Comments Add Comment

जाडोमा ब्रोनकाइटिसको खतरा उच्च, कसरी जोगिने ?

जाडो बढ्दैछ । यो मौसममा चिसोका कारण छातीसम्बन्धि विभिन्न समस्यासँगै ब्रोनकाइटिसको समस्या धेरै हुने गर्छ ।

ब्रोनकाइटिसको जोखिममा विशेषगरी बालबालिका तथा वृद्धवृद्धा हुन्छन् । त्यस्तै, धुमपान गर्नेहरुमा पनि यसको जोखिम धेरै हुने गर्छ । ब्रोनकाइटिस भएमा श्वासनली (ब्रानकियल ट्यूब) सुन्निने गर्छ । जसका कारण बिरामीले फोक्सोको सहायताले पर्याप्त मात्रामा अक्सिजन वा हावा लिन सक्दैनन् ।

के हो ब्रोनकाइटिस ?

ब्रोनकाइटिसको समस्या विशेषगरी, भाइरस, व्याक्टेरिया, धुमपान वा रसायनिक पदार्थको सम्पर्कमा आउनाले हुने गर्छ । जब श्वास नलीको टिस्यू उत्तेजित हुन्छ, तब त्यसमा रहेका रौले काम गर्न बन्द गर्छन् । जसका कारण श्वास नलीमा खकार भरिएर थप उत्तेजित हुन्छ । परिणामस्वरुप ब्रोनकाइटिसका समस्या भएका व्यक्तिमा गाढा रङ्गको खकारका साथमा अत्यधिक खोकीको समस्या हुने गर्छ ।

ब्रोनकाइटिसका प्रकार

ब्रोनकाइटिस दुई किसिमका हुन्छन् । एक्यूट (कडा) बोनकाइटिस र क्रोनिक (दीर्घकालीन) ब्रोनकाइटिस ।

व्याक्टेरियाको संक्रमण, प्रदुषण तथा रसायनिक पदार्थको कारणले हुने एक्यूट बोनकाइटिसको समस्या अल्पकालीन हो । यो समस्या रुघाखोकीले जन्माउँछ । यसको लक्षण भनेको खकारका साथ छातीमा समस्या हुनु हो । कहिलेकाहीँ ज्वरो आउनुका साथै सास फेर्नमा पनि समस्या हुने गर्छ ।

एक्यूट ब्रोनकाइटिस केही दिनदेखि केही हप्तासम्म रहने गर्छ । बच्चाहरुमा सानो स्वास नलीका कारण ब्रोनकाइटिसको समस्या धेरै हुने गर्छ । बृद्धवृद्धामा पनि यो समस्या आम मानिन्छ ।

क्रोनिक बोनकाइटिस भएमा विरामीलाई सास फेर्नमा समस्या हुने गर्छ । र, यो समस्या विस्तारै-विस्तारै पुरानो हुँदै जान्छ । विरामीको स्वास्थ्यसमेत दिन-प्रतिदिन बिग्रदै जान्छ । र, बिरामीलाई थकावट महसुस हुनुका साथै सास लिनमा कठिनाई भई कृत्रिम अक्सिजनको आवश्यकता पर्न सक्छ ।

ब्रोनकाइटिसको तीन चरण हुन्छन् । पहिलो चरणमा सामान्य खोकी लाग्छ । यसमा फोक्सोले ८० प्रतिशतसम्म काम गर्छ । दोश्रो चरणमा एक्यूट ब्रोनकाइटिस गराउने भाइरस श्वास नली हुँदै फोक्सोको तल्लो भागमा फैलिएर खकारको उत्पादन गर्छ । जसले गर्दा खोकीसमेत बढ्ने गर्छ । यसमा फोक्सोले ५० देखि ७० प्रतिशत काम गर्छ ।

तेश्रो चरणमा विरामीहरुमा भाइरल संक्रमण ठिक हुन्छ । तर पोस्ट ब्रोनकाइटिस सिन्ड्रोम देखा पर्छ । बिरामीलाई कयौ दिनसम्म खोकी लाग्ने र श्वास नलीको समस्या ठिक हुन लामो समय लाग्ने हुन्छ । यो चरणमा फोक्सोले ३० देखि ५० प्रतिशत मात्र काम गर्न सक्छ ।

किन हुन्छ ब्रोनकाइटिस ?

एक्यूट ब्रोनकाइटिस किटाणुका कारण हुन्छ, जुन रुघाखोकीपश्चात विकसित हुने हो । क्रोनिक ब्रोनकाइटिस भने धुमपानका कारण विकसित हुने गर्छ । यद्यपि, एक्यूट ब्रोनकाइटिसको लगातारको हमलाका कारण पनि क्रोनिक ब्रोनकाइटिस हुनसक्छ । यसबाहेक वायू प्रदुषण, धुवाँ-धुलो, विषालु ग्यास, तथा रसायनिक पदार्थको सम्पर्कमा आएमा पनि ब्रोनकाइटिस हुने गर्छ ।

यस्ता हुन्छन् लक्षण

ब्रोन्काईमा जलन पैदा हुनु, सुन्निनु, खोकी लाग्नु, सेतो, हरियो वा खैरो रङ्गको खकार जम्मा हुनु, घाँटी खसखस हुनु, थकान महसुस हुनु, ज्वरो आउनु, रुघाखोकी, छाती दुख्नु वा नाकबाट सिँगान बग्नु ब्रोनकाइटिसका लक्षण हुन् ।

धुमपान गर्ने, कमजोर प्रतिरक्षा प्रणाली भएका, बालबालिका तथा वृद्धवृद्धा यो रोगको जोखिममा बढि हुन्छन् । ब्रोनकाइटिस भएमा यसलाई आयुर्वेदिक उपचार पद्धतिद्वारा पनि निको पार्न सकिन्छ, जुन यस प्रकार छ ः

ब्रोनकाइटिसको आयुर्वेदिक उपचार

– दूधमा चिनीको अलावा एक वा दुई चम्चा मह मिसाएर पिउने । यसले खोकी तुरुन्तै कम हुन्छ ।

-एक गिलास दूधमा एक चिम्टी बेसार हालेर उमालेर एक चम्चा घ्यूका साथ खालीपेटमा दैनिक दुई-तीन पटक खाएमा ब्रोनकाइटिसको समस्या कम हुँदै जान्छ ।

– अदूवा र दालचिनीलाई बराबर पिसेर त्यसको धुलो बनाउने । एक चम्चा यसको धुलोलाई आधा गिलास पानीमा हालेर उमाल्ने । र, यसलाई तात्तातै सेवन गर्ने ।

– अदूवा र हर्रोलाई राम्ररी मिसाएर चूर्ण बनाउनु पर्छ । र, आधा चम्चा यो चूर्णलाई दुई चम्चा सख्खरमा मिसाएर सेवन गर्नाले ब्रोनकाइटिसको समस्याबाट राहत महसुस हुन्छ । १५ ग्राम महमा पाँच ग्राम अदूवाको धुलो मिलाएर एक महिना नियमित सेवन गर्ने ।

– नियमित रुपमा एउटा स्याउको सेवन वा एक-दुई चम्चा अमलाको रसको सेवनले पनि फाइदा मिल्छ ।

-तीन कल्ली लसुनलाई काटेर दूधसित उमाली राती सुत्नु अघि सेवन गर्ने । सामान्यतया, लसुनमा एन्टिबायोटिक गुणका साथै एन्टिभाइरल तत्व हुन्छ । त्यसैले, ब्रोनकाइटिसका बिरामीले यसको सेवन जति गर्न सक्यो उति नै फाइदाजनक हुन्छ ।

– त्यसबाहेक, धुमपानबाट टाढा रहनुका साथै कफिन तथा अल्कोहलको सेवन गर्नबाट बच्नु पर्छ । त्यस्तै, रुघाखोकी लागेका व्यक्तिबाट टाढा रहनु पर्छ । प्रत्येक वर्ष निमोनिया विरुद्धको खोप लगाउनु पर्छ । हात राम्ररी सफा गर्नुपर्छ । चिसो तथा प्रदुषणबाट बच्नुका साथै न्यानो कपडाको प्रयोग गरी तातो भई बस्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment