Comments Add Comment

अष्ट्रेलियामा मृत्यु भएका मिलनको शव नेपाल पठाउन ३५ लाख संकलन

सिड्नी / अस्ट्रेलिया आएको दुर्इ महिनामै मृत्युबरण गरेका २० वर्षीय विद्यार्थी मिलन तामाङको शव नेपाल पठाउन करिब ३५ लाख रूपैयाँ संकलन भएको छ ।

स्थानीय तामाङ सोसाइटी न्यु साउथ वेल्सले सुरु गरेको सहयोग अभियानका क्रममा ४० हजार ७ सय १८ अस्ट्रेलियन डलर अर्थात झन्डै ३५ लाख नेपाली रुपैयाँ बराबर रकम संकलन भएको हो ।

गत अक्टोबरमा उच्च शिक्षा अध्ययन गर्न सिड्नी आएका तामाङको यही डिसेम्बर ६ मा पश्चिम सिड्नीको वेस्ट मेड अस्पतालमा ब्रेन ह्याम्रेजबाट निधन भएको चिकित्सकहरुले पुष्टि गरेका थिए ।

सिड्नीको बोंड़ाई जन्ग्सनस्थित ‘हाम्रो इन्स्टिच्युट अफ बिजनेस टेक्नोलोजी’मा अध्ययनरत उनी अस्ट्रेलिया आएपछि नेपालीहरुको बाक्लो बस्ती रहेको पश्चिम सिड्नीको अबर्न इलाकामा आफ्ना साथीहरुसंग बस्थे ।

उनको निधन भएपछि नेपालीहरुको स्वामितव रहेको उक्त शिक्षालयले उनको शैक्षिक शुल्क बराबरको दश हजार अस्ट्रेलियन डलर फिर्ता गर्ने घोषणा गरेको थियो ।

नेपालको मिक्लाजुंग -७ मधुमल्ला मोरंग निवासी उनका पिता कृष्णबहादुर तामाङले नेपाल तामाङ घेदुंगमार्फत तामाङ समाज सिड्नीलार्इ आवश्यक आर्थिक तथा कानुनी सहयोग गर्न अनुरोध गरेका थिए ।

दुःखमा तत्काल एकजुट हुने अस्ट्रेलियाको नेपाली समाजले एक हप्तामै उक्त रकम जम्मा गरेको हो । तामाङको शव बुधबार नै काठमाडौँमा उनका बुवाले बुझेका छन् ।

सिड्नीमा संकलित रकम छिट्टै परिवारलार्इ हस्तान्तरण गरिने तामाङ समाज न्यु साउथ वेल्सले जनाएको छ ।

विद्यार्थी तामाङ को शव नेपाल पठाउन झन्डै ७ हजार अस्ट्रेलियन डलर खर्च भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment