Comments Add Comment

विद्यासुन्दरका योजनाः पुराना अडि्कए, नयाँ थपिए

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका अधिकांश विकास आयोजना समस्यामा छन् । आर्थिक अभावबाट कहिल्यै नगुजि्रएको महानगरलाई यस्ता आयोजनाको प्राविधि गाँठो फुकाउन भने मुस्किल पर्ने गरेको छ ।

महानगरले बुलेटिनका रुपमा आयोजनाहरु कहिले सम्पन्न हुन्छ भन्ने नयाँ प्रतिवद्धता बाहिर ल्याएको छ ।

प्रगति विवरण विशेष ‘स्मारिका’मा यो वर्षलाई ‘भौतिक पूर्वाधार निर्माण वर्ष’ भनिएको छ र नयाा योजनाहरुको घोषणा गरिएको, सुन्दर स्केच चित्रसहित । नयाँ योजना थपिए पनि हाल महानगरका महायोजनाहरु अलपत्र नै छन् ।

मेयर विद्यासुन्दर शाक्यले सय दिनमा सय काम गर्ने प्रतिवद्धतापत्रलाई रद्दीको टोकरीमा मिल्काइसकेका छन् । यही बेला अर्को प्रतिवद्धता बाहिर आएको छ, जसमा अधिकांश पुराना योजना कहिले अघि बढ्छ र टुंगिन्छन् भन्ने किटानका साथ उल्लेख छैन भने नयाँ योजनाबारे पनि स्पष्ट बोलिएको छैन ।

काष्ठमण्डप

काष्ठमण्डपको पुनर्निर्माण महानगरको पुरानो योजना हो । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप अबको ३ वर्षभित्र पुनर्निर्माण गरिसक्ने योजना महानगरको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिमार्फत काम अघि बढेको भनिएपनि जग खन्ने काम अझै सुरु भएको छैन । बल्ल काठ र इटाहरु निर्माणस्थलमा आइपुग्दैछन् । महानगरले निर्माण अघि बढाउन ५० लाख रकम समितिलाई दिइसकेको छ ।
महानगरले प्रकाशित गरेको प्रगति विवरणमा कमक सुरु भइसकेको मात्रै उल्लेख छ । जनस्तरबाटै निर्माण अघि बढेकाले काम तीव्र गतिमा हुने दावी महानगरको छ ।

रानीपोखरी

रानीपोखरी पुनर्निर्माण महानगरको सबैभन्दा टाउको दुखाउने आयोजना बनेको छ । सुरुमा मन्दिरमा क्रंक्रिटको प्रयोग गरेपछि महानगर रानीपोखरी विवादमा तानिएको थियो । युनेस्कोको आपत्तिपछि मन्द्यिर निर्माणको जिम्मा पुरातत्व विभागले खोस्यो । पोखरी सौन्दर्यकरणको काम महानगरकै भागमा थियो ।

त्यसपछि आधुनिक तवरबाट रानीपोखरी बनाउने गरी महानगरले योजना सार्वजनिक गरेपछि विवाद फेरि सुरु भयो । रानीपोखरीमा पानी अड्याउन भन्दै क्रंकिट वाल लगाएपछि महानगरले अर्को धक्का खायो । मेयर शाक्यले यो सबै विवाद टुंग्याएर रानीपोखरीको निर्माण अघि बढाउन विज्ञ समिति बनाए तर, मल्लकालीन शैलीमै रानीपोखरी पुनर्निर्माण गर्न विज्ञ समितिले गरेको सिफारिस पुरातत्वले मानेन ।

लामो रस्साकस्सीपछि रानीपोखरीको विवाद टुंगिएको छ । अब रानीपोखरी मल्लकालीन शैलीमै बन्ने भएको छ । तर, त्यसको नक्सा पुरातत्व विभागले बनाएकै छैन । यस्तो अवस्थामा महानगरले त्यो नक्सा कहिले प्राप्त गर्छ र निर्माण अघि बढ्छ भन्ने टुंगो छैन ।

तर, महानगरले आफ्नो स्मारिकामा कहिले बनसक्छ भनेर उल्लेख गरेको छैन । ५१ फिकट अग्लो मन्दिर सहितको संरचना बनाउन अझै कति समय लाग्ने हो पत्तो छैन ।

शंखपार्क र कमलपोखरी

महानगरले पछिल्लोपटक अघि सारेको योजना हो, शंखपार्क र कमलपोखरी पुनर्निर्माण ।

रानीपोखरीजस्तै महत्व बोकेको यो पोखरीको सौन्दर्यकरण गर्ने योजना महानगरेको छ । त्यसका लागि नक्सा तयार भइसकेको छ । ३५ रोपनी क्षेत्रफलमा फैलिएको्े पोखरीलाई कमलको फूल फूल्ने गरी वास्तुशास्त्रमा आधारित भएर सुन्दर बनाउने योजना मेयर शाक्यको छ । यसलाई पर्यटकीय हब बनाउने उनको योजना कहिलेबाट अघि बढ्छ भन्ने ठेगान भने लागेको छैन ।

काठमााडौं ४ मा रहेको शंखपार्कलाई पनि सुन्दर बनाएर पर्यटक तान्ने योजना अघि सारिएको छ । महानगरले नक्सा तयार गरेर काम सुरु गरिसकेको जनाएको छ ।

मोनो रेल

मेयर शाक्यको महत्वकांक्षी योजना हो, मोनोरेल । उनले चुनावका बेलामाम मोनोरेल चलाउने कुरालाई खुबै जोडसँग उठाएका थिए । तर, आजभोलि मोनोरेल चलाउनेबारे उनको बोली पहिले भन्दा मलीन सुनिन थालेको छ ।

मोनोरेल चलाउन अहिले डीपीआरको तयारी छ । चीनको एक कम्पनीले प्रारम्भिक सम्भाब्यता रिपोर्ट दिएर चक्रपथमा मोनोरेल चलाउन सकिने बताइसकेको छ । तर, डीपीआरको स्वीकृति भने काठमाडौं महानगरले दिएको छैन ।

मोनोरेल ५ वर्षभित्रै चलाउने भनिएको छ । तर, लगानीको विषयमा पनि अन्योल छ । उनले अब डीपीआर सकिएको ३ वर्षभित्रै मोनोरेल चलाउने मेयर शाक्यले प्रतिवद्धता जनाएका छन् तर, डीपीआरको टुंगो कहिले लाग्छ भन्ने अन्योल छ ।

काठमाडौं महानगरको भवन

बागदरबार भत्काउने मेयर शाक्यको योजनामा अदालतले ब्रेक लगाइदिएको छ । पुरातात्विक बागदरबार भत्काएर नयाँ कार्यालय भवन बनाउन उनले डिजाइन नै तयार गरिसकेका थिए । तर, बागदरबार भत्काउन नपाइने भन्द्यै सम्पदाप्रेमीले अदालतमा मुद्दा हालेपछि नयाँ भवन बनाउने विषय अन्योलमा छ ।

१५० करोडको लागतमा बनाउन लागिएको नयाँ भवनलाई क्लासिक, नियो क्लासिक र आधुनिक सबै फ्युजन गर्न खोजिएको थियो । अब अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएमा महानगरलाई नयाँ भवन बनाउने ठाउँ नखोजी सुख हुने छैन ।

महानगरको अर्को योजना हो, सुविधासम्पन्न वडा भवन । वडा कार्यालयका सेवाग्राहीलाई सहज हुने गरी सबै वडामा सुविधायुक्त भवन बनाउने योजनामा महानगर छ । पहिले चरणमा ४, ८, ९, १४ र १६ नमबर वडा कार्यालयहरुलाई यस्तो भवन बनाइँदैछ । ३२ वटै वडा कार्यालयमा मौलिक शैलीका सुविधायुक्त भवन बनाउन महानगरले योजना तयार गरेर बसेको छ ।

ल्यान्डफिल्ड साइट र तीनकुने

महागरले बाटो विस्तारलाई पनि अघि बढाउने प्रतिवद्धता गरेको छ भने समस्यामा परेको ल्यान्डफिल्ड साइटको व्यवस्थापन पनि गर्ने योजना अघि सारेको छ । हाल सिडोलको ल्यान्डफिल्ड साइट भरिादा फोहोर बोकेर त्यहाँ पुग्न गाडीहरुलाई समस्या छ ।

यसको दीर्घकालीन समाधानका लागि बञ्चरेडाँडालाई उपयोग गर्ने महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले तीनकुने पार्कलाई पनि व्यवस्थापन गर्ने प्रतिवद्धता दोहोर्‍याएको छ । अहिले तीनकुनेको खाली जमीन अस्तब्यस्त छ । त्यहाँ बुद्धको मूर्तिसहित शान्तिपार्कमा परिणत गर्न नक्सा बनेको छ तर, मुआब्जा विवाद कहिले टुंगिन्छ र महानगरले कहिले काम थाल्छ भने अझै एकीन छैन ।

आकाशे पुल

नयाँ आकाशे पुलहरु बनाउने योजना पनि बनेको छ । काठमाडौंका विभिन्न १२ व्यव्सत स्थानमा आकाशे पुल बनाउन महानगरले योजना अघि बढााएको हो ।
त्यसमध्ये २ पुलहरु आवश्यक नपर्दा अन्यत्र स्थानमा पनि सार्न मिल्ने गरी यस्ता पुल बनाउन लागिएको महानगरले जनाएको छ । पैदलयात्रुलाई सहज हुने गरी बनाउने योजना छ तर, यसको काम कहिलेबाट अघि बढ्छ भन्ने टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment