Comments Add Comment

ए डिभिजन लिग : हिमालयन शेर्पामाथि संकटा विजयी

२७, काठमाडौं । संकटा क्लबले शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै लिग लिडर मनाङ मस्र्याङ्दी क्लबसँगको अंक बराबरी बनाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा संकटा क्लबले हिमालयन शेर्पालाई २–० गोलअन्तरले पराजित गरेको हो । संकटाको जितमा सेड्रिक अबा र अमित तामाङले गोल गरे ।

खेलको ११ औं मिनेटमा नै सेड्रिकले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै अमितले गोल गर्दै संकटलाई दोब्बर अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २–० गोलले अघि रहेको संकटाले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो । यता, हिमालयन शेर्पा भने सुरुवाती समयमै दुई गोल खाएर दबाबमा आएको थियो । शेर्पाले पाएको अवसरलाई पनि सदुपयोग गर्न सकेन ।

जितसँगै संकटा क्लबले लिग लिडर मनाङ मस्र्याङ्दी क्लबसँगको अंक बराबरीमा ल्याएको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङको सात खेलबाट शतप्रतिशत जितसहित २१ अंक रहेको छ ।

दोस्रो स्थानमा उक्लिएको संकटा क्लबको आठ खेलबाट सात खेलमा जित र एक खेलमा हार ब्यहोर्दै २१ अंक नै भएको छ । लिगको तेस्रो स्थानमा भने थ्रीस्टार रहेको छ । थ्रीस्टारको १८ अंक रहेको छ । लिगको चौथो स्थानमा रहेको विभागीय टिम आर्मीको भने सात खेलबाट १७ अंक रहेको छ ।

एपीएफ जावलाखेलसँग स्तब्ध

त्यस्तै, हलचोकस्थित एपीएफको खेल मैदानमा आजै भएको खेलमा विभागीय टिम एपीएफ क्लबले जावलाखेल युथ क्लबसँग १–० गोलअन्तरले पराजित भएको छ ।

जावलाखेलको जितमा एडम डौम्बियाले गोल गरे । पहिलो हाफमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा गोल गर्दै जावलाखेलले महत्वपूर्ण जित निकालेको हो ।

खेलको ४९औं मिनेटमा डौम्बियाले फ्रिकिकबाट गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल जावलाखेलले जितेको हो ।

जितसँगै जावलाखेलले ८ खेलबाट दुई खेलमा जित पाँच खेलमा हार र एक खेलमा बराबरी खेल्दै सात अंक बनाएको छ । पराजित एपीएफले भने आठ खेलबाट तीन खेलमा जित, चार खेलमा पराजित र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment