पनि केही गुनासो सुनियो । बजार विस्तार भयो भन्ने हामी बर्वाद हुन्छौं भन्ने मानसिकता त्याग्नु पर्‍यो ।’

धितोपत्र बोर्डका पूर्वअध्यक्ष समेत रहेको नेपालले बजार सुधार्न खोज्दा आफूले धेरै आलोचना खेप्नु परेको सुनाए । ‘बोराका बोरा नागरिकताका फोटोकपी हुन्थे । त्यसकै आधारमा सेयर कारोबार हुन्थ्यो, बैंक खाता चाहिन्छ भन्दा मुर्दावादका नारा घन्काएर मेरै राजीनामा मागियो’ उनले भने ।

सेवामूलक लघुवित्त संस्थाहरुको शेयर मूल्य उच्च भएको तर, ८ अर्ब पूँजी भएका वाणिज्य बैंकहरुको सेयर मूल्य अत्यन्तै कम भएको भन्दै उनले यो कसरी भयो भन्ने प्रश्न गरे । ऋण लिएर नभई बचेको पैसा सेयरमा लगानी गर्नुपर्ने बताए ।

बाबुरामको समर्थन, ज्ञानेन्द्रबहादुरको आरोप

बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विज्ञ समूह बनाउनुपर्ने अर्थमन्त्री खतिवडाको मागमा समर्थन जनाए । पूर्वअर्थमन्त्रीसमेत रहेका उनले सेयर बजारका जानकार र विज्ञ व्यक्तिहरुले मात्रैसमस्याको पहिचान गरी समाधान सुझाउन सक्ने भन्दै उनले विज्ञ समूहमा बनाउनुपर्नेमा जोड दिए ।

मुलुक अझै उत्पादनमूखी नभई आयातमूखी नै भएकाले पुँजी बजारलाई एउटा महत्वपूर्ण क्षेत्र मान्नु पर्ने विषयमा सरकार गम्भिर हुनु पर्ने समेत उनले बताए । उनले भने, ‘लगानीकर्ताहरुलाई पनि आग्रह गर्न चाहन्छु, तपाईहरु पनि तत्कालै लाभको अपेक्षा नगर्नुहोस्, पहिले समस्या समाधान गर्नतर्फ लागौं ।’

तर, कांग्रेस सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्ऽ कार्कीले कम्युनिस्टहरुले सेयर बजार बर्बाद पारेको आरोप लगाए । उनले भने, ‘जब दुईवटा कम्युनिस्ट मिलेर चुनावमा जाने निर्णय गर,े त्यसबेलादेखि नै सेयर बजारको पतन शुरु भएको हो ।’

उनले सेयर बजारका समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप समेत लगाए ।

पूर्वअर्थमन्त्री एवं नेकपाका सांसद सुरेन्द्र पाण्डेले सेयर लगानीकर्तालाई हतोत्साहित हुन दिन नहुने बताए । सेयर बजारमा अहिले देखिएको समस्या सामान्य भएको भए चिन्ता गर्नु नपर्ने तर, गम्भीर हो भने बजार थप विग्रन नदिन सरकारले प्रयास गर्नुपर्ने बताए । जग्गामा गरिएको कर्जा लगानी भन्दा सेयर बजारमा गरिएको लगानी बढी सुरक्षित हुने भन्दै पूर्वअर्थमन्त्री पाण्डेले सेयर बजारमा लगानी गर्ने कर्जाको सीमा समेत बढाउनुपर्ने धारणा राखे ।

‘पुँजी बजारको विस्तार भइरहेको छ’

बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सेयर बजारमा पहुँच विस्तार हुने क्रममा रहेको बताए ।

‘मुलुकको शहरी क्षेत्रमा मात्र होइन, विकट क्षेत्रमा पनि पुँजी बजारको पहुँन बढेको छ, हुम्ला र मनाङमा मात्रै ४/५ सय डिम्याट खाता खुलिसकेका छन्’ उनले भने ।

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले ७५३ वटै स्थानीय तहमा पुँजी बजारको विस्तार गर्ने र प्रविधियुक्त सेयर बजार बनाउने बताए ।

सरकारको हेर्ने दृष्किोण गलत !

सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले भने सेयर बजारलाई हेर्ने सरकारको दृष्किोण नै गलत भएको दाबी गरे । सरकारको गलत नीतिकै कारण सेयरको संख्या २ अर्ब १० करोडबाट बढेर ३ अर्ब बढी भएको तर, बजारमा नकरात्मक परेको उनले बताए ।

अर्थ समितिको बैठकमा ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले ब्रोकर कम्पनीहरुलाई बाइपास गर्न खोजिएको गुनासो गरे । अझै पुँजी बढाउन आफूहरु तयार रहेको तर, आफूहरुलाई सरकारले पनि सहयोग गर्नु पर्ने उनले बताए ।

मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष धुब्र तिमल्सिनाले सरकार पुँजी बजारको विकासमा प्रतिवद्ध छ भन्ने सन्देश दिन सके सेयर बजारमा सुधार आउने बताए ।

छलफल, छलफलमै सिमित

अर्थ समितिले पुँजी बजारबारे चासो राख्नु र सरोकारवालाहरुबीच सम्वाद गराउनुलाई सकारात्मक नै मान्न सकिन्छ । तर, एउटा बैठकमा छलफल गरेको भरमा कुनै निष्कर्ष निकाल्न सम्भव थिएन । मंगलबारको बैठकमा भयो पनि त्यस्तै ।

सारोकारबालासँगै सांसदहरुले बोले । त्यसपछिसभापति कृष्णप्रसाद दाहालले आमन्त्रण गरेका सबैलाई धन्यबाद दिएर भने, ‘पुँजी बजारले समितिमा प्रवेश पायो । आगामी दिनमा समेत यस्ता छलफल हुनेछन्, आजको बैठक यहीँ अन्त्य गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment