Comments Add Comment

आमादब्लम हिमालः हेर्दा सुन्दर, उक्लन कठिन

सखुवासभामा जन्मेका गाइड दावा छिरिङ लामा दर्जनौंपटक सगरमाथा राष्ट्रिय निकुञ्ज प्रवेश गरिसके । सगरमाथाका पर्यटकीय क्षेत्रका कुना–कुनामा पुगीसके ।

विगत १८ बर्षदेखि निरन्तर पदयात्रा गर्दै आएका लामाको यसपालीको अनुभव भने अविस्मरणीय रह्यो । कारण, योपटक उनले पदयात्रा मात्रै नभएर हिमाल आरोहण पनि गरे । यो ‘एड्भेन्चर’ उनले कहिल्यै विर्सन सक्ने छैनन् ।

विगतमा उनी गाइडको भूमिकामा मात्र हुन्थे । यसपाली चाहिँ आमादब्लम हिमाल आरोहण गर्न गएका थिए । यो सुन्दर हिमाल आरोहणका लागी निकै कठीन मानिन्छ ।

दावा भन्छन्, नाम्चे कटेर उकालो लाग्दा आमादब्लम हिमाल देखेपछी पर्यटकहरु सोध्थे, ‘तैले यो हिमाल आरोहण गरेको छस् ? सधैको घोसेमुन्टो लगाउँदै छैन भन्नुपथ्र्यो । त्यसैले यो हिमाल आरोहण गर्ने इच्छा मनमा आयो ।’

तर आरोहणका अनुभवी साथीहरुसँग लिँदा सबैले यो हिमाल चढ्नु जोखिमपूर्ण हुने सल्लाह दिए । सातपटक सगरमाथा आरोहण गरिसकेका एक जना आरोहीले त आमादब्लमा हिमाल चढ्दा डरले पिसाब फेरेको बताएका थिए । तर यसबाट हतोत्साही भएनन् उनी । जसरी पनि आरोहण गर्छु भन्ने अठोट लिए र सफल पनि भए ।

उनी आफ्नो अनुभव यसरी सुनाउँछन्:

आरोहणको क्रममा क्याम्प–१ देखि २ दिउसो यात्रा गरेका थियौ । उकालो भएर त्यती डर लागेन । तर त्यही बाटो झर्दा भने सातो गयो । जीवनमा भुल्नै नसक्ने स्थानमध्ये एक हो ‘यलो टावर’ । यहाँ पुग्दा एकपटक झस्किएँ । यसो हेरेको ९० डिग्रीको भित्ता । कसरी माथी जाने ? तर, रोकिने कुरा थिएन । जसोतसो गयौ । जब त्यो भित्ता पार गरेँ, आधा आरोहण सफल भएको जस्तो भान भयो ।

 

अर्को यादगार स्थान भने क्याम्प–२ हो । जहाँ बास बस्ने स्थान निकै सानो थियो । दिशा–पिशाब गर्न जाँदा पनि डोरी लगाउनुपर्ने । अलीकती चिप्लीयो भने दुई दिनको चोला सकियो । म त राती सुत्दा पनि डोरी लगाएर सुत्थेँ । पिसाव फेर्न जाँदा पनि डोरी फुकाइनँ ।

आरोहण अन्तिम बिन्दुतिर जाँदा केही गाह्रो भएन । राती उकालो हिँड्दा याद नभएर होला । तर जब फर्कदा झलमल्ल उज्यालो भयो, अनि पो डर लाग्यो । आारोहणका लागी सहज होस भनेर विभिन्न स्थानमा डोरीहरु राखिएको छ । तर डोरीहरु कुन पुरानो हो कुन नयाँ छुट्याउन गाह्रो हुन्छ । यसकारण पुरानो डोरी काटेर हटाएको भए राम्रो हुन्थ्यो कि यो जस्तो लाग्छ ।

हिमालको टुप्पोमा पुग्दा लाग्यो स्वर्ग भने यही हो । वरीपरी हिमाल, बीचमा म, आँखा अगाडी विश्वको सर्वोच्च शिखर सगरमाथा, चोयु, न्यूप्चे, मकालुलगायत ६ हजारका दर्जनौ टाकुराहरु । जीवनमा यो पल कहिल्यै बिर्सन सक्दिनँ ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तविर लामाको भनाईमा यो हिमाल सानो देखिए पनि विश्वकै सुन्दरमध्ये पर्छ । साथै आरोहणका लागि कठिन पनि ।

‘यो हिमालमा जति पर्यटक र आरोही आउनुपर्ने हो, त्यति आएका छैनन्, यसको प्रमुख कारण प्रचार–प्रसारको कमी नै हो,’ उनी भन्छन् । प्रचारप्रसार गर्दा आरोहण रुटहरुको सुरक्षाको बिषयमा बिश्वस्त पार्न सकियो भने आरोहीको संख्या बढ्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment