Comments Add Comment

अमेरिकामा ७ वर्षकी आप्रवासी बालिकाको हिरासतमै मृत्यु

२८ मंसिर, काठमाडौं । अवैधानिक रुपमा मेक्सिकोको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्न लाग्दा अभिभावकसँगै पक्राउ परेकी ग्वाटेमालाकी ७ वर्षीय बालिकाको हिरासतमै मृत्यु भएको छ ।

आफ्नो बुबासहितको ठूलो समूहसँग अमेरिका प्रवेश गरेकी बालिकाको मृत्यु जलवियोजनका कारण भएको वासिंटन पोस्टले उल्लेख गरेको छ ।

समाचार संस्था एएफपीले सीमा क्षेत्रका अधिकारीसँग गरेको कुराकानीअनुसार ती बालिकाले धेरै दिनदेखि पानी र खानेकुरा पाएकी थिइनन् । हजारौं आप्रवासीहरु मध्य अमेरिकादेखि अमेरिकाको सीमा क्षेत्रसम्म यात्रा गरेका थिए । ग्वाटेमाला, होण्डुरस र एल साल्भाडोरदेखि आएका शरणार्थीहरुले असुरक्षा, गरिबी र हिंसाका कारण घर छाडेको बताएका छन् ।

उनीहरुमध्ये धेरैको लक्ष्य अमेरिकामा बसोबास गर्ने रहेको छ । तर अमेरिकी सीमा क्षेत्रका अधिकारीले आफ्नो देशमा अवैधानिक रुपमा प्रवेश गर्नेहरुलाई पक्राउ गर्ने, सोधपुछ गर्ने र स्वदेश फर्काइदिने गर्छन् । शरणार्थी बालिकाको मृत्युबारे अमेरिकी अधिकारीहरुले केही बताएका छैनन् ।

वासिंटन पोस्टका अनुसार ती बालिकालाई बुबासहित अमेरिकाबाट फर्काउन खोज्दा विरामी परेकी थिइन् । त्यसपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत एल पासोको बाल अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गरेको २४ घण्टा नबित्दै हृदयघातबाट उनको मृत्यु भएको अमेरिकी सीमा अधिकारीलाई उधृत गर्दै पत्रिकाले समाचार लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment