Comments Add Comment

जनकपुरमा योगीः विमानमा जन्ती, ३६ व्यञ्जन खान्की !

२६ मंसिर, जनकपुरधाम । विवाहपञ्चमीमा जन्तीका रुपमा प्रमुख अतिथि बनेका भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सुरक्षाका लागि बुलेट प्रुफ गाडीको व्यवस्था गरिएको छ भने दिवा भोजमा ३६ व्यञ्जनको प्रवन्ध गरिएको छ ।

योगी आदित्यनाथ नौ सिट क्षमताको निजी विमान चढेर बिहान सवा १० बजे जन्तीका जनकपुर विमानस्थलमा उत्रिएपछि उनी कारगेड सुरक्षामा सीधै जानकी मन्दिर दर्शनका लागि जाने कार्यक्रम छ ।

अयोध्याबाट स्थलमार्गबाट जन्तीहरु जनकपुरधाम आउने परम्परा भएता पनि योगी भीआइपी पाहुनाका रुपमा विमानबाटै रामचन्द्र भगवानको ससुराली नगरमा उत्रिनेछन् ।

आदित्यनाथ आउनुअघि नै भारतबाटै बुलेट प्रुफ गाडी जनकपुर आइसकेको छ । यसबाहेक जामरसहित सातवटा अन्य गाडी पनि उनको सुरक्षाका लागि आइसकेको स्रोतले जनाएको छ । जामरले वरपरको क्षेत्रमा मोबाइल नेटवर्कलाई जाम गरिदिन्छ ।

यो पनि पढ्नुहोस जनकपुरधाममा योगीको आगमनले उब्जाउने प्रश्न

आदित्यनाथको सुरक्षा प्रयोजनका लागि भारतीय सुरक्षाकर्मीहरु पनि जनकपुर आइसकेको डीआईजी पालले बताए ।

मन्दिरमा पूजा गरिसकेपछि उनी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा सहभागी हुन मुख्यमन्त्री निवास ‘मधेस भवन’मा जानेछन् । मुख्यमन्त्रीको निवास परिसरमा आयोजित सन्त महन्तहरुको संयुक्त दिवा भोजमा योगी सरिक हुनेछन् ।

उनको आगमनलाई मध्यनजर गरी रामजानकी मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । अहिले मन्दिर परिसर खालि गराइएको छ ।

यो पनि पढ्नुहोस ‘बेहुली’ बन्यो जनकपुरधाम !

योगी आदित्यनाथसहित ५०१ जना साधु सन्तलाई भोजनका लागि ३६ व्यञ्जनको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले अनलाइनखबरलाई जानकारी दिए ।

मधेस भवनमै प्रदेश २ सरकारले योगीलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।

दिवाभोजपछि योगी आदित्यनाथ रंगभूमि मैदानमा आयोजना हुने राम-सीताको स्वयम्बर समारोहमा सरिक हुनेछन् । त्यहाँ जनकपुर उपमहानगरपालिकाले उनलाई अभिनन्दन गर्नेछ ।

विवाह पञ्चमी सकेर योगी अपराह्न ४ बजे जनकपुरबाट स्वदेश फर्किने कार्यक्रम छ ।

सुरक्षाकर्मीलाई धपेडी

बाह्र विगाहा मैदान र जानकी मन्दिरमा विवाह पञ्चमीका लागि एसपीको नेतृत्वमा र मधेस भवनमा डीएसपीको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीले दुईवटा ड्रोन क्यामराको प्रयोग गर्ने छ । रंगभूमि मैदान, रामजानकी मन्दिर र मुख्यमन्त्री निवासमा ड्रोन क्यामेराबाट निगरानी गरिनेछ । साथै र्‍यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को समेत प्रयोग गर्न लागेको प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिए ।

आरसीएस प्रविधि नेपाल प्रहरीले प्रयोग गर्ने नयाँ प्रविधिहरु मध्येकै एक हो, जसमा  सुरक्षा अधिकारीहरुले कन्ट्रोल रुमबाटै स्थलगत अवलोकन गर्न सक्नुको साथै भिडियो सेटका माध्यमले कुराकानी गर्न सक्छन् ।

सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसीएस प्रविधिको माध्यमबाट प्रत्यक्षरुपमा गतिविधि नियाल्न सक्छन् र निर्देशन पनि दिन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment