Comments Add Comment

मात्रिका यादवको चेतावनी : ट्रेड युनियनका नेताले सचिव तर्साउने दिन गए

२६ मंसिर, हेटौंडा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादबले काम नगरी ट्रेड युनियनको नेता हुँ भन्दै सचिवलाई तर्साउनेहरुको दिन गएको बताएका छन् ।

ट्रेड युनियनका अधिकांश नेतामा काम नगर्ने नेतागिरी मात्र गर्ने प्रवृत्ति रहेको भन्दै उनले सुकिलो मुकिलो बनेर नेतागिरी गर्ने समय सकिएको दावी गरे ।

‘नेताले काम गर्दैन काम गर्ने नेता होइन त्यसैले सचिव तर्र्साएर होइन काम गरेर स्थापित हुनु पर्छ’ उनले भने । कर्मचारी संगठनका नेताहरु सचिव सरुवा गर्न हिँड्ने तर आफनो जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति देखिएको भन्दै औद्योगिक क्षेत्रमा यस्तो देखिन नहुने मन्त्री यादवले बताए ।

हेटौडा सिमेन्ट उद्योगको ३३ औ वार्षिकोत्सवको कार्यक्रममा बुधबार उनले निजी सिमेन्ट उद्योगहरुसँग प्रतिस्पर्धामात्र होइन, हेटौडा सिमेन्ट उनीहरु भन्दा अब्बल बन्नुपर्नेमा जोड दिए ।

उद्योगले केही वर्षदेखि मुनाफा कमाउन थालेकोमा खुशी व्यक्त गर्दै मन्त्री यादवले उद्योगको क्षमता विस्तार गरेर प्रतिस्पर्धा गर्न व्यवस्थापनलाई सुझाए ।

घाटामा रहेको उद्योग अहिले नाफामा

लामो समयदेखि घाटामा सञ्चालन हुदै आएको हेटौंडा सिमेन्ट उद्योगले विगत केही वर्षदेखि नाफा कमाएको छ । उद्योगले आर्थिक वर्ष ०७४/०७५ मा २३ करोड ५० लाख ५६ हजार रुपैयाँ मुनाफा गरेको महाप्रबन्धक प्रेमशंकर सिंहले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा करिब २२ करोड उद्योगले नाफा गरेको थियो । उद्योेगले आव ०६९/०७० मुनाफा गरेको भएपनि ०७०/०७१ मा घाटामा संचालन भएको थियो ।

त्यसपछिका वर्षहरुमा उद्योगले नाफा गर्दै आएको छ । २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको यस उद्योगमा ४ सय जना कर्मचारी र कामदार छन् । हेटौडा उपमहानगरपालिका ९ लामसुरेमा रहेको उद्योगको लागि दैनिक एक हजार टन चुनढुङ्गा आवश्यकता पर्छ ।

उद्योग क्षमता दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने भएपनि उत्पादन क्षमताको ५५ प्रतिशत भन्दा बढी उपयोग गर्न सकेको छैन । विगतमा दैनिक ३ सय ५० मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने भएपनि हाल उद्योगले ७ सय ५० मेट्रिकट उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment