Comments Add Comment

स्थायी कमिटी बैठकमा सरकारको समीक्षा हुन्छ : रायमाझी

२७ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता टोपबहादुर रायमाझीले अब बस्ने स्थायी कमिटी बैठकमा सरकारको बारेमा निर्मम समीक्षा हुने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षातकारमा उनले स्थायी कमिटी बैठकमा पार्टी निर्माण, संगठन विस्तार र सरकार सञ्चालनको विषयमा छलफल तथा समीक्षा हुने जानकारी दिएका हुन् ।

‘हामी पार्टी एकतालाई पूर्णता दिने पक्षमा छौं । सरकार गठन भएको पनि ९ महिना पूरा भइसकेको छ । यो बीचमा सरकारले हासिल गरेको उपलब्धीहरु र कमी कमजोरीबारे छलफल र समीक्षा दुवै हुन्छ ।’

पछिल्लो समय सरकारले आफ्नो कामको गति बढाएको रायमाझीले बताए । ‘तीन महिनाअघि र अहिलेको सरकारको गति हेर्दा अहिले गियर बढाएको छ । सरकारले अहिले पिक–अप लिएको छ । म अहिले सरकारको काम गराइबाट खुशी छु ।’

पहिलेको तुलनामा सरकारले धेरै राम्रो काम गरेको उनले जिकिर गरे । ‘बाटा घाटाहरु बनेका छन् । काठमाडौं उपत्यकामा धुलो धुँवा कम भएको छ । खाल्डाखुल्डीहरु पुरिएका छन् । कलंकी–नागढुंगा सडक धेरै राम्रो बनेको छ । रिङ रोडहरु धमाधम बनिरहेका छन्’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment