Comments Add Comment

कांग्रेस महासमिति बैठकः आज नाम दर्ता, भोलि उदघाटन

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं आएकाहरुलाई स्वागत र नाम दर्ताको कार्यक्रम शुक्रबार पार्टी कार्यालय सानेपामा राखिएको छ ।

महासमिति बैठकको उदघाटन भने शनिबार हुने छ । शनिबार ११ बजे रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको उदघाटन गर्नेछन् ।

पुस ३ गतेसम्म चल्ने महासमिति बैठकको मुख्य एजेण्डा पार्टीको विधान संशोधन भएकाले यसलाई चासोका साथ हेरिएको छ ।

शनिबार उदघाटन कार्यक्रम सकिएलगत्तै बन्दसत्र शुरु हुनेछ । बन्दसत्रमा विधान मस्यौदा समिति संयोजक पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसैगरी महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक दस्तावेज, उपसभापति विमलेन्द्र नीधिले राजनीतिक दस्तावेज, सहमहामन्त्री डा. प्रकाशसरण महतले कांग्रेसको आर्थिक नीति र कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन बैठकमा पेश गर्ने कार्यक्रम छ ।

महासमिति सदस्यहरुलाई समूहमा विभाजन गर्ने र सबै प्रतिवेदनहरुमाथि समूहगत छलफल गराएर निष्कर्ष पेश गर्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय समितिले सर्वसम्मतिले ल्याएको कुनै प्रस्तावलाई समेत अस्वीकार गर्ने अधिकार महासमितिलाई छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमिति बैठकमा १ हजार ६ सय ६० जना सहभागि हुनेछन् । २४० निर्वाचन क्षेत्रबाट पाँच जनाको दरले १ हजार २ सय जना तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्था र जनसम्पर्क समितिबाट ९७-९७ जना प्रतिनिधिहरु बैठकमा सहभागी हुनेछन् । महासमिति सदस्य नभएका २९ जना जिल्ला सभापति, २६ जना सांसद र सबै केन्द्रीय सदस्यहरुले पनि महासमिति बैठकमा भाग लिनेछन् ।

हरेक दिन अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी महासमिति बैठकमा भएका छलफलबारे मिडिया सेन्टरमार्फत् जानकारी दिइने प्रवक्ता शर्माले जानकारी दिए ।

देशभरबाट आएका महासमिति सदस्यहरुले बेलुकीको खाना र बासको व्यवस्था आफैंले मिलाउनु पर्ने छ । पार्टीले विहानको खाना र खाजाको मात्र व्यवस्था गर्ने महासमिति बैठक व्यवस्थापन समिति संयोजक एवं कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment