Comments Add Comment

अस्पतालमै शव बन्धक ! १४ लाख सकियो, लास पाइएन

२६ मंसिर, बिराटनगर । मोरङको कटहरी गाउँपालिका-३ की अनिता मिश्रले बिराटनगरस्थित नोबेल मेडिकल कलेज धाउन थालेको पाँच महिना पुग्न लाग्यो । ३२ वर्षीय श्रीमान दीपक मिश्र दुर्घटना परेपछि साउन २ गतेदेखि उपचारका लागि अस्पताल धाएकी अनिता दुई दिनयता शवका लागि अस्पताल धाइरहेकी छन् ।

अस्पतालले भने बिल नतिरेको भन्दै श्रीमानको शव अन्तिम संस्कारका लागि लैजान दिएको छैन । पाँच महिना अस्पतालमा राखेर उपचार गर्दा उनको १४ लाख भन्दा बढी अस्पतालले उपचार खर्च लिइसकेको छ ।
साउन २ गते विराटनगर महानगरनगरपालिका ४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको नोबेल अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।

बिराटनगर ४ का हरि दहालले कुदाएको मोटरसाइकलले ठक्कर दिएको थियो । सामान्य परिवारका दाहालले ३ लाख रुपैयाँ उपचारका लागि दिएका थिए । बाँकी खर्च भने अनिताले आफैं जुटाएकी हुन् ।
दुर्घटनामा टाउकोमा चोट लागेपछि ५ महिनायता उनीहरु नोबेल थिए । उपचार गरेवापत अब नोबेललाई ३ लाख ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको अनिताले बताइन् । यसअघि औषधि र उपचार खर्चवापत उनले १४ लाख भन्दा बढी बुझाइसकेकी छन् ।

उपचारकै क्रममा मंगलबार मिश्रको मृत्यु भएपछि अस्पतालले साढे तीन लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै शव रोकेर राखेको छ ।

श्रीमानको उपचारमा आफ्नो सम्पत्ति सकिएपछि थप ३ लाख रुपैयाँ दिन सक्ने अवस्थामा छैनन् अनिता । खर्च जुटाउन नसकेपछि अन्तिम संस्कारका लागि श्रीमानको शव झिकाइदिन हारगुहार गरिरहेकी छिन् ।

उपचारमै सर्वस्व गयो, लासमाथि पनि ऋणकै बोझ

विराटनगर-१० तीन टोलियामा डेरा गरेर बस्दै आएकी अनिता सानो ब्युटीपार्लर सञ्चालन गर्थिन् । उनका श्रीमान सिटी रिक्सा कुदाउँथे ।

दीपक घाइते भएपछि दुई सन्तानलाई बोडिङ स्कुल पढाउँदै आएकी अनिताको पार्लर बन्द भएको छ । भएको सबै सम्पत्ति उपचारमै सक्किएपछि कक्षा २ र एलकेजीमा पढ्दै आएका प्रिन्स र प्रियान्सुको पढाइ पनि रोकिएको छ ।

शुल्क तिर्न नसकेपछि लर्डबुद्ध स्कुलबाट दुईवटै छोरालाई निकालेको छिमेकी शुभम् पण्डिले जानकारी दिए ।

पाँच महिनादेखि कोठा भाडा तिर्न नसकेकी अनितालाई घरबेटीले पनि कोठा छाड्न बारम्बार दबाव दिइरहेका छन् । ‘मसंग पैसा नै छैन, ऋण गरेर उपचार गरिरहेकी थिएँ,’ अनिता भन्छिन्, ‘गर्दै आएको व्यापार पनि बन्द भयो ।’

अस्पताल भन्छ- दुर्घटना केस हो, छाड्न सकिँदैन

नोबेल मेडिकल कलेजका व्यवस्थापक नारायण दाहाल दुर्घटनाको केस भएकाले छुट दिन सक्ने अवस्था नरहेको बताउँछन् । अस्पतालमा ३ लाख ५० हजार तिर्न बाँकी रहेको बताउँदै उनले १ लाख रुपैयाँसम्म छुट गर्न सकिने जानकारी दिए ।

करिब १४ लाख रकम अस्पताललाई बुझाए पनि मृतकका आफन्तले औषधिको रकम तिर्न बाँकी रहेको दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment