Comments Add Comment

छापामा आजः मोदीले स्वीकारेनन् ईपीजी प्रतिवेदन

२६ मंसिर, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो पृष्ठमा औपचारिकसँगै खोजमूलक सामग्रीहरु पनि समेटिएका छन् । नेपाल–प्रबुद्ध समूहको प्रतिवेदन नरेन्द्र मोदीले इन्कार गरेकोदेखि थिंक ट्यांकले ५ करोड माग गरेकोसम्मका खबरलाई पत्रपत्रिकाहरुले प्राथमिकतापूर्वक छापेका छन् ।

त्यस्तै, भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचन परिणामको चर्चा पनि आजका पत्रपत्रिकाहरुले गरेका छन् । निर्वाचन परिणामबाट भाजपालाई धक्का लागेको तर कांग्रेसले भने पुनर्जीवन पाएको निष्कर्ष पत्रपत्रिकाहरुको छ ।

जनकपुरमा जारी राम–जानकी विवाह महोत्सवको रौनक झल्काउने तस्वीर प्रकाशित गरेको कान्तिपुरले ९ लाख कम्पनी अनुगमन गर्न ८२ जना खटाइएको लेखेको छ ।

कान्तिपुरका अनुसार, देशभर वस्तु तथा सेवा प्रदायक संस्थाको संख्या ९ लाख २२ हजार ४ सय ४५ छ । तर, यिनको अनुगमन गर्ने कर्मचारीको संख्या भने मात्रै ८२ जना छन् ।

भारतको ५ राज्यको विधानसभा निर्वाचनको मत परिणामलाई पनि कान्तिपुरले आज महत्त्वका साथ छापेको छ ।

कान्तिपुर लेख्छ– आगामी वर्ष हुने केन्द्रीय संसद् (लोकसभा) को चुनाव सेमिफाइनलका रुपमा हेरिएको पाँचवटा प्रदेश चुनावमा भारतको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) ले नराम्रो धक्का व्यहोरेको छ ।

सुन्तला खेतीले अर्घाखाँची पाणिनि गाउँपालिकाका युवाहरुको विदेशयात्रा रोकेकोलाई कान्तिपुरले एंकर बनाएको छ । कान्तिपुरका अनुसार यहाँका युवाबीच सुन्तलाको बगैंगालाई आकर्षक बनाउने मात्र होइन, कसरी धेरै आम्दानी गर्ने भन्ने होडबाजी छ ।’

नेपाल–भारत प्रबुद्ध समूहको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्कार गरेकोलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ ।

समाचार अनुसार, मोदीका सुरक्षा सल्लाहकार अजित डोभालको असहमतिपछि प्रतिवेदन अलपत्र छ । नेपालमै प्रतिवदेनबारे फरक मत रहेको तर्क गर्दै भारतले हतार नगर्ने प्रतिक्रिया दिएको छ ।

‘रिमाल राज्य’ शीर्षक दिएर अन्नपूर्णले सिंहदरबारमा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालको हस्तक्षेप बढेको लेखेको छ ।

रिमाललाई सिंहदरबारको छाया शासकको संज्ञा दिँदै अन्नपूर्णले लेखेको छ– प्रधानमन्त्री कार्यालयले केहीअघि सचिवहरुको बैठक डाक्यो । जुटेका सचिवहरु तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका प्रमुख सल्लाहकार विष्णु रिमालले गरे ।

स्रोतको हवाला दिँदै अन्नपूर्ण अगाडि लेख्छ– रिमालले हरेक दिनजसो सचिवहरुलाई ‘ब्रिफिङ’मा बोलाउँछन् । त्यसका लागि कार्यतालिका नै बनाएका छन् । दैनिक कम्तीमा एक सचिवलाई उनले १० मिनेट तपाईंका लागि समय छुट्याइएको छ भनेर झिकाउने गर्छन् । र, मन्त्रीले दिनभर के–के गरे, मन्त्रालयका कामका प्रगति विवरण छन् भन्दै रिर्पोटिङ लिन्छन् ।

राजधानीले सरकारद्वारा गठित अनुसन्धान तथा प्रतिष्ठान विकास समितिले कर्मचारीको तलब र प्रशासनिक खर्चका ५ करोड मागेको लेखेको छ । थिंक ट्यांकले जिम्मेवारीअनुसारको काम नथाल्दै सरकारसँग रकम मागेको हो ।

विधान मस्यौदामा सहमति नजुटेपछि शुक्रबारबाट हुने महासमिति बैठकमा दुईवटै विधान प्रस्तुत हुने सम्भावना बढेकोलाई पनि राजधानीले प्राथमकिताका साथ पहिलो पृष्ठमा कभरेज गरेको छ ।
पार्टीभित्रको गुटगत किचलोका कारण कांग्रेस विधानको मस्यौदामा सहमति जुट्न सकेको छैन ।

सरकार र सम्बन्धित मन्त्रालयको कामप्रति सांसदहरुले जिज्ञासा राख्न थालेपछि मन्त्रीहरु बहाना बनाएर संसदीय समिति बैठक छल्न थालेको खबर नागरिकले लेखेको छ भने गोरखापत्रले स्थानीय र प्रदेशमा जान कर्मचारी आकर्षित भएकोलाई एंकर बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment