Comments Add Comment

ड्रोन क्यामेरा देख्दा भागाभाग….

२८ मंसिर, विराटनगर । मोरङको कटहरी गाउँपालिकालाई खुला दिशामुक्त बनाउने अभियानका क्रममा ड्रोन क्यामेराको प्रयोग गरी निगरानी गरिएको छ ।

खुला स्थानमा शौच गर्नेलाई सार्वजनिक स्थानमा ल्याएर सम्मान गर्ने अभियान पनि सञ्चालन गरेको गाउपालिकाले शुक्रवार बिहान ड्रोनको प्रयोग गरी निगरानी गरेको हो ।

नेपाल प्रहरीको सहयोगमा प्रयोग गरिएको ड्रोन क्यामेरा देखिएपछि बिहानै सार्वजनिक स्थानमा शौच गर्न पुगेकाहरुको भागाभाग भएको थियो ।

विहान करिब साढे ५ बजे ड्रोनसहित पुगेको अनुगमन टोलीले अनुगमन गर्दा खुला स्थानमा शौच गर्न पुगेकाहरुको भागाभाग भएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

नेपाल प्रहरीको ड्रोनले करिब १ किलोमिटर क्षेत्रको अवलोकन गरेको थियो । ‘ ड्रोनमाथिबाट आएपछि शौच गर्न बसेका मान्छेहरुको भागाभाग भएको थियो ।’ समन्वय समिति प्रमुख पोखरेलले भने ‘चर्पी प्रयोग गर्नुपर्छ भन्ने चेतना फैलाउने उद्देश्यले ड्रोनको प्रयोग गरिएको हो ।’ ड्रोनले निगरानी गर्दा १४,१५ जना व्यक्तिहरुको भागाभाग भएको उनले बताए । बिहीबार सार्बजनिक स्थानमा सौच गर्ने व्यक्तिलाई दुईसय रुपैयाँका दरले जरिवाना गरेको पोखरेलले जानकारी दिए ।

गाउँपालिकालाई पुस ५ गते भित्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी अनुरुप अभियान सञ्चालन गरिएको उनले बताए ।

मोरङ जिल्लालाई डिसेम्बर महिना भित्र खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको छ ।

समन्वय समिति प्रमुख पोखरेलले सबै स्थानीय तहलाई घोषणा गरेर जिल्लालाई डिसेम्बर भित्र खुलादिशामुक्त जिल्ला घोषणा गरिने बताए । मोरङमा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र जहदा गाउँपालिकालाई खुलादिशामुक्त क्षेत्र घोषणा गर्न बाँकी छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शुक्रबार विहान कटहरी गाउँपालिकामा ड्रोन प्रयोग गरी निगरानी गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment