+
+

निदुली बाहुन उर्फ केपी ओली

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७५ मंसिर २६ गते ११:३०

हाम्रोतिर निदुली बाहुनबारे रमाइलो लोककथा प्रचलित छ । एकजना निदुली नाम गरेका बाहुन ससुराल गएछन् । ससुरालमा पकाइएको सेलरोटी गन्दै बसेका उनले सासुबाट ४ ओटा मात्र सेलरोटी पाएपछि प्रश्न गर्दै भनेछन्, ‘रोटी पाके पाँच बीस चार, मेरो भागमा मात्र चार ?’

सासुलाई अचम्म लाग्यो ! ज्वाईंले यति नै रोटी पकाएको भनेर कसरी थाहा पाए ? उनले आफ्नो ज्वाईं ‘त्रिकालदर्शी ज्योतिष’ हुन् भनेर गाउँभरी हल्ला गरिन् ।

त्यति नै बेला छिमेकमा एकजना किसानको गधा हराएछ । ‘गधा कता गयो ? हेरिदिनुपर्यो’ भनेर उनीहरुले अनुरोध गरे । अब परेन फसाद ! मध्यरातमा ससुराल गाउँ छाडेर भागेको निदुली बाहुनले बाटोमा पर्ने उखुबारीमा केही आवाज सुने । सौभाग्यवश, उखुबारीको बीचमा गधा भेटियो । रातारात पुनः ससुराल  फर्किएका उनले धुलौटो कोरेजस्तो गर्दै गधा पत्ता लगाइदिए । निदुली बाहुनको गाथा अब देशभरी फैलियो । राजाले समेत उनलाई बोलाएर आफ्नो हराएको बहुमूल्य धातु र गरगहना खोजीदिन आग्रह गरे ।

निदुली बाहुन थप फसादमा फसे । अब उनीसँग भाग्ने विकल्प थिएन किनकी उनी दरबारको बलियो सुरक्षाघेराभित्र थिए । राति भयाक्रान्त निदुली गाउन थालेछन्–

‘रोटी पाँच बीस चार गनी थाहा पाएँ

गधा उखुबारीमा भेटियो जैसी कहलाएँ

अब आयो निदुली तेरो काल !’

सौभाग्यवश, राजाको गहना चोर्ने नोकरको नाम निदुली नै परेछ र उसले निदुली बाहुनको भयाक्रान्त आवाज सुन्यो । डराएको नोकर निदुलीले नै राजाको महंगा गरगहना चोरेका रहेछन् । उनले बाहुनसमक्ष पुगेर आफ्नो अपराध स्वीकारे र यसपटक पनि निदुली बाहुन ‘त्रिकालदर्शी ज्योतिष’ नै कहलिए ।

भारतीय नाकाबन्दीको बेला ‘राष्ट्रवादी’ छवि बनाएका तत्कालीन एमाले नेता केपी ओली निदुली बाहुनकै स्वरुपमा संघीय गणतन्त्र नेपालमा झण्डै दुई तिहाई बहुमतको प्रधानमन्त्री र शक्तिशाली ‘कम्युनिष्ट’ पार्टीका प्रथम अध्यक्ष बनेका छन् । ओलीलाई कथाका निदुली बाहुनको नयाँ संस्करण भनिरहँदा उनले नेपालको लोकतान्त्रिकरणको आन्दोलनमा निभाएको भूमिकाको अवमूल्यांकन गर्न खोजिएको होइन् । उनले निरंकुश पञ्चायतविरुद्ध जेलभित्र बिताएको दर्जनभन्दा बढी वर्ष र वैंशको उच्च मूल्यांकन गर्नैपर्दछ ।

नेपालको व्यवस्था परिवर्तनको आन्दोलनको एउटा अंश पञ्चायतविरुद्धको आन्दोलनमा उनको भूमिका महत्वपूर्ण छ । तर, व्यवस्था परिवर्तनको युगको उत्कर्षको लडाईं अर्थात् संघीय गणतन्त्र नेपालको आन्दोलनमा भने उनको रुचिको विषय रहेन । यो आन्दोलन र यसका उपलब्धिहरु उनका लागि बलजफ्ती स्वीकारिएका अप्रिय विषय हुन् । यो केवल आरोप मात्र होइन । उनको पटकपटक सार्वजनिक भएको व्यवहार र अभिव्यक्तिले यी कुरा सशक्तरुपमा पुष्टि गर्दछन् । उनी हिजो गणतन्त्रको आन्दोलनलाई ‘बयलगाढा चढेर अमेरिका जाने यात्रा’को संज्ञा दिने गर्दथे भने आज समानुपातिक समावेशिताको मुद्दालाई एनजिओको ट्याउँट्याउँको संज्ञा दिन्छन् । उनकै पार्टी र विचार समूहबाट मुख्य मन्त्री बनेकाहरुले संघीयता कार्यान्वयनमा ओलीले उदासीनता देखाएको आरोप लगाउनु केवल संयोग मात्र होइन । स्थानीय तहलाई दिइएको अधिकारलाई सिंहदरबारमै राखेर संघीयतालाई पञ्चायतकालीन विकेन्द्रीकरणमा खुम्च्याउने ओली अभ्यासले पनि उनको संघीयताप्रतिको विरागलाई चित्रित गर्दछ ।

ओली चरित्र

ओली नेपाली राजनीतिका औसत क्षमता भएका पात्र हुन् । सामान्यतः औसत क्षमता भएका पात्रहरुले पद र प्रतिष्ठाका लागि साम, दाम, दण्ड र भेद सबै अस्त्र प्रयोग गर्छन् । ओली पनि यस्तै अभ्यास गर्दै राजनीतिमा स्थापित हुँदै आए । गणतन्त्रको आन्दोलनको बेला राजनीतिको नेपथ्यमा रहेका ओलीको राजनीतिमा पुनरागमनका केही पृष्ठभूमिहरु छन् । माओवादी आन्दोलन चर्किदै जाँदा ओलीका लागि दुई अनुकूलता जन्मिए । पहिलो त उनी गणतान्त्रिक आन्दोलनका नेतृत्वकर्ताहरुको कमजोरीहरुको श्रृंखलाको फाइदा उठाउन थाले । माओवादी नेताहरुको कमजोरीको छिद्रहरुलाई उदिनेर राजनीतिक रंगमञ्चमा शीर्ष भूमिकामा देखिएका ओली एकपछि अर्को गर्दै निदुली बाहुनको नयाँ संस्करणको रुपमा उदाए । अर्को कुरा, उनले शक्तिशाली बन्दै गएको माओवादीविरुद्ध चर्को आवाज बोले । राजनीतिमा स्थापित हुन शक्तिशालीविरुद्ध आवाज उठाउने पुरानै अभ्यासलाई ओलीले कुशलतापूर्वक प्रयोग गरे । यसबाट पनि उनलाई शक्ति आर्जन गर्न सजिलो भयो ।

सुदर्शन खतिवडा

मुलुकमा माओवादी शक्ति भुसको आगोजस्तो फैलिरहँदा निरिह देखिएको एमालेभित्रको एउटा समूहलाई संरक्षण दिने र आफ्नो गुटवरिपरि ध्रुवीकरण गर्ने कामलाई अविराम अगाडि बढाए । यसैबीच, शक्ति आर्जनकै लागि भारतमा लामो समयसम्म सत्तामा रहेको कंग्रेस आई नेतृत्वको गठबन्धनसँगको सम्बन्धबारे पनि ओलीमाथि प्रश्न उठिरहन्छ । महाकाली सन्धिताका ओलीको भूमिकालाई शंका गर्नुपर्नेगरी उनले धेरै प्रश्नहरू छाडिदिएका छन् ।

पछिल्लो समय कंग्रेस आई गठबन्धनलाई पछार्दै भारतमा सत्तारुढ भएको भारतीय जनता दलले नेपालमा नाकाबन्दी गर्दा ओलीले उठाएको आवाजलाई पनि कंग्रेस आईको स्वार्थसँग जोडेर हेर्नेहरु भेटिन्छन् । यसका पछाडि केही तर्क रहने गरेका छन् । त्यो हो– बिजेपीलाई कुटनीतिकरुपमा निकम्मा सावित गर्ने कंग्रेस आईको अभिष्ट र ओलीको चर्को बोली ।यहाँनेर नाकाबन्दीको समर्थन गर्न लागिएको भने होइन । मात्र राष्ट्रवादी भनिने सस्वार्थ नेताहरुको अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुसँगको सम्बन्धको श्रृंखलालाई चित्रित गर्न खोजिएको हो ।नाकाबन्दी निदुली बाहुनलाई उखुबारीमा गधा मिलेजस्तै भयो ओलीलाई ।

त्यसो त नेपालमा रहेका जातीय त्रिक्लस्टरको समिकरण र सम्बन्ध रोचक छ । पहाडिया शासक वर्गले गर्ने (दु)व्र्यवहारबारे मधेसमा एउटा सचेतना छ । तर, जनजाति क्लस्टरमा आफ्नो पुस्तामाथि भएको ऐतिहासिक उत्पीडनको गहिरो चेत भेटिँदैन । जब मधेस मुद्दा चर्किन्छ, जनजाति र खसआर्य क्लस्टरको निकटता बढ्न थाल्छ । यसमा भूगोल र चेतना दुवैले काम गर्छ कि ? ओलीका लागि ‘कुदुली नोकर’को भूमिकामा जनजाति क्लस्टर देखापर्यो । मधेसीले अधिकारको कुरा उठाउँदा ‘विहार’ देखाउँदा जनजाति क्लस्टरको मौनताले यसलाई पुष्टि गर्दछ । पछिल्लो समय पर्शुराम तामाङ र पासाङ शेर्पाहरु राजनीतिक नैतिकतालाई नङ्ग्याएर मधेस ओली नेतृत्वको नेकपा प्रवेश गर्नुले उल्लेखित तर्कलाई बलियो बनाउन सघाउँछ । यिनै पृष्ठभूमिमा एकातिर तत्कालीन बलियो शक्ति माओवादीसँगको टकरावमा साहसिक नेतृत्वका कारण ओलीले पार्टीभित्रको चुनाव जिते भने देशभक्तिलाई दुत्कारेर नक्कली राष्ट्रवाद जगाउँदै निर्वाचन पनि जिते ।

कुदुली बाहुन उर्फ ओली चरित्रको पटाक्षेप

लोककथामा राजाको गहना फेला पारेपछि के निदुली बाहुनलार्इ के भयो ? पढ्न पाईंदैन । किनकी त्यो कथा मात्र हो । तर, व्यवहारमा ओली नेकपाको अध्यक्ष र प्रधानमन्त्री भएपछि के भयो ? पढ्न मात्र होइन, नेपाली जनताले भोग्नै पाएका छन् । समय आएपछि सत्यको उद्घाटन सार्वभौम सत्य हो । रुपान्तरणबिना ओली पात्रको पटाक्षेप नेपाली राजनीतिमा त्यति सुखद देखिँदैन । नक्कली ज्योतिषको भूमिका देखिएका निदुली बाहुनजस्तै व्यवस्था परिवर्तनमा आंशिक योगदान दिएका ओली पनि समृद्धिकरणको नयाँ युगमा प्रवेश गरेको नेपालका लागि नक्कली नेता हुन् । उनले गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक/समावेशिता, संघीयताजस्ता एजेण्डाहरुको असली स्वामित्व लिनै सक्दैनन् । मुलुकको समृद्धिका लागि संरचनागत परिवर्तनको जोखिम मोल्न र समृद्धिको भिजन अगाडि सार्दै कार्यरुप दिन नसक्ने पर्याप्त लक्षण उनले देखाइसकेका छन् । यसर्थ, नेपाली राजनीतिमा ओली चरित्रको कुनै न कुनै अवतारमा पटाक्षेप हुन्छ नै । त्यसको सुरुवात भई पनि रहेको छ ।

यहाँनेर बुझ्नै पर्ने कुरा, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भनेको केवल व्यवस्था परिवर्तन मात्र होइन, यसले नयाँ राजनीतिक संस्कारको समेत माग गर्दछ । तर, गणतन्त्र नेपालको संरक्षक र मुख्य चालकको भूमिका नयाँ राजा अर्थात् नयाँ सामन्तको रुपमा देखा पर्नु बिडम्बनापूर्ण छ । १८ करोडको गाडी होस् वा घुँडा धसाएर टिका लगाउने अभ्यास, राजसी ढाँटबाँट होस् वा फरक मतप्रतिको असहिष्णुतासँगै कार्यकर्तालाई अरिंगाल बन्न गरिएको आह्वान, यी सबै व्यवहारले मतदाता मात्र होइन, नेकपाकै कार्यकताहरु आजित छन् ।

देशलाई एउटा पार्टीले, पार्टीलाई एउटा गुटले र गुटलाई एउटा व्यक्ति र उसको स्वार्थले बन्दक बनाउने अभ्यासलाई कतिपयले राजतन्त्रको नयाँ संस्करणको रुपमा चित्रित गर्न थालेका छन् । यस्तो चित्रण गर्नेहरुको लाइनमा नेकपाका नेता,कार्यकर्ता र समर्थक नै रहेको यथार्थ आज कसैबाट छिपेको छैन । बालुवाटारमा हुने गतिविधि र ओली आसपासका नन्दीभृंगीहरुको व्यवहारप्रति नेकपाकै नेताहरुले खेद प्रकट गर्नुपर्ने वातावरण कम बिडम्बनापूर्ण छैन । देशमा लोकतन्त्रको अवस्था के छ भन्ने कुरा ओलीले पार्टी कसरी चलाइरहेका छन् भन्ने कुराले पुष्टि हुन्छ । पार्टीभित्रको जनवादलाई बन्ध्याकरण गरेर नागरिकलाई लोकतन्त्रको प्रवचन दिने दुःखद प्रहसन हाँस्नै हेर्नुपर्ने बिडम्बनापूर्ण अवस्थामा नेपाली जनता रहेका छन् । तर यो अवस्था लामो समयसम्म टिक्दैन । यही अवस्थामा हुने ओली अत्याचारविरुद्ध नेकपाभित्रै हुने ध्रुवीकरणले ओलीलाई अप्ठ्यारो पार्नेछ ।

 

अर्कोतिर, एमाले र माओवादी एकताबाट बनेको नेकपाभित्र नयाँ नयाँ ध्रुवीकरणसहितको समिकरण बनिरहेको छ । ओलीले केही समयअघि सार्वजनिकरुपमै एमालेलाई ‘राजनीतिक कम्युनिष्ट’ पार्टी भनेर बोलिसकेका छन् । यसको अर्थ, हाम्रो देशमा रहेका कम्युनिष्ट झण्डा ओढेर मर्न पाउँ भन्ने लाखौं प्रतिवद्ध नेता कार्यकर्ताको पंक्ति मोहभंग नहोस् भनेर मात्र ओलीहरुले पार्टीमा कम्युनिष्ट नाम जोडिरहेका छन् । सूचना सञ्चारको आजको विश्वमा यस्तो अन्तरविरोधपूर्ण भ्रम लामो समय नटिक्ने निश्चितै छ । फरक पृष्ठभूमि र प्रशिक्षणबीच पूर्व एमाले र पूर्वमाओवादीबीच भएको एकता व्यवस्थापनमा नेकपा अध्यक्षद्वयले देखाएको व्यवहारले तल्लो पंक्ति निराश मात्र होइन, आक्रोशित पनि छ । सामन्तवाद फाल्ने आन्दोलनमा प्रत्यक्ष सहभागी भएका यी नेता कार्यकर्ता पंक्तिलाई हिजोका राजाले जस्तो प्रजाको व्यवहार गर्दा आउनसक्ने शक्तिशाली जवाफ पनि ओलीले निकट भविष्यमा नै भेट्नेछन् ।

नेपालको रणनीतिक अवस्थिति र वैश्विक राजनीतिले पनि ओलीलाई साथ नदिने लक्षणहरु देखिन थालेका छन् । चीनले व्यक्तिभन्दा शक्तिलाई चिन्छ र त्यसैलाई महत्व दिन्छ । शक्ति क्षिण हुँदै जाँदा उत्तर छिमेकको तिरस्कार बढ्ने निश्चित त छँदैछ, साथमा भारतीय राजनीतिमा कंग्रेस आई नेतृत्वको गठबन्धनको हालतले पनि ओलीलाई प्रतिकूलता थपिरहेको छ ।

 

निदुली बाहुनले रोटीको संख्या थाहा पाए, गधा थाहा पाए र संयोगले राजाको हराएको गरगहना पनि फेला पारे । अहिलेसम्म ओली भाग्यमानी नै ठहरिएका छन् । तर, समृद्धिकरणको नयाँ चरणमा प्रवेश गरेको नेपाली समाज र राजनीतिक चेतले ओतप्रोत भएका कार्यकर्तालाई नेतृत्व गर्ने कार्य अब संयोग र उखान टुक्काको चमत्कारले मात्र सम्भव हुनेछैन ।

भनिन्छ, दिउँसो कस्तो हुन्छ भन्ने कुरा बिहानले संकेत गर्छ । ओलीका प्रारम्भिक नौ महिना हेर्दा र उनका गतिविधि नियाल्दा सत्ताको शक्तिले मान्छेको मनभित्र दवित् आंकाक्षाको कपडा कसरी फुकालिदिन्छ र बादशाह नाङ्गिन्छ भन्ने जिउँदोजाग्दो नाटकको भव्य पटाक्षेप नेपालमा भइरहेको पाइन्छ । राजाका नन्दीभृंगीहरुले राजा नांगिएको नभनिदिने र पर्खालबाहिरका मानिसले भनेको राजाले नपत्याउने अवस्थाको निरन्तरता शिवाय आगामी दिनमा नागरिकले केही नपाउने निश्चित जस्तै भएको छ । ‘खोदा पहाड, निक्ला चुहा’को निरन्तर पुनरावृत्तिले नागरिकको मात्र होइन, नेता कार्यकर्ताकै धैर्यताको बाँध फुट्न सक्छ । उक्त बाँधले ककसलाई बगाउला ? यसको उत्तरका लागि केही समय कुर्नु नै पर्नेछ । हामी सबैलाई थाहा छ, लोककथाबाट केवल शिक्षा मात्र लिनसकिन्छ । शिक्षा नलिनेलाई समयले शिक्षा मात्र होइन, साथमा उपहारस्वरुप सजायँ पनि दिन्छ ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?