Comments Add Comment

निर्दोषलाई थुन्न प्रधानमन्त्री तहबाटै आउँछ दबाव !

२५ मंसिर, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा निर्दोषलाई थुनेर अपराधी लुकाएको आरोप सरकार र प्रहरीमाथि लाग्दै आएको छ । पछिल्लो पटक प्रदीप रावल पक्राउ गर्दा पनि प्रहरी यो आरोपबाट मुक्त भएको छैन । जबकी उनले अपराध स्वीकार गरेको प्रहरीको दाबी छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्मला प्रकरणमा प्रहरीमाथि प्रश्न गर्दै ट्वीट गरे ।

तर, उनको ट्वीट उनैलाई भारी परेको छ ।

भट्टराई प्रधानमन्त्री हुँदा एउटा घटनामा निर्दोष व्यक्ति थुन्न प्रधानमन्त्री तहबाटै दबाव दिएको पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले खुलासा गरेका छन् ।

हाल नयाँ शक्ति पार्टीका संयोजक रहेका भट्टराईले ट्वीट गरे, ‘निर्मला प्रकरणमा यो दुई तिहाइको सरकार र संसारमा ‘बहादुर’ कहलिएको सुरक्षा संयन्त्रको जग हँसाइ देख्दा देश हेर्दाहेर्दै फेल्ड स्टेट हुने खतरा पो देखियो । हामीसँग अपराध अनुसन्धानको न्यूनतम दक्षता पनि नभएको हो कि अपराध ढाकछोप गर्ने र संसारलाई मूर्ख बनाउने अति दक्षता भएको हो ? केही लाज भए बोलौं ।’

जवाफमा पूर्वएआईजी सुवेदीले उनलाई अनामनगरको एउटा आत्महत्याको घटना स्मरण गराएका छन्, जतिबेला भट्टराईले निर्दोष व्यक्तिलाई थुन्न दबाब दिएको उनको भनाइ छ ।

सुवेदीका अनुसार अनामनगरमा ३१ वर्षीया सरस्वती सुवेदीले मृत अवस्थामा भेटिएकी थिइन् । घटनाको अनुसन्धानका लागि तत्कालिन एसपी गणेश थापाको नेतृत्वमा डीएसपी मीरा चौधरी (हाल एसपी) सहितको टोली खटिएको थियो ।

टोलीले सुवेदीले आत्महत्या नै गरेको निश्कर्ष निकाल्यो । पोष्टमार्टम रिपोर्टले पनि त्यही संकेत गर्‍यो ।

तर, मानवअधिकारवादीले सडक तताउन थालेपछि तत्कालीन प्रधानमन्त्री डा. भट्टराईले निर्दोष व्यक्तिलाई थुन्न दबाव दिएको पूर्वएआईजी सुवेदीको दाबी छ ।

डा. भट्टराईको ट्वीटको जवाफ फर्काउँदै उनले लेखेका छन्, ‘अनामनगरको एउटा आत्महत्याको घटनामा प्रहरी अनुसन्धानकर्ताहरुको तथ्यपरक अनुसन्धानलाई ठाडै नकारेर तपाईंले जारी गरेको प्रधानमन्त्रीय दबाबमा एउटै परिवारका निर्दोष बाबुआमा र एसएलसी दिँदै गरेको किशोर छोरा प्रहरी अभियुक्तको रुपमा हनुमान ढोकामा २५ दिन थुनिँदाको प्रसंग के गर्ने नि ?’

उनको जवाफमाथि डा. भट्टराईले कुनै प्रतिक्रिया जनाएका छैनन् । त्यो घटनामा ‘प्रधानमन्त्रीको चाहना’ भन्दै निर्दोषलाई थुन्न प्रहरीलाई दबाव दिइएको उनको आरोप छ । त्यतिवेला कुवेरसिंह रानाले प्रहरीको नेतृत्व गरेका थिए भने महानगरीय प्रहरी कार्यालय (मेट्रो) मा नवराज ढकाल एआईजी थिए ।

‘एनजीओहरुको दबावमा निर्दोषलाई थुन्ने खोजेपछि मैले तत्कालीन आईजी सा’बकै अगाडि पनि डिफेन्स गरेको थिएँ’, सुवेदीले अनलाइनखबरसँग भने, ‘त्यो दिन अझै पनि याद छ, मैले आईजी सा’बको कोठामा दिइएको चिया पनि नखाइ निस्केको थिएँ ।’

‘धन्न उनीहरुमाथि मुद्दा चाहिँ चलेन’, उनले स्मरण गरे ।

निर्मला प्रकरणमा पनि दबाव होला ?

पूर्वएआईजी सुवेदीको ट्वीट अनुसन्धान अधिकारीहरुलाई आउने दबावको एउटा उदाहरण मात्र हो । तर, ढिलै भएपनि सार्वजनिक गर्ने साहस उनले गरेका छन् ।

अन्य प्रहरी अधिकारीहरु पनि अनौपचारिक कुराकानीमा माथिल्लो तहबाट दबाव आउने गरेको स्वीकार गर्छन् तर, सार्वजनिक रुपमा राख्न सक्दैनन् ।

सोमबार राष्ट्रियसभाको सुशासन समितिमा सांसदहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अनुसन्धानमा कसैको दबाब भए/नभएकोबारे जिज्ञासा राखेका थिए । जवाफमा खनालले आफूलाई दबाव नभएको र आफूले पनि नदिएको दाबी गरे ।

पूर्वएआईजी सुवेदी कतिपय अनुसन्धानमा माथिकाले थिच्ने गरेको बताउँछन् । भन्छन्, ‘यदि अनुसन्धान व्यवसायिक छ धेरै हदसम्म दबावले काम गर्दैन ।’ अनुसन्धान अधिकारीहरु व्यवसायिक रुपमा सन्तुष्ट नभएसम्म अनुसन्धान जारी राख्नुपर्ने उनी बताउँछन् । कसैको आदेश आउँछ भने ‘लिगल’ आउनु पर्ने उनी बताउँछन् ।

यो पनि पढ्नुहोस सांसदलाई आईजीपी खनालको चुनौती : दबाव दिएको भेटिए मेरो बर्दी फुकालिदिनुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment