Comments Add Comment

घाटामा कांग्रेस ! कोषाध्यक्ष भन्छिन्- आम्दानीभन्दा खर्च धेरै

२८ मंसिर, काठमाडौं । कम्युनिस्टहरुको आरोप के छ भने नेपाली कांग्रेस धनीमानीको पार्टी हो । कांग्रेस पार्टीको सम्पत्ति कति होला त ? यसमा कार्यकर्तालाई मात्र होइन, गैरकांग्रेसलाई पनि चासो लाग्नु स्वाभाविकै हो ।

तर, नेपाली कांग्रेस गरीब बन्दै गएको र तीन वर्षयता घाटामै चलिरहेको तथ्य बाहिर आएको छ ।  नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टी घाटामा रहेको विवरण केन्द्रीय कार्यसमितिमा पेश गरेकी छन् ।

कोषाध्यक्षको प्रतिवेदन हेर्दा सभापति देउवाको कार्यकालका तीनवटै आर्थिक वर्षहरुमा पार्टी घाटा बजेटबाट चलिरहेको छ । महासमिति बैठकको पूर्वसन्ध्यामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा कोषाध्यक्ष यादवले ‘आम्दानीभन्दा खर्च धेरै’ भएको आर्थिक प्रतिवेदन पेश गरेकी हुन् । यादवका अनुसार पछिल्लो तीन वर्षमा पार्टीको आयभन्दा खर्च धेरै छ ।

तीन वर्षको घाटा बजेट

कांग्रेसले आर्थिक वर्ष २०७२/७३ मा ५ करोड ८८ लाख ३९ हजार ८२ हजार आन्दानी गरेको थियो । त्यसमा २ करोड ४७ लाखभन्दा बढी दस्तुर तथा नवीकरण शुल्क उठेको थियो । त्यसैगरी ३ करोड २७ लाख ८८ हजार बढी चन्दा तथा सहयोग जुटेको थियो । सो आर्थिक वर्षमा कांग्रेसको खर्च ६ करोड ४१ लाख ७६ हजार ८२६ थियो । यो पनि आम्दानीभन्दा खर्च धेरै हो ।

त्यसैगरी आर्थिक वर्ष ०७३/७४ मा कांग्रेसको आय ३ करोड ७ लाख ६९ हजार ८ रुपैयाँ थियो भने खर्च ५ करोड ८ लाख ५० लाख ५८८ थियो । यस वर्ष चुनावमा धेरै खर्च भएको हो । कांग्रेसले चुनावमा मात्रै पार्टीको कोषबाट १ करोड ९० लाख ३० हजार ७४२ रुपैयाँ खर्च गरेको थियो । यो आर्थिक वर्षमा पनि आम्दानीभन्दा खर्च नै बढी भयो ।

आर्थिक वर्ष २०७४/७५ मा ५ करोड ५ लाख २९ हजार ६८६ आम्दानी गरेको कांग्रेसले ६ करोड ९० लाख २१ हजार ३६९ खर्च गरेको छ । यसमा ४ करोड ८६ लाख ६६ हजार ११६ चुनावमा खर्च भएको छ । यसमा अन्य खर्च जोडिएको छैन ।

कोषाध्यक्ष यादवका अनुसार हरेक आर्थिक वर्षमा कांग्रेस झण्डै २ करोड घाटामा छ ।

०७२/७३ मा २ करोड ४८ लाख ९९ हजार ७८२ घाटा भएको थियो । अर्को आर्थिक वर्षमा २ करोड ८० लाख ८८० घाटा भएको थियो । आर्थिक वर्ष ०७४/७५ मा १ करोड ४८ लाख ९१ हजार ६८३ रुपैयाँ घाटा भएको छ ।

चालु आर्थिक वर्षको सुरुको तीन महिनामा पनि कांग्रेसको खातामा १४ लाख ६७ हजार ९९ रुपैयाँ घाटा देखिएको छ ।

यद्यपि बैंकको मुद्दती बचतमा २ करोड २० लाख र अन्य बैंक खातामा १ करोड ८५ लाख १२ हजार १६७ रुपैयाँ मौज्दात रहेको कोषाध्यक्ष यादवले जानकारी दिएकी छन् ।

कोषाध्यक्ष यादवले बैठकमा तेह्रौं महाधिवेशनपछिका आर्थिक वर्षहरुको विवरण पेश गरेकी हुन् । हरेक वर्ष चाटर्ड एकाउन्टेन्टबाट लेखा परीक्षण हुँदै आएको यादवले प्रतिवेदनमा उल्लेख गरेकी छिन् ।

कम्युनिस्टको जस्तै लेबी उठाउने प्रस्ताव

पार्टीेको आम्दानीको स्थायी स्रोत र आकस्मिक रुपमा आउने स्रोत व्यवस्थित गर्नुपर्ने भन्दै उनले यसबारे महासमितिमा छलफल गर्नुपर्नेमा जोड दिएकी छन् ।

कांग्रेस कोषाध्यक्ष यादवले अब कार्यकर्ता, शिक्षक, प्राध्यापक, पेशाकर्मी, बैंकिङ व्यवसायी, उद्योगी र गैरआवासीय नेपालीलगायतका शुभचिन्तक तथा पार्टीको तर्फबाट लाभको पदमा पुग्नेहरुले नियमित योगदान गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेकी छिन् ।

यादवको यो प्रस्ताव कम्युनिस्ट पार्टीसित मेल खाने खालको छ । कम्युनिस्टहरुले आफ्नो सबै सदस्य र समर्थक पेशाकर्मीहरुबाट नियमित लेबी असुल्छन् । कांग्रेस कोषाध्यक्ष यादवले नियमित योगदान (लेबी) बाट हुने फाइदाबारे चर्चा गर्दै भनेकी छिन्- ‘पार्टीका तर्फबाट उम्मेदवार भएकालाई आर्थिक सहयोग गर्न सक्ने किसिमबाट आर्थिक संकलन गर्न यस परिचालनले सम्भव हुन्छ भन्ने देख्छु ।’

विनियमावली बनाएर खर्च पारदर्शी गराउने प्रस्ताव

पाँच पृष्ठको आर्थिक प्रतिवेदनमा कोषाध्यक्ष यादवले पार्टीको आर्थिक स्थिति सुधारका लागे केही सुधारात्मक प्रस्तावहरु समेत राखेकी छिन् । यादवले प्रतिवेदनमा यादवले भनेकी छिन्- ‘हामीले पार्टीको कोष तत्काल आवश्यकताका आधारमा मात्र संकलन गर्ने गरेको तथ्य कसैबाट छिपेको छैन । पार्टीका गतिविधिहरु सामान्य आर्थिक अपर्याप्तताका कारण प्रभावित हुनु हुँदैन । सत्तामा रहँदा वा नरहँदा जस्तोसुकै अवस्थामा पनि पार्टी संयन्त्र प्रभावकारी ढंगले सञ्चालित हुनुपर्छ ।’

आफूले कोषाध्यक्षको कार्यभार सम्हालेदेखि नै पार्टीको आम्दानी खर्च व्यवस्थित गर्न र मितव्ययी बनाउने अठोट गर्दै आएको यादवले बताएकी छिन् ।

साथै यादवले सदस्यताको सूची अद्यावधिक गर्न केन्द्रमा समिति बनाउनुपर्ने र महासमिति बैठकपछि आर्थिक विनियमावली बनाई पार्टीको सम्पत्तिको संरक्षण र आम्दानी खर्च पारदर्शी बनाउनुपर्ने प्रस्ताव अघि सारेकी छिन् ।

नेपाली कांग्रेसभित्र आमदानी खर्चमा पारदर्शिता नहुने गरेको गुनासो कार्यकर्ताहरुले गर्दै आएका छन् । नेताहरुले आफ्नो गुटका कार्यकर्तालाई काखा र अरुलाई पाखा पार्ने गरेको र पार्टीको कोषबाट भन्दा बाहिरैबाट आर्थिक लेनदेन हुने गरेको भन्दै यसलाई पार्टीगत प्रणालीमा ल्याएर व्यवस्थित गरिनुपर्ने नेताहरुले बताउँदै आएका छन् ।

कांग्रेसमा नेताहरु मोटाउँदै जाने र पार्टी दुब्लाउँदै जाने रोग रहेको कार्यकर्ताहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment