Comments Add Comment

औषधि खानै मान्दैनन् एचआर्इभी संक्रमित

२६ मंसिर, डोटी । डोटी पूर्वीचौकीकी साबित्री (नाम परिवर्तन) २०६३ सालदेखि एआरटी प्रयोगकर्ता हुन्, तर बिगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् ।

साबित्री आफूलाई बिराम निको भइसकेकोले अब सधैं औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दि गर्छिन् । एआरटी सेवन गर्न छोडेपछि उनलाई अन्य रोगहरुले संक्रमण गर्न थालेको छ ।

सुनिता जस्तै अन्य संक्रमितहरुले पनि औषधि सेवन गर्न आनाकानी गर्ने गर्छन । ‘स्वास्थ्य संस्थाबाट औषधि लगेर जान्छन् तर घरमा लगेर थन्काइदिन्छन्,’ संक्रमित कमला मल्ल भन्छिन् ‘एक महिलाले २४ महिनासम्मको औषधि घरमै थन्काएको पाइयो ।’ औषधि सेवन नगरेकै कारण ती महिलाको छिट्टै मृत्यु भएको कमलाको दावी छ ।

०६२ सालमा पहिलो पटक आफू एचआईभी संक्रमित भएको भन्दै खुलेकी कमलाले भनिन्, ‘कयौं संक्रमितहरुको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन गर्दैनन् ।’

पछिल्लो समयमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डा गिरीष अवस्थी बताउँछन् । ‘लगातार औषधि खाएपछि कमजोर भइन्छ भन्ने मानसिकता रहेको पाइयो,’ डा अवस्थीले भने, ‘लगातार औषधिको सेवन गर्न झण्झट मान्ने रहेछन् ।’

जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिडेण्टेण्ट डा. भुषण मिश्रले संक्रमितहरुलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरुले बिचमै सेवन गर्न छोड्ने बताए । ‘लगातार औषधि साइड इफेक्ट हुन्छ भन्ने बुझाई रहेको छ,’ डा. मिश्र भन्छन्, ‘तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन् ।’

डोटी जिल्लामा एआरटी सेवन गरिरहेकामध्ये २३ जना सम्पर्कबिहीन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मीले जानकारी दिए ।

सात सय ६४ संक्रमितमध्ये एक सय ५१ को मृत्यु भइसकेको समेत रेग्मीले बताए । उनका अनुसार ६० जनालाई जिल्ला बाहिर रेफर गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा तीन हजार ७६ ले एआरटी सेवन गरिरहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत रमेश मलासीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा ६ हजार सात सय २४ जना एचआईभी संक्रमित रहेका मलासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment