Comments Add Comment

कांग्रेसमा पदाधिकारी कति ? देउवा, पौडेल र कोइरालाको आ-आफ्नै प्रस्ताव

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा पदाधिकारी संख्या र उनीहरु निर्वाचित गर्ने पद्धतीबारे बिहीबार पनि सहमति जुट्न सकेन । जसका कारण महासमिति बैठकको दुई दिनअघिसम्म पनि विधान संशोधन प्रस्ताव केन्द्रीय कार्यसमितिबाट पास हुन सकेको छैन ।

विधान संशोधन गर्न महासमितिमा दुई तिहाई चाहिन्छ । त्यसैले सहमति शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष सहमतिमै विधान संशोधन गर्न चाहन्छन् ।

तर, आसन्न महाधिवेशनलाई हेरेर आफ्नो अनुकुन प्रस्ताव अगाडि सारेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसँग महामन्त्री शशांक कोइरालाले पदाधिकारीबारे आ आफ्नो प्रस्ताव अघि बढाएका हुन् ।

केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी कार्यालय सानेपामा भएको छलफलमा सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री दुई-दुई जना बनाउने प्रस्ताव राखे । तर, एक महामन्त्री र एक कोषाध्यक्षको मात्र चुनाव गर्ने उनको प्रस्ताव छ ।

वरिष्ठ नेता पौडेलले उपसभापति, महामन्त्री र सहमहामन्त्री तीन-तीन राख्ने प्रस्ताव राखेका छन् । कोषध्यक्षसहित सबै निर्वाचित गर्ने उनको प्रस्ताव छ ।

महामन्त्री शशांक कोइरालाले भने दुई उपभापति, तीन महामन्त्री र चार सहमहामन्त्री बनाउने प्रस्ताव गरेका छन् । बैठकमा सहभागी एक नेताले भने, ‘भोलि विहानसम्म सहमति खोज्छौं । अहिलेसम्मको छलफल हेर्दा सभापति र महामन्त्री मध्ये एकको प्रस्तावमा सहमति जुट्ने सम्भावना बढी छ ।’

जनसंख्याका आधारमा आरक्षण !

शीर्ष नेताहरुबीच केन्द्रीय कार्यसमितिमा दिइने आरक्षणबारे पनि सहमतिको प्रयास भइरहेको छ । मिनेन्द्र रिजालसहितका नेताहरुले ६० प्रतिशत खुला र बाँकी ४० प्रतिशत आरक्षणको प्रस्ताव राखेका छन् । आरक्षित सिटमा जनसंख्याका आधारमा कोटा दिने प्रस्ताव छ । ‘यो सहमति नजिक छ’ एक नेताले भने ।

पदाधिकारी संख्याबारे सहमति जुटे विधानका अन्य विवाद मिल्ने नेताहरुको दाबी छ ।

सहमतिका लागि नेताहरुले भोलि २ बजे बस्ने कार्यसमिति बैठक अघिसम्म प्रयास गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment