Comments Add Comment

प्रधानमन्त्रीले तामझामसहित उद्घाटन गरेका बिजुली बस ग्यारेजमै थन्किए

२६ मंसिर, काठमाडौं । काठमाडौंमा अस्थायी रुपमा सञ्चालनका लागि भनेर ल्याइएका विद्युतीय बस त्यसै थन्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले तामाझामका साथ उद्घाटन गरेका विद्युतीय बस साझाकै ग्यारेजमा थन्किएका छन् ।

यी बस एसियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई दिएको थियो । तर, लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालनमा नआइन्जेलका लागि काठमाडौंमा चलाउन  साझालार्इ दिइएका बस चार्जिङ स्टेशनको अभावमा थन्किएका हुन् ।

काठमाडौंको सार्वजनिक यातायातमा विद्युतीय सवारीको प्रवेशका रुपमा हेरिए पनि चार्जिङ स्टेशन नै नभएपछि बस सञ्चालनमा आउन नसकेको साझा यातायातले जनाएको छ ।

बस उत्पादनकर्ता कम्पनी बीवाईडीले यो बसका लागि अब ३ महिनामा मात्रै नयाँ चार्जिङ स्टेशन ल्याउन सकिने बताएको छ । यसअघि नै लुम्बिनीमा चार्जिङ स्टेशन बनिसकेकाले काठमाडौंमा चार्जिङ स्टेशन बनाउन अर्को प्रक्रिया सुरु गर्नुपर्छ ।

काठमाडौंमा सुविधासम्पन्न बस गुडाउने सुरुवात साझाले नै गरेको थियो । साझा यातायात आफैंले विद्युतीय बस भित्र्याउन पहल गरिरहेको समयमा यी बसलाई परीक्षणका रुपमा हेर्न खोजिएको थियो । तर, चार्जिङ स्टेशन नै नभएपछि ५ वटै विद्युतीय बस सञ्चालनमा नआई साझामा नै थन्किएर बसेका छन् ।

साझा यातायातले पाँच वटा बिजुली बस सुरुमा विभिन्न रुटमा गुडाएर परीक्षण योजना बनाए पनि तत्काल त्यो सम्भव नदेखिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधरले जानकारी दिए ।
यो पनि पढ्नुहोस चल्दाचल्दै ट्रलीबस फालियो, २० सिटे ‘बिजुली बस’ को रिबन काटियो
यो बसमा २० जना यात्रु सिटमै बसेर यात्रा गर्न सक्छन् । उभिएर यात्रा गर्न ओपन स्पेस पनि छ । यो बसमा अशक्त आपांग पनि सजिलै चढ्न सक्छन् । किनकी अपांगहरुलाई ह्वील चियर राखेर अटोमेटिक रुपमा बसभित्र ल्याउन सकिने लिफ्ट सिस्टम जडान गरिएको छ । सिटका छेउमा चार्जका लागि यूएसबी पोर्टहरु राखिएका छन् । बसभित्र एसीको सुविधा छ ।

यो बस धेरै लामो छैन । लुम्बिनी विकास कोषले पर्यटकहरुलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनी क्षेत्रमा लैजान ल्याएकाले बस छोटा छन् । वातावरणीय दृष्टिले विद्युतीय बस निकै महत्वपूर्ण मानिन्छन् ।

तर,  यी बसहरु आवश्यक पूर्वाधारविना नै किन तामझामका साथ उद्घाटन गरियो भन्नेबारे कोही पनि बोल्न चाहाँदैनन् ।
यो पनि पढ्नुहोस ‘अब पेट्रोल पम्पजस्तै सवारी चार्जिङ स्टेशन’
यो पनि पढ्नुहोस इलेक्ट्रिक बसको ‘युग’ प्रारम्भ गर्न होडबाजी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment