Comments Add Comment

फोहोर व्यवस्थापनमा गोरखा अस्पतालको लापरवाही

२७ मंसिर, गोरखा । फोहोर व्यवस्थापनमा जिल्ला अस्पताल गोरखाको लापरवाही देखिएको छ । अस्पतालबाट बढी मात्रामा जोखिमयुक्त फोहोर निस्कने भएपनि उचित व्यवस्थापन हुन नसकेको एक अध्ययनबाट खुल्न आएको छ ।

अस्पतालको फोहोर व्यवस्थापनको अवस्था बारे बुझ्न गोरखा नगरपालिका र अस्पतालको समन्वयमा हेल्थ केयर फाउण्डेशन नामक संस्थाले अध्ययन गरेको थियो ।

अध्ययन पश्चात बिहीवार प्रतिवेदन सार्वजनिक गर्दै संस्थाले फोहोर व्यवस्थापनमा अस्पतालले बिशेष ध्यान दिनुपर्ने निश्कर्ष निकालेको छ ।
‘दश दिनसम्म हामी अस्पतालमै बसेर अध्ययन गर्‍यौ, दिनको करिब ५० किलो फोहोर निस्किने रहेछ,’ संस्थाका निर्देशक महेश नकर्मीले भने, ‘तर त्यसको उचित व्यवस्थापन गर्न अस्पतालले सकिरहेको छैन ।’ यसका लागि अस्पतालले फोहोर न्यूनिकरण नीति ल्याउनु आवश्यक रहेको उनले बताए ।

‘पहिलो कुरा फोहोर फाल्ने बाल्टिन उचित ठाउँमा राखिएको छैन, कसैले आफू बस्ने टेवलमुनि राखेका छन्, कसैले आफू बस्ने ठाउँ नजिकै राखेका छन्, त्यो गलत हो,’ उनले भने ।

कुन फोहोर कहाँ फाल्ने भनेर बाल्टिनमा लेवल समेत नभएको उनले बताए । ‘अस्पताल भित्र राखिएका फोहोरका बाल्टिन मध्य ३० प्रतिशतमा मात्र लेबल गरिएको छ, बाँकीमा छैन, कुन फोहोर कहाँ राख्ने लेखिएन भने सिसा, कागज, प्लाष्टिक सबै एकै ठाउँमा मिसिन्छ, अनि पुन प्रयोग गर्न मिल्ने र नमिल्ने फोहोर पनि छुट्याउन गाह्रो हुन्छ,’ नकर्मीले भने ।

करिब ९५ प्रतिशत फोहोर नछुट्याउने गरेको अध्ययनले देखाएको छ । बाल्टिनको बाहिर कुहिने-नकुहिने भनी नामाकरण गरेमा फोहोर व्यवस्थापनमा केही सहयोग पुग्ने उनले बताए ।

फोहोर फाल्नका लागि राखिएको बाल्टिनहरु महिनौसम्म पनि सरसफाइ नगरिएको अध्ययन पश्चात सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

करिब २३ प्रतिशत बाल्टिन मात्र सफा गरेको पाइएको नकर्मीको भनाइ छ । फोहोर बाल्टिनको सरसफाइमा पनि बिशेष ध्यान दिन उनले आग्रह गरेका छन् ।

‘सिरिन्ज बढी प्रयोग भएको पाइयो, तर यसलाइ काम गर्नुपर्छ, फेरि सुरक्षित इन्जेक्सन को नियम पनि लागू भएको पाइएन,’ उनले भने ।

सियो काट्ने मेसिनमा सियो मात्र राखिएको तर नकाटिएको उनले बताए । ‘अनसेफ सिरिन्ज रिसाइकलमा गएको छ, यो एकदम खतरनाक हो, यसलाई तत्काल नियन्त्रण गर्नुपर्छ,’ उनले भने ।

सरसफाइको काम गर्ने कर्मचारीले सुरक्षित सामग्रीको प्रयोग नगर्ने गरेको उनको भनाइ छ । डम्पिङ्ग साइडको पनि उचित व्यवस्थापन नभएको पाइएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै नकर्मीले फोहोर व्यवस्थापनका लागी एउटा घर निर्माण गर्न सुझाव दिएका छन् । ‘करिव ९० प्रतिशत फोहोर रिसाइकल गर्न सकिन्छ, त्यसैले फोहोर वाहिर नफाली सकेसम्म रिसाइकलमा पठाएर पुन प्रयोग गर्नुपर्छ,’ उनले भने । फोहोर व्यवस्थापनका लागी अस्पतालले समय समयमा निरीक्षण गर्नु आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा गोरखा नगरपालिकाका मेयर, उपमेयर, नगर क्षेत्रका सबै वडाका अध्यक्षहरु, अस्पताल प्रमुख, अस्पताल बिकास समितिका अध्यक्षलगायत अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

गोरखा अस्पताल जिल्लाको एक मात्र सरकारी अस्पताल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment