Comments Add Comment

उत्तरगंगाको पानी कता खसाउने ? नेकपाका नेतावीच मतान्तर

२६ मंसिर, काठमाडौं । विद्युत प्राधिकरणले बाग्लुङमा निर्माण गर्न लागेको उत्तरगंगा जलाशययुक्त आयोजना अघि बढाउन समस्या परेको छ । सत्तारुढ दल नेकपाका नेताहरुको जुँगाको लडाइँका कारण आयोजना अघि बढाउन समस्या परेको हो ।

भेरीको सहायक नदी हो– उत्तरगंगा । यो जलासययुक्त आयोजना उत्तरगंगामा बाँध बनाएर निर्माण गरिँदैछ । अहिलेको प्रस्ताव अनुसार नै बनाउने हो भने यो आयोजनाबाट बिजुली निकाल्दा उत्तरगंगाको पानी भेरीको साटो कालीगण्डकीमा झार्नुपर्छ ।

आयोजना १३५० मिटरमा बनाउँदा सबैभन्दा सस्तो पर्छ । तर, सत्तारुढ दलभित्रकै नेताहरुले उत्तरगंगाको पानी कता खसाल्ने भन्ने विवाद टुंग्याएका छैनन् । यो आयोजना बनाउन १ खर्ब बढी लगानी लाग्ने अनुमान छ ।

नेकपाका कर्णाली प्रदेश इञ्चार्ज एवं पूर्व ऊर्जामन्त्री जर्नादन शर्मा प्रभाकर विद्युत उत्पादनपछि निक्लिएको पानी कालीगण्डकीतर्फ फर्काएर आयोजना बन्न दिने पक्षमा छैनन् । उनी आयोजनाको क्षमता घटाएरै भए पनि उत्तरगंगाको पानी भेरीमै मिसाउनुपर्ने अडानमा छन् ।

ऊर्जा मन्त्रालयले भेरी नदीमा १२८ मेगावाटको डाँडागाउँ–खलङगा तथा ४४० मेगावाटको भेरी–१ चिनियाँ कम्पनी गेजुवा ग्रुप पावर इन्भेस्टमेन्टलाई र ३०० मेगावाटको भेरी–४ आयोजना भेरी इनर्जीलाई सर्बे लाइसेन्स दिइसकेको छ ।

उत्तरगंगाको पानीलाई कालीगण्डकीतर्फ फर्काएर उत्तरगंगा आयोजना बनाइएमा भेरीमा बन्ने अन्य आयोजना प्रभावित हुने भन्दै रुकुम घर भएका शर्माले अडान लिइरहेका मन्त्रालय स्रोतले बतायो ।

नेकपाका महासचिव विष्णु पौडेल, नेकपा स्थायी समिति सदस्य तथा श्रम मन्त्री गोकर्ण बिष्ट लगायतका नेताहरु भने कालीगण्डकीतर्फ नै उत्तरगंगाको पानी झारेर आयोजना पूर्ण क्षमतामा बनाउनुपर्ने अडानमा छन् ।

नदीको पानी कता डाइभर्ट गर्ने भन्ने राजनीतिक खिचातानीले गर्दा प्राविधिक, आर्थिक, सामाजिक र वातावरणीय रुपमा आकर्षक रहेको आयोजना नै अन्योलमा परेको प्राधिकरण स्रोत बताउँछ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले समस्या समाधानका लागि पटक–पटक छलफल गरे पनि कुनै निश्कर्षमा पुग्न नसकेको स्रोतले बतायो ।

आयोजनाको हेड १३ सय ५०, कम वालुवा तथा ढुंगा हुँदा जलाशयको आयु लामो हुने, २५० हेक्टर मात्रै खेतियोग्य जमीन डुवानमा पर्ने र ६२५ घरपरिवारमात्रै विस्थापित हुने भएकाले आयोजनालाई आकर्षक मानिएको हो ।

यो परियोजना नेपालको पावर ब्याकअपका लागि निकै महत्वपूर्ण छ । यसको पूर्वसम्भाव्यता अध्ययन सन् २००३/२००४ मै भएको थियो । यो परियोजना काठमाडौंबाट ३९८ किलोमिटर पश्चिममा पर्छ ।

प्रस्तावअनुसार यसको बाँध बाग्लुङको गावागाउँमा अवस्थित बन्नेछ । पावरहाउस–१ हिलेचौर र पावरहाउस २ सम्जाखर्कमा राख्न खोजिएको छ । यो परियोजना बाग्लुङ–बुर्तिबाङ सडकखण्डको पहुँचमा छ । प्रस्तावित पावरहाउस बागलुङको बुर्तिबाङ बजार नजिक पर्छ ।

आयोजना बनाउन ४८ किलोमिटरको नयाँ सडक खन्नुपर्छ भने २७ किलोमिटर खण्ड स्तरोन्नति गर्नुपर्ने अवस्था छ ।

सुरुमा ३०० मेगावाटका लागि सर्भे लाइसेन्स जारी गरिए पनि गत वर्ष आयोजनालाई अपग्रेड गरेर ८२८ मेगावाटमा लगिएको छ । यसको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) तयार भएर सरकारसमक्ष पेश गरिसकिएको छ ।

आयोजनाको मुख्य काम भनेको २ सय मिटरको ढुंगेबाँध बनाउनु हो । यो आयोजनामा ९ हजार ५७५ मिटरको हेड रेस सुरुङ बनाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment