Comments Add Comment

‘दाल भात तरकारी’मा आइटम गर्दा बेहोस भइन् प्रियंका, तर रोकिएन काम

चलचित्र ‘दाल भात तरकारी’को एउटा आइटम गीतको छायांकनको क्रममा नायिका प्रियंका कार्की बेहोस भएकी थिइन् । चितवनको एउटा रिसोर्टमा सेट लगाएर केहि दिन अगाडि गीतको छायांकन गर्दै गर्दा रातको २ बजे प्रियंका बेहोस भएकी हुन् । प्रियंका बेहोस भएपछि यसको निर्माणपक्ष सुटिङ प्याकअप गरेर उनलाई अस्पताल लाने तयारीमा थियो ।

तर, प्रियंकाको मुखमा पानी छर्किएपछि उनी उठिन् र सुटिङ नरोक्न भनिन् । यसपछि प्रियंकाले काम अगाडि बढाइन् । चलचित्रका निर्माता किरण केसीले अनलाइनखबरसँग भने–‘मलाई उनी निकै नै व्यवसायिक कलाकार लाग्यो । उनी सुटिङ अगाडि तातो पानी मात्र खाने रहिछन् । कामप्रति यस्तो लगाव भएको कलाकार कमै मात्र देखेको छु ।’ उनले प्रियंका लागि ड्राइ फ्रुटको व्यवस्था गरेपनि उनले तातो पानी मात्र खाएर काम गरेको बताए । चारैतिर आगो बालेर विचमा नायिका कार्की नाचेकी थिइन् । यसैले पनि धुवाको कारणले उनी बेहोस भएको किरणले बताए ।

किरणले प्रियंकाले काम गर्न सक्दिन भनेको भए त्यो दिन सुटिङ नै हुन नसक्ने समेत बताए । नायिका कार्की यसअघि पनि चलचित्रको छायांकनको क्रममा बेहोस भएकी छिन् । चलचित्र ‘दाल भात तरकारी’मा नायिका कार्कीको आइटम नृत्य छ । यो गीत छायांकनका लागि निर्माणपक्षले निकै नै मिहिनेत गरेको र गीतले चर्चा पाउनेमा आफूहरु ढुक्क भएको किरणले बताए ।

चलचित्र ‘राधे’को एउटा गीत छायांकनको क्रममा पनि चिसोले नायिका कार्की कालिञ्चोकमा बेहोस भएकी थिइन् । नायिका कार्कीको कम खाने बानीले पनि उनी बेहोस हुने गरेकी छिन् । यो चलचित्रको हाल काठमाण्डौमा छायांकन भैरहेको छ । सुदन केसीले चलचित्रको निर्देशन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment