Comments Add Comment

कांग्रेस महासमिति बैठक आजबाट, योगम्बर प्यालेसमा चहलपहल

२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु हुँदैछ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयपछि कांग्रेसले पहिलोपटक महासमिति बैठक आह्वान गरेको हो ।

सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित समारोहमा पार्टी महासमिति बैठक उदघाटन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

आगामी पुस ३ गतेसम्म चल्ने बैठकमा विभिन्न कमिटीबाट गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । प्रतिनिधिहरुको सहभागिताले अहिले योगम्बर पार्टी प्यालेसमा चहलपहल बढेको छ ।

बैठकमा पार्टीको केन्द्रीय समितिमा छलफल भइसकेका विभिन्न पाँच विषयका दस्तावेज पेस गर्ने कार्यतालिका छ ।

बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा शशांक कोइरालाले सांगठनिक तथा महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रस्ताव पेस गर्ने बताइएको छ । त्यसैगरी सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन् ।

विधान मस्यौदाबाहेक सबै प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको निर्वाचनबारे बहस जारी छ ।

महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ ।

त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एक पटक हुने उल्लेख भए पनि ०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हुँदैन ।

पार्टीको महाधिवेशन पछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले कांग्रेसलाई गतिशील बनाउने अपेक्षा कांग्रेसीहरुले गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment